अनुगमनमा निस्केका हवल्दारको मृत्यु

विशेष समाचार समाचार

न्यूज अपडेट

इलाम, १३ जेठ

पाँचथर सीमावर्ती राँकेबजारमा बन्दाबन्दीको अनुगमनमा निस्केका एक प्रहरी हवल्दारको ट्रकको ठक्करबाट ज्यान गएको छ। सवारी आवागमनको अनुगमनका लागि सादा पोशाकमा खटाइएका प्रहरी हबल्दार नवीन बस्नेतको सोमबार भएको दुर्घटनामा मृत्यु भएको हो। लकडाउनको प्रभावकारी कार्यान्वयनका लागि सीमा क्षेत्रमा भइरहेको सवारी आवागमनको अनुगमन गर्न प्रहरी चौकी राँकेबाट बस्नेतलाई खटाइएको थियो।

उनी एक स्थानीयवासीको मोटरसाइकल लिएर इलामतर्फ गइरहेका थिए। राँकेबजारको चामु होटल छेउमा बस्नेत सवार मे११प ४६६ नंको मोटरसाइकल र झापाको विर्तामोडबाट फिदिम आइरहेको मे१ख १८६३ नंको ट्रक ठोक्किँदा बस्नेत गम्भीर घाइते भइ ढलेका थिए।

उपचारका लागि जिल्ला अस्पताल इलाम पुर्याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रोमनराज अर्यालले जानकारी दिए। प्रहरी हबल्दार बस्नेत चिलिङ्दिन प्रहरी चौकी राँकेमा कार्यरत थिए। दुर्घटनामा ठक्कर दिने ट्रकका चालक कमल सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। झापाको अर्जुनधारा घर भएका बस्नेत केही महिनादेखि उक्त चौकीमा कार्यरत रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *