कठै, मेरो समाज आज कता छ ?

विचार विशेष समाचार समाचार

लक्ष्मी सुकुभटु
भक्तपुर, २४ फागुन

भनिन्छ, मानिस सबैभन्दा सर्वश्रेष्ठ प्राणी हो। ऊसँग यति धेरै बुद्धि विवेक छ कि आफूलाई जनावरको रूपबाट बदलेर आजको आधुनिक युगसम्म आइसक्दा थुप्रै परिवर्तन ल्याइसकेको छ। विभिन्न वैज्ञानिक साधनको प्रयोग गरेर पृथ्वी जगतमा दैनिक कार्यमा सहजीकरण गर्नुका साथै आफूलाई हावामा पनि सजिलै समायोजन गर्ने प्रविधिको विकास गरिसकेको छ। यति मात्रै नभएर पृथ्वी साथसाथै अरु ग्रह जस्तै मंगल र चन्द्रमामा पनि गए त्यसको अध्ययन गरिसकेको पाइन्छ। आज मानिस जनावरबाट विकास भएर निकै अघि बढिसकेको छ।
मानिस जनावरबाट विकास भयो, अन्य जीवजन्तुलाई आफ्नो अधिनमा राख्न सफल त भयो तर मानिस आजको दिनमा मानिस हुन नसकेको थुप्रै उदाहरणहरु पाएका छौं। जस्तैः हिंसा, हत्या, बलात्कार, आदि इत्यादि। दिनानुदिन हिंसा, हत्या, बलात्कार, मारकाट जस्ता कुराहरु बढ्दै गइरहेको पाइन्छ। एकले अर्कोलाई थिचोमिचो गर्ने, आफ्नै आमाबुवालाई सडक पेटीमा काम गर्न नसकेपछि छाडिदिने, कोही व्यक्ति अघि बढ्छ भने ऊसलाई हौसला दिनुको सट्टा उल्टै खुट्टा तान्ने प्रवृत्ति यहाँ धेरै जसोको पाइन्छ । यहाँ अरूको भलो चाहने मानिसको संख्या कमै मात्रामा पाइन्छ। आजका मानिसहरू यति व्यस्त भइसकेका छन् कि पछाडि फर्केर हेर्ने समेत समय पाउँदैनन् जसले गर्दा एक्लोपनको विकास सबैमा धेर थोर भएको छ। मानिसहरू आधुनिक र वैज्ञानिक साधनहरूमा यति लिप्त भइसकेका छन् कि सानो कुरा वा ठूलो जुनसुकै होस् त्यो कार्य वैज्ञानिक साधनहरूबाट नै सम्भब हुन सक्छ। अझै पछिल्लो केही समयदेखि त मानिसहरू सामाजिक सञ्जालमा यति व्यस्त देखिन्छ कि कोही मानिस दुर्घटनामा परेको छ भने ऊसलाई सहयोग गर्नेको भन्दा सामाजिक सञ्जालमा राख्न त्यसको फोटो खिच्ने व्यक्तिहरुको बढी भीड देखिन्छ।
आजको यस २१ औं शताब्दीमा आएर सबै शिक्षित भएको पाइन्छ। सबैमा चेतनाको विकास भएको छ तर अझै पनि सार्थक सचेतनाको भने कमी भएको पाइन्छ। महिला महिला बाटै पीडित भएको वा पुरुष पुरुषबाटै पीडित भएको, महिला पुरुषबाट पीडित भएको, पुरुष महिलाबाट पीडित भएको जस्तो घटनाहरू दिनानुदिन समाचार देख्न वा सुन्नमा आइरहेको पाइन्छ। सात वर्षको बालिका होस् या ५० वर्षको अर्धबैँसे आइमाइ यहाँ कोही पनि सुरक्षित भएको देखिँदैन। नारीको अस्मिता माथि खेलवाड गरी कोही मारिएका छन् भने त कोही चुपचाप सहेर बसेका छन्। कथंकदाचित कोहीले त्यस विरुद्ध आवाज उठाई हाल्यो भनेपनि त्यसलाई जबर्जस्ती चुप रहन बाध्य बनाउँछ आजको समाज। यहाँ नारीको अस्मिता माथि मात्र खेलवाड हुन्न। आजको समाजमा पुरुष पनि सुरक्षित छैन । पुरुष बलात्कृत भयो भनेर न्याय खोज्दा कानुन बनेको छैन भनेर न्याय पाउन सकेका छैनन् ।
यति मात्रै होइन यहाँ आमा, दिदीबहिनीहरु आफ्नै दाजुभाइ वा बाबुबाट पनि सुरक्षित देखिन्न। न त बुढेसकाल लागेका आमाबुवा आफ्नै सन्तानबाट सुरक्षित देखिन्छ। आजको युगमा यस्ता थुप्रै घटानाहरु पाइन्छ कि चल्न नसकेपछि आमाबुवालाई छाडेको, जन्मिने बित्तिकै नव शिशुलाई बेवारिसे फालिएको, पैसाका लागि आफन्त न भनी गरिएको दुर्व्यवहार आदि । कठै, मेरो समाज विकास भए सँगसँगै सबैको राम्रो हुनुपर्ने तर आजको यस्तो स्थिति हेर्दा कता पुगेछ? मानिसहरू ज्ञान, बुद्धि, विवेक भएर पनि के का कमीले गर्दा पशु जस्तो व्यबहार भइरहेको छ ? कठै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *