चाडबाडमा मधुमेहका बिरामी झनै सचेत हुनुपर्छ

विचार विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ११ कात्तिक

डा डीना श्रेष्ठ

सबैले बुझ्ने भाषामा मधुमेहलाई चिनी रोग भनिन्छ। रगतमा चिनीको मात्रा चाहिनेभन्दा बढी भयो भने त्यसलाई मधुमेह भएको मान्नुपर्छ। शरीरमा चिनीको मात्रा बढी भयो भने शरीरका विभिन्न अंगलाई पनि असर गर्न थाल्छ। त्यसको प्रमुख कारण होे, यस्ता मानिसमा रोग प्रतिरोधात्मक क्षमता कम हुनु।

अहिले विश्वमा महामारीको रुपमा फैलिएको कोरोना संक्रमितको मृत्यु हुनुका प्रमुख ५ कारणमध्ये मधुमेह पनि एक हो। नेपालमा पनि ज्यान गुमाउने कोरोना संक्रमितमध्ये मधुमेह भएकाहरु धेरै छन्। मधुमेह भएकै कारण कोरोना संक्रमण हुँदैन तर यदि मधुमेह भएका मानिसलाई कोरोना संक्रमण भएको खन्डमा जोखिम बढी हुने विज्ञहरु बताउँछन्।

अहिले विश्वको तथ्यांक हेर्ने हो भने मधुमेह भएका मानिसहरुलाई कोरोना संक्रमण भए आइसियु र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्था देखिन्छ।

संक्रमणबाट बच्ने उपाय
अहिलेसम्म कोरोना उपचारका लागि कुनै पनि औषधि वा खोपको विकास नभएकाले मधुमेहका बिरामीले बढी सजग हुनु जरुरी छ।  मधुमेहका कारण रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले पनि अन्य संक्रमणजन्य रोगबाट जोगिनु नै उत्तम विकल्प हो। त्यस्तै उनीहरुले मधुमेहलाई नियन्त्रणमा राख्न जरुरी छ। त्यसका लागि  चिकित्सकले दिएको औषधि नियमित सेवन गर्ने, खानामा ध्यान दिने, कुनै समस्या आएमा तुरुन्त सम्बन्धित चिकित्सकसँग परामर्श लिने, भीडभाडमा नजाने, परिवारका सदस्य बाहेक अन्य मानिससँग भेटघाट नगर्ने, भेट्नुपर्‍यो भने मास्क लगाउने र दुई मिटर दूरी राखेर भेट्ने जस्ता उपाय अबलम्वन गर्न जरुरी छ। जनस्वास्थ्यका मापदन्डहरुलाई अपनाउने जस्तैः सामाजिक दूरी कायम राख्ने, हात धुने, कुनै सामान छोएमा स्यानिटाइजर लगाउने गर्नुपर्छ।

सामान किन्दा ध्यान दिनुपर्ने कुरा 
चाडबाड बेलामा धेरै नै किनमेल गर्नुपर्ने हुन्छ। यस्तो बेलामा सकेसम्म दीर्घरोगीहरु भीडभाडमा नजानु नै राम्रो हुन्छ। यदि जानै पर्‍यो भने पनि स्वास्थ्य मापदन्ड पालना गरेर मात्रै बजार जाने गर्नुपर्छ।

बजारमा सामान किन्न जाँदा आफैं झोला लिएर जाने, सामान त्यही झोलामा राख्न लगाउने र सामान किनिसकेपछि सकेसम्म डिजिटल माध्यमबाट कारोबार गर्दा राम्रो हुन्छ।

पैसाबाट कारोबार गर्नु परेमा सामान किन्दा फिर्ता भएको पैसा एउटा झोलामा राख्ने र अर्को पटक सामान किन्दा त्यही पैसाको प्रयोग गर्नु उपयुक्त हुन्छ।

चाडबाडमा खाँदा ध्यान दिनुपर्ने कुरा
चाडबाडको बेलामा मानिसहरु अत्यधिक मात्रामा खानेकुरा खाने, रमाइलो गर्ने र शारीरिक कसरत नगर्ने हुँदा मधुमेहको समस्या झन् बढ्ने सम्भावना हुन्छ। त्यसकारण चाडबाडको बेलामा खाना खाँदा विशेष ध्यान दिनुपर्छ।

सकेसम्म यस्ता बिरामीले रातो मासु, पनिर खानु हुँदैन। कुखुराको मासु, माछा, अन्डा फलफूल, तरकारी, बदाम काजु प्रशस्त मात्रामा बेलाबेलामा खाने र शारीरिक कसरत गर्नुपर्छ। यसो गर्दा मधुमेहलाई नियन्त्रणमा राख्न सघाउ पुग्छ।

लामो समय घरभित्र बस्दा मानसिक समस्या आउने गर्छ। मानसिक समस्याले गर्दा पनि रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ। आफूलाई मानसिक समस्या हुन नदिन कुनै न कुनै काममा व्यस्त हुनु राम्रो हुन्छ। दिनभर फुर्सदमा बस्नुभन्दा घर वरिपरि सरसफाइ गर्ने, गमलामा फूल लगाउने, करेसा–बारीमा सागसब्जी लगाएर पनि व्यस्त राख्न सकिन्छ। त्यसका अलावा बिहानको समयमा ध्यान गर्ने, बिहान–बेलुका शारीरिक कसरत गर्ने लगायतका काम गर्न सकिन्छ। धूमपान र मद्यपान नगरेमा पनि मान्छेलाई तनावबाट टाढा राख्न सकिन्छ।

चाड मनाउँदा ध्यान दिनुपर्ने कुरा
वर्ष दिनमा आउने महान चाडबाड सबैलाई धुमधामसँग मनाउने रहर हुन्छ। तर यसपालिका चाडबाडमा हामीले सोचेजस्तो धुमधाम गरेर मनाउने अवस्था छैन। कोरोना कहरका बीचमा आफू जोगिएर चाड मनाउनुपर्ने बाध्यता हामी सबैलाई छ।

चाडबाड अर्को वर्ष पनि आउँछ। त्यसकारण हामी जो जहाँ छौँ, त्यही बसेर चाड मनाऔं। धेरै यात्रा नगरौं। र, भीडभाडमा नजाऔं।

(डा श्रेष्ठ कन्सल्टेन्ट एन्डोक्रिनोलोजिस्ट हुन्।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *