ट्याक्सी ब्यवसायीले राहत पाउने, ट्याक्सी चलाउन सरकारले गर्‍याे तयारी

अर्थ/वाणिज्य समाचार

न्यूज अपडेट

काठमाडाैं, २४ असार

महिनौं सम्म ट्याक्सी थन्क्याएर बसेका ब्यवसायीले राहत पाउने भएका छन् । ट्याक्सी ब्यवसायीहरु धरासायी हुन लागेकै अवस्थामा सरकारले अब दुई जनासम्म यात्रु राख्ने गरी ट्याक्सी सञ्चालन गर्न दिने तयारी गरेको छ । लामो समय देखिको लकडाउनका कारण अहिले ट्याक्सी ब्यवसायी समस्यामा छन् । बैंकको ब्याज तिर्दै ट्याक्सी ग्यारेजमा थन्क्याउनुपर्ने अवस्था छ ।

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकमा ट्याक्सीसहित सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिनेबारे छलफल भएको हो । लकडाउन खुकुलो भएर अन्य ब्यापार ब्यवसाय सञ्चालन भएपनि सार्वजनिक यातायात संचालन गर्न नदिएको भन्दै विरोध जनाएका छन् । उनीहरुले अब बैंकको ब्याज तिर्न नसक्ने भन्दै बैंकलाई नै गाडीको साँचो बुझाउने तयारी समेत गरेको जनाएका छन् ।

ब्यवसायीको विरोधका कारण सरकारले अब सार्वजनिक सवारी साधन संचालनको तयारी समेत गरेको बुझिएको छ । तत्कालका लागि दुई जना यात्रु राखेर ट्याक्सी सञ्चालनको अनुमति दिने तयारी सरकारले गरेको एक मन्त्रीले बताएका छन् । त्यसको लागि मन्त्री परिषदमा छलफल समेत भएको छ । ट्याक्सी संचालन गर्दा स्वास्थ्य सजगता भने अपनाउनु पर्नेछ । तर त्यसका लागि भने ‘यसबारे कोभिड(१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) को निर्णय पर्खनु पर्ने छ ।

यस्तै सार्वजनिक यातायात सञ्चालनबारे पनि गृहकार्य गर्ने जिम्मा सीसीएमसीलाई दिइएको छ । यातायात व्यवसायी लगायत सरोकारबाला पक्षसँग यातायात व्यवस्था मन्त्रालयले छलफल गरेर सीसीएमसीमा मोडालिटी पेश गर्ने र त्यसअनुसार थप निर्णय हुने बताइएको छ । सरकारले विकल्प नखोजेर लकडाउनको अवधि मात्र बढाएको भन्दै ब्यवसायीहरुले विरोध गरेका छन् ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भने स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना नगर्दा काठमाडौं उपत्यकामा जोखिम बढेको भन्दै कडाइ गर्ने निर्देशन दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *