मातातीर्थ औँसी : लकडाउनले रोकेन श्रद्धा

कला/साहित्य विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

११ वैशाख, काठमाडौं । आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । मानिसहरु आफूलाई जन्म दिने आमाप्रति श्रद्धा र सम्मान व्यक्त गर्दै मनाइरहेका छन् ।

तर कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन (अत्यावश्यक काममा बाहेक घर बाहिर निस्किन रोक) लगाएकाले यी कामहरु पनि प्रभावित भएका छन् । आमाको मुख हेर्ने दिन सधैं मेला लाग्ने काठमाडौंको मातातीर्थ पनि आज सुनसान छ । मातातीर्थ मन्दिर, जलासय लगायतका स्थानमा प्रवेश गर्ने गेट बन्द गरिएको छ । तर, आमाप्रतिको श्रद्धा गर्न केले पो रोक्न सक्छ र । मानिसहरु गेट बाहिरैबाट हेरेर आमालाई सम्झिए ।

मानिसहरु बिहीबार बिहानै लकडाउनलाई बेवास्ता गर्दै तलै पूजाआजा गरे । मातातीर्थबाट पानी बग्दै आएको खोलामा भए पनि पूजा गरिरहेका मानिसहरु थिए । हातमा फलफूल, धूप, दीप लिएका केही मानिसहरु खोलामा थिए । मानिसहरुले राधाकृष्ण मन्दिरमा समेत पूजाआजा गरिरहेका देखिन्थे ।

हुन त आमालाई सम्मान गर्न कुनै विशेष दिन कुर्नु पर्दैन, तर हाम्रो साँस्कृतिक परम्पराअनुसार आज नै आमाको मुख हेर्ने र सम्मान व्यक्त गर्ने विशेष दिन हो ।

आमासँगै भएकाहरुले बिहानै उठी नुहाइधुवाइ गरी आमालाई भेटेर मिठा खानेकुरा र उपहार दिइ आशिर्वाद लिने गर्दछन् । आमासँग टाढा भएकाहरु फोन अथवा भिडियोमा कुराकानी गरेर श्रद्धा व्यक्त गर्दछन् ।

आमा नभएकाहरुले भने नजिकको तीर्थस्थलमा गएर आमाको नाममा पिण्ड तथा सिदा दान गर्दछन् । आमा नभएकाहरु भेला भएर पूजा स्नान गर्ने, पूजा गर्ने, श्राद्ध गर्ने मातातीर्थ आज सुनसान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *