लकडाउनमा मुख र दाँतको समस्या : के गर्ने र के नगर्ने?

विचार विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

डा अभिनय लुइँटेल 

कोभिड-१९ महामारीका भएको लकडाउनले सबै क्षेत्रमा प्रभाव पारेको छ। यसमा मुख तथा दाँत सम्बन्धी स्वास्थ्य क्षेत्र पनि अछुतो छैन। तर, दाँत तथा मुख स्वास्थ्यबारे धेरै काम गरिएको देखिँदैन।

अवश्य पनि हामीसँग चिन्ता गर्न ठूला मुद्दा अरु नै छन्। सबै दन्त चिकित्सकले अत्यावश्यक बाहेक अन्य उपचारका प्रक्रियाहरू स्थगित गरेका छन् र अर्को सूचना नभएसम्म केवल आपतकालीन उपचार मात्र गर्ने घोषणा गरेका छन्।

मुखको स्वास्थ्य राम्रो राख्नु नै सबै प्रकारको दन्त दुखाइ रोक्ने महत्त्वपूर्ण कदम हो। यसरी कोरोनाको प्रकोपको समयमा यदि तपाईं यी सरल प्रक्रियाहरू पालना गर्नुहुन्छ भने दन्त दुखाइका घटनालाई कम गर्न सक्नुहुनेछ?

दैनिक दुई पटक ब्रस गर्नुहोस् : प्रत्येक १२ घण्टामा लेउ भनिने दाँत तथा गिजाको वरिपरि घेरिएर बसेको जैविक किटाणुहरू सहितको पत्र जो उपयुक्त विधिमार्फत ब्रस नगर्दा विस्तारै जम्मा हुन्छ थाल्छ। त्यसैले दैनिक दुई पटक ब्रस गर्दा जम्मा हुन लागेको प्लेक लियर दाँत तथा मुखमा संस्थागत हुन सक्दैन र यसलाई हटाउन मद्दत गर्दछ। प्लेकमा लाखौं ब्याक्टेरिया हुन्छन्। यसरी जम्मा भएको प्लेकले विस्तारै दाँत र गिजासम्बन्धी समस्या उत्पन्न गर्न थाल्छ।

राम्ररी ब्रस गर्नुहोस् : कम्तीमा पनि ब्रस गर्न २- ३ मिनेट खर्च गर्नुपर्छ। दन्तमन्जन  सहितको ब्रसलाई नरम गतिमा दाँतको बाहिरी र भित्र गरी विस्तारै ब्रस गर्नुपर्छ, जसले जम्मा हुन खोज्दै गरेको प्लेक हटाउन मद्दत गर्छ।

फ्लोराइडयुक्त टुथपेस्ट प्रयोग गर्नुहोस् : फ्लोराइडयुक्त टुथपेस्ट प्रयोग गर्दा टुथपेस्टमा हुने फ्लोराइड दाँतको बाहिरी पत्र भनिने इनामेल सङ रासायनिक प्रक्रियामार्फत समाहित हुन्छ र दाँतलाई कडा राख्नको लागि दाँतलाई बलियो बनाउने क्याल्सियम र फस्फोरसको वृद्धि विकासमा सहायकको काम गर्छ।

प्रतिदिन फ्लस गर्नुहोस् : खाना खाइसकेपछि दाँतहरुको बीचमा जम्मा भएको फोहोरलाई फ्लसको सहायताले सफा गर्न मद्दत गर्छ। यदि तपाईं फ्लसिङ गर्नुहुन्न भने, दुई प्रमुख दन्त समस्याको लागि जोखिममा हुनुहुन्छ। जिन्जिभाइटिस भनिने दन्त हर्ष र अर्को दन्त सडन सुरु हुन्छ।

गुलियो र अमिलो खानेकुरा सक्दो कम खानुहोस् : दैनिक रुपमा प्रयोग गर्ने गुलियो र अम्लीय खानेकुराले मुखमा भएका ब्याक्टेरियालाई आहार पुग्न गई दन्त सडनलाई मद्दत गर्छ र यसकै कारण दाँत बिग्रन्छन्।

दाँतमा टाँस्सिने खाद्य पदार्थ सेवनमा रोक लगाउनुहोस् : ‘स्टिकी फुड’ जस्तै: कडा क्यान्डी र ललिपपले मुखमा चिनी लामो समयसम्म अवस्थित भइरहन दिन्छ। यसरी लामो समयसम्म मुखमा चिनीको मात्रा रहिरहेने कुरा दाँतको सडन प्रक्रियासँग पनि जोडिएका छ।

धेरै पानी पिउनुहोस् : पानीले तपाईंको मुख सफा राख्न मद्दत गर्ने मात्र नभई मुख सुक्खा हुनबाट रोक्छ। पानीले खानेकुरा र दाँतहरूको बीचमा रहेका अवशेषहरूलाई फ्लस गरी दन्त सडन र दन्त हर्ष जस्ता रोग गराउन सक्ने ब्याक्टेरिया हटाउन मद्द्त गर्छ। यति मात्र नभई समयसमयमा उचित मात्रामा पानी पिउनाले ब्याक्टेरियाले चिनीसँग रासायनिक प्रतिक्रियाद्वारा उत्पादित एसिडहरूलाई पनि पातलो पार्छ र मुख र दाँत सम्बन्धी रोगहरूबाट बचाउन मद्दत गर्छ।

अहिले अधिकांशले दाँत तथा मुखको सरसफाइमा विशेष ध्यान राखेका हुन्छन्। तर यदि दाँत तथा मुख स्वास्थ्यको हेरचाहमा केही कमी भयो भने दाँत दुख्ने समस्याका सामान्य लक्षण देखिन थाल्छन्।

यदि तपाईंको मुख वा घाँटी वरिपरि सुन्निएको छ भने, त्यससँगै गम्भीर दुखाइ वा बढी अस्वस्थ महसुस भएमा तुरुन्तै हेल्पलाइन नम्बरमा सम्पर्क गर्नुहोस् र तत्काल उपचारको समयका बारेमा जानकारी लिनुहोस्। यस्ता समस्या देखिने बिरामीहरूको समयमै उचित उपचार पद्धति अपनाउन सकिएन भने ज्यान नै जोखिममा पार्ने अवस्थाको विकास पनि हुन सक्छ।

दाँत तथा मुख स्वास्थ्यसँग सम्बन्धित लक्षण र उपचार
अत्यधिक दाँत दुखाइ 

दन्तचिकित्सकसँग परामर्श लिई दुखाइको कारण पत्ता लगाउनुहोस् र एन्टिबायोटिक वा पेनकिलरको व्यवस्था गर्नुहोस्। ५०० मिलिग्राम सिटामोल वा ४०० मिलिग्राम आइबुप्रोफेन खान सक्नुहुन्छ। याद रहोस्, कोरोना भाइरसका लक्षण नदेखिएको खण्डमा मात्र आइबुप्रोफेनको सेवन गर्नुपर्छ।

सामान्य दाँत दुखाइ
आवश्यक परेमा पेनकिलर खानुहोस् र मुखको स्वास्थ्य तथा सरसफाइमा ध्यान दिनुहोस्। दिनमा दुई पटक फ्लोराइटयुक्त मञ्जनले दाँत माझ्नुहोस्। किरा लाग्नबाट बचाउनका लागि गुलियो खानेकुरा कम खाने गर्नुहोस्।

गिजाबाट रगत बग्नु 
यो सामान्यतया जिन्जिभाइटिस अर्थात् गिजाको रोगका कारण हुने गर्छ। तपाईँको मुखको सरसफाइमा सुधार नआएसम्म यो रोकिँदैन। यसका कारण कहिलेकाहीं दाँत पनि दुख्न सक्छ। रगत बगेको ठाउँलाई प्राथमिकता दिएर दिनमा दुई पटक दाँत माझ्नुहोस्। दाँतका बीचको भागलाई इन्टरडेन्टल ब्रस वा फ्लसको प्रयोगले सफा गर्नुहोस्।

सेन्सिटिभिटी अर्थात् चिसो-तातो खाँदा सिरिङ्ग हुनु
गिजा तल सर्नु, भरेको दाँतमा अग्लो अथवा ठूलो हुनु भएको महसुस हुनु, भरेको दाँतमा भरेको भाग भाँचिनु, टुक्रिनु वा सर्नु र दाँतमा किरा लाग्नु यसका मूल कारण हुन्। कडा खालको ब्रसको प्रयोग, दाँत माझ्ने गलत तरिका, धेरै बेरसम्म दाँत माझ्ने बानी साथै एसिडिक खाना तथा तरल पदार्थको सेवन पनि सेन्सिटिभिटीका अर्थात् दात सिरिङ्ग गर्ने कारक हुन्। यदि यस्तो छ भने दिनको दुई पटक डिसेन्सिटाइजिङ टुथपेस्ट जस्तै सेन्सोडायनले २१ दिनसम्म दाँत माझेर हेर्नुहोस्। मुखको सरसफाइमा ध्यान दिनुका साथै गुलियो कुरा कम खानुहोस्। भरेको दाँतको खण्डमा भने भरेको सिमेन्टको भाग सरेको वा दाँतमा सडन अझै बढ्दै गरेको खण्डमा दन्तचिकित्सकलाई सम्पर्क गर्नुहोस्।

दाँत भाँचिएको 
दाँत भाँचिएर दुखेको छ भने डेन्टल हेल्प लाइनमा सम्पर्क गर्नुहोस्। यदि तपाईँलाई दाँत निकाल्नुपर्छ जस्तो लाग्छ भने नजिकैको चिकित्सकको सरसल्लाह लिएर दन्तचिकित्सकलाई भेट्न सक्नुहुन्छ। दाँत सामान्य चर्किएको मात्रै छ भने यो महामारीको समयमा खासै आत्तिनुपर्दैन।

फिलिङ टुक्रिएको वा झरेको
सामान्य, सफा फिलिङ दुखाइबिना झरेको छ भने आत्तिनुपर्दैन। अत्यधिक दुखाइ भएमा निश्चय नै डेन्टल हेल्पलाइन नम्बरमा सम्पर्क गर्नुहोस् र उचित सरसल्लाहको पालना गर्नुहोस्।

बुद्धि बङ्गाराको दुखाइ
यो दुखाइ प्राय: सुस्त (डल) खालको भए पनि कहिलेकाहीं तीव्र (सार्प) पनि हुन सक्छ। तापक्रमको फेरबदल वा खानेकुराको घर्षणले दुखाइ बल्झिँदैन तर दुखेको ठाँउ वरपरको सरसफाइमा ध्यान दिनुभयो भने दुखाइमा कमी आउन सक्छ। नजिकैको फार्मेसीमा पनि उपलब्ध हुने लामो ह्यान्डल भएको इन्टरडेन्टल वा सिङ्गल टफ्टेड ब्रसले सफा गर्नुभयो भने यस समस्यामा सुधार आउन सक्छ।

मनतातो पानी (सलाइन) ले कुल्ला गरेमा उक्त ठाउँको किटाणुशोधन (डिसइन्फेक्सन) हुन्छ। इन्टरडेन्टल ब्रसलाई सलाइन पानीमा डुबाएर सोही ब्रसले गिजा सफा पनि गर्न सक्नुहुन्छ। दुखाइ असह्य छ र मुख खोल्न पनि गाह्रो भएको छ भने दन्तचिकित्सकको सल्लाह बमोजिम एन्टिबायोटिक खानपर्ने पनि हुन सक्छ।

सम्भावित आपतकालीन अवस्थाबाट बच्न
दाँतका आकस्मिक समस्याबाट बच्ने उत्तम तरिका भनेको आफ्नो मुखको सरसफाइ तथा स्वच्छतामा ध्यान दिनुका साथै समयसमयमा चेकजाँच गर्नु हो। अहिलेको समयमा चेकजाँचको विकल्प सेल्फ स्क्रिनिङ गर्न सकिन्छ।

 के गर्ने, के नगर्ने? 
–    मुखको स्वास्थ्य तथा सरसफाइमा सधैँ ध्यान दिने।
–    दाँतका बीचमा केही खानेकुरा अड्किएर दुखेको भए दाँत वरपर फ्लस गर्ने।
–    चुच्चो वस्तुले खानेकुरा निकाल्न खोजेमा दुखाइ झन् बढ्न सक्छ।
–    मन तातो (नुन) पानीले मुख कुल्ला गर्दा दुखाइ निर्मूल भए/नभएको विचार गर्ने।
–    सुन्निएको भए बरफ वा आइस प्याक लगाउने।
–    दाँत दुखेमा प्यारासिटामोल, आइबुप्रोफेन जस्ता औषधि प्रयोग गर्ने।
–    ल्वाङको तेल, फिट्किरी वा चुना प्रयोगले दाँत वरिपरिको गिजामा पिल्सिन सक्ने भएकाले तिनको प्रयोग नगर्ने।
–    दन्तचिकित्सकको सल्लाह बमोजिम मात्र एन्टिबायोटिकको प्रयोग गर्ने। एन्टिबायोटिक रेजिस्टेन्स अहिलेको खतरा हो।
–    प्रयोग गरेर बाँकी रहेको पत्ताबाट एन्टिबायोटिकको सेवन नगर्ने।
–    बरफ, साह्रो मकै, चकलेट, क्यान्डी जस्ता दाँत फुटाउन सक्ने कुरा नचपाउने।
–    कुनै कुरा काट्न वा च्यात्न दाँतको प्रयोग नगर्ने। सजिलोको लागि कैँचीको प्रयोग गर्न सकिन्छ।

दाँत तथा मुख स्वास्थ्यसँग सम्बद्ध पेसाकर्मी र अधिकांश दन्त उपचारका प्रक्रिया महामारीको समयमा उच्च जोखिम पेसा र प्रक्रियाको रूपमा वर्गीकृत गरिएको छ। जबसम्म (बढ्दै गरेको मुख तथा घाँटीको सुजन, अनियन्त्रित रक्तस्राव, ओरोफेसियल आघात र दुखाइ कम गर्ने औषधिद्वारा राहत नहुने गम्भीर पीडा) जस्तो आपतकालीन अवस्थाभन्दा बाहेक दन्त चिकित्सकलाई भेट्नबाट जोगिनु नै राम्रो हुन्छ। त्यसकारण यस अवधिमा सरल घरेलु उपचार अनुसरण गर्न सल्लाह दिइन्छ ताकि ‘तपाईं हाम्रो लागि घरमा बस्नुहोस्, हामी तपाईंको लागि काममा रहन्छौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *