
सरकारले स्वास्थ्यकर्मीलाई पूर्ण रुपमा सुरक्षित बनाएर मात्र उपचार लगायतका सेवामा खटाउने निर्णय गरेकाे छ।
शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले स्वास्थ्यकर्मीलाई छिटो भन्दा छिटो सुरक्षाका सामग्री पिपिई उपल्बध गराउनेदेखि कार्यस्थलमा समेत सुरक्षाको व्यवस्था गर्ने निर्णय गरेको छ।
सरकारका प्रवक्ता तथा अर्थ मन्त्री युवराज खतिवडाले स्वास्थ्यकर्मीको सेवा प्रवाहमा अवरोध गर्ने तथा सुरक्षामा आँच गर्नेलाई कारबाही गर्ने र स्वास्थ्यकर्मीलाई पूर्ण रुपमा सुरक्षित वातावरणमा काम गर्ने व्यवस्था मिलाउने निर्णय भएको जानकारी दिएका हुन्।
‘उहाँहरुको मनोबल बढाउन सरकारले बिमा र प्रोत्साहन भत्तासहित सुरक्षाको व्यवस्था गर्ने निर्णय पनि भएको छ,’ उनले भने, ‘उपचारका लागि आवश्यक पर्ने सुरक्षा सामग्री छिटो उपलब्ध गराउने, सेवा प्रवाहका क्रममा आउन सक्ने बाधालाई मध्यनजर गर्दै सुरक्षाको व्यवस्था मिलाउने निर्णय समेत भएको छ।’
उनका अनुसार स्वास्थ्यकर्मीको सुरक्षाको व्यवस्था सबै स्थानीय प्रशासन र सबै तहका सरकारले व्यवस्था मिलाउने छन्।