सरकारी कार्यालय पूर्ववत सञ्चालन गर्ने सरकारको तयारी, आइतबारदेखि हाजिर हुन कर्मचारीलाई निर्देशन

अर्थ/वाणिज्य राजनीति विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २७ बैशाख

सरकारी कार्यालय पूर्ववत संचालन गर्ने सरकारको तयारी, आइतबारबाट हाजिर हुन कर्मचारीलाई निर्देशन

सरकारले अधिकांश क्षेत्रका सेवा सञ्चालनको निर्णय गरेसँगै आइतबारदेखि काठमाडौं उपत्यकाका सरकारी कार्यालयहरु पूर्ववत रुपमा सञ्चालन हुने भएका छन् । लकडाउन जारी रहेको र कतिपय कर्मचारीहरु घर फर्किएकाले सरकारी कार्यालयका सेवा सामान्य हुन भने अझै केही समय लाग्ने छ ।
कोरोना संक्रमण रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन घोषणा गरेसँगै धेरैजसो सरकारी कार्यालयहरुको सेवा प्रवाह प्रभावित हुँदै आएको छ । अधिकांश कर्मचारीहरु घरमै बसिरहेकाले कार्यालयहरु सुनसान छन् ।
बुधबारको मन्त्रिपरिषद बैठकले बढीमा एक चौथाइ कर्मचारीहरुमार्फत् सेवा प्रवाह गर्ने निर्णय गरेसँगै सरकारी कार्यालयहरुले आइतबारदेखि नियमित काममा हाजिर हुन आफ्ना कर्मचारीहरुलाई निर्देशन दिएका छन् । पुरानो आर्थिक वर्ष अन्त्य र नयाँ आर्थिक वर्ष शुरु हुने बेला कार्यालयका आन्तरिक काम बढी हुने भएकाले पनि कर्मचारीहरुलाई उपस्थित हुन भनिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सहसचिव एवम् प्रवक्ता राजेन्द्र कुमार पौडेलले गत बुधबारको मन्त्रिपरिषद बैठकले गरेको निर्णयबारे जानकारी गराइएको र कार्यालयहरुले त्यही निर्णयअनुसार आवश्यक काम गर्ने बताए ।
मन्त्रिपरिषद बैठकले सार्वजनिक सेवा सम्बन्धमा चार बुँदामा निर्णय गरेको छ ।
१) बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सहकारीमार्फत अतिआवश्यकीय सेवा प्रवाह गर्नुपर्ने कार्यका लागि आवश्यक पर्ने कर्मचारीमध्ये एक तिहाइ कर्मचारीद्वारा सेवा सञ्चालन गर्ने ।
२) अतिआवश्यकीय सेवा प्रदान गर्ने सरकारी कार्यालय तथा सार्वजनिक संस्थाहरुमा आवश्यक तोकिएका स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको अनुसरण गरी सञ्चालन गर्ने ।
३) सार्वजनिक सेवा संचालन गर्ने प्रयोजनका लागि उपत्यकाभित्रका सार्वजनिक निकायका हकमा सम्बन्धित मन्त्रालयको सचिव र अन्य निकायहरुको हकमा सम्बन्धित निकायको प्रमुखको सिफारिसमा नियामक निकायले त्यस्ता कार्यालयमा रहेका कूल सवारी साधनहरु मध्ये एक चौथाइ संख्यामा नबढ्ने गरी सवारी पास उपलबध गराउने ।
४) ‘उपत्यका बाहिरको हकमा सम्बन्धित कार्यालय प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीले सावधानीपूर्वक सकेसम्म न्यूनतम् सवारी साधन सञ्चालन हुने नीति लिई सवारी पास उपलब्ध गराउने ।
मन्त्रिपरिषदको निर्णयअनुसार सरकारी कार्यालय तथा सार्वजनिक संस्थानहरुमा अतिआवश्यक पर्ने न्यूनतम कर्मचारीहरुलाई आलोपालो मिलाई तोकिएको सुरक्षा सम्बन्धी मापदण्ड अनुसरण गरी कार्यालय सञ्चालन गर्न भनिएको छ ।
लकडाउन शुरु भएलगत्तै अत्यावश्यक सेवाबाहेकका धेरैजसो कर्मचारीहरु घरमै बस्दै आएका छन् । नगरीनहुने कुनै काम परेमा मात्रै कार्यालय प्रमुख र केही सीमित कर्मचारी कार्यालय जाने र काम सकेलगत्तै फर्किने गर्दै आएका छन् ।
आइतबारदेखि भने कार्यालयमा धेरैजसो कर्मचारीहरु हुने छन् । यद्यपि सेवाग्राहीको उपस्थिति भने अझै हुने छैन । किनभने लकडाउन भएकाले सबैलाई घरबाहिर निस्किन सरकारले बन्देज गरेको छ ।
लकडाउन लम्बिँदै गएपछि धेरैजसोको दैनिकी कष्टकर भएको छ । निजी क्षेत्रले कर्मचारीहरु कटौतीसमेत गरेका छन् । तर लकडाउन अवधिमा घरमै बसिरहेका कर्मचारीहरुलाई भने सरकारले नियमित पारिश्रमिक र सेवासुविधा दिने निर्णय यसअघि नै गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *