खेत बाँझो छाड्नेलाई प्रतिकट्ठा एक हजार जरिवाना 

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट

चितवन, ७ जेठ

Image Not Found

फाइल फोटो

यहाँको माडी नगरपालिकाले खेत बाँझो राख्नेलाई जरिवाना गर्ने भएको छ ।  माडी नगरपालिकाको दोस्रो नगरसभाको निर्णयानुसार कृषि शाखाले खेतीयोग्य जग्गा बाँझो राखे वार्षिक प्रतिकट्ठा रू. १ हजार जरिवाना गर्ने बताएको छ ।

कृषि शाखाले सूचना प्रकाशन गरी बाँझो जग्गा राख्नेलाई कृषि शाखाबाट प्राप्त हुने अन्य सेवा सुविधाबाट समेत वञ्चित गरिने जनाएको छ । निम्न आर्थिकस्तर भएका कृषकका लागि नगरपालिकाले कृषि कर्ममा थप प्रोत्साहन गर्ने बताएको छ ।

माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले युवालाई बेरोजगार हुन नदिनका लागि खेतीयोग्य जमीन बाँझो राख्न नदिन लागिएको बताए ।

कृषकलाई खेती गर्दा नगरपालिकाले अनुदानको व्यवस्थासमेत गरेको छ । माछापालनका पकेट क्षेत्रका रूपमा रहेको माडी नगरपालिकामा माछापालनका लागि प्रदेश सरकारले चालू आर्थिक वर्षमा रू.४  करोड अनुदानको व्यवस्थासमेत गरेको उनले जानकारी दिए ।

नगरपालिकाका कृषि शाखा प्रमुख किरणप्रसाद उपाध्यायले भने, ‘कम्तीमा मूलबाली लगाउनुपर्छ ।’ साउनदेखि नगरपालिकाले जग्गा अवलोकन गर्ने भन्दै उनले जग्गा बाँझो रहे कारवाही हुने बताए ।

उनका अनुसारनगरपालिकाभित्र खेतीयोग्य जग्गा खाली हुन नदिन कडाइ गर्न खोजिएको हो । बिघौं जग्गा किनेर खाली छोड्ने गरेको पाइएकाले नगरपालिकाले जग्गा बाँझो राख्न नदिनका लागि कारवाही अभियान शुरु गर्न लागेको हो ।

कृषि उत्पादन गर्न ती जग्गा स्थानीयवासीलाई कमाउन दिन प्रेरितसमेत गरिनेछ । माडीमा हाल ४३ हजार ३६५ जनसंख्या रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *