लाइसेन्स छपाइ दैनिक तीन सिफ्टमा चल्दै, प्रतीक्षा सूचीका सबैलाई दिने यातायातको तयारी

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, २९ बैशाख

लाइसेन्स छपाइ दैनिक तीन सिफ्टमा चल्दै, प्रतीक्षा सूचीका सबैलाई दिने यातायातको तयारी

ट्रायल पास गरेर लाइसेन्सको प्रतीक्षामा बसेकाहरूले  लकडाउन खुलेलगत्तै पाउने भएका छन् । स्थिति सामान्य हुनेबित्तिकै दैनिक एक लाख जनाभन्दा बढीले लाइसेन्स पाउनेगरि काम भइरहेको यातायात व्यवस्था विभागले जनाएको छ ।
कार्ड छाप्न नसकेर सर्वसाधारणलाई रसिद बोकेर हिड्न बाध्य पारेको विभागले बल्ल आएर छपाइ कार्यलाई तीव्रता दिएको हो । लकडाउनको करीब दुई साता रोकेको छपाइ तेस्रो साता एक सिफ्ट र यतिबेला तीन सिफ्टमा गरिरहेको छ । विभागले यतिबेला नयाँ आवेदन लिने र नवीकरणको काम गर्नु परेको छैन । प्रक्रिया पूरा गरेर पनि जतिले पाउन बाँकी थियो, उनीहरूका लागि कार्ड छापिरहेको छ ।
‘बीचमा दुई हप्ताजति आज खुल्ला भोलि खुल्ला भनेर शुरु गरिएन । लकडाउन लम्बिने भएपछि हामीले छपाइ शुरु गर्यौं,’ विभागका महानिर्देशक गोगनबहादुर हमालले भने, ‘अहिले हामीसँग भएका मेसिनहरु फुलफ्लेजमा चलेका छन् ।’
प्रत्येक सिफ्ट ६ घण्टाको छ । ४ घण्टा लाइसेन्स छापेपछि करीब एक घण्टा मेसिनलाई आराम दिइन्छ । यसैले तीन सिफ्टको १८ घण्टामा १४ घण्टाजति मात्रै मेसिन चलाउन सकिने विभागका अधिकारीहरुको भनाइ छ ।
अहिले मास प्रिन्टरमार्फत छपाइ भइरहेको छ । विभागसँग एउटा मास प्रिन्टर, ७ लाख कार्ड र चारवटा साना मेसिन छन् । तीन सिफ्टमा गरि करीब पाँच हजार लाइसेन्स दैनिक छपाइ भइरहेको छ । मेसिन एक सिफ्ट मात्र चलाउँदा दुई हजार प्रति हाराहारी छपाइ हुने गरेको थियो । हमालका अनुसार, लकडाउनकै बीच विभागले ८० हजार हाराहारी लाइसेन्स छापिसकेको छ ।
‘अहिले नयाँ माग हुने अवस्था नभएकाले यो हाम्रा लागि छाप्न बाँकी काम सक्ने अवसर पनि हो । यही आर्थिक वर्षमा शून्यमा झार्ने लक्ष्यअनुसार लागेका छौं,’ उनले भने, ‘लकडाउनमै कम्तिमा डेढ लाख ब्याक–लग घट्छ । यो आर्थिक वर्ष्भित्र ती सबैले लाइसेन्स पाउँछन् ।’
विभागले आगामी वर्षका लागि कार्ड र प्रिन्टर खरिद गर्ने तयारी पनि थालेको उनले बताए । सवारी ट्रायल पास गरेर बसेका करीब साढे तीन लाखजना लाइसेन्स कुरेर बसेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *