प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईलाई भक्तपुर नपामा स्वागत

विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, १८ मंसिर


भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सोलुखुम्बुबाट भक्तपुरमा सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराइलाई सोमबार एक कार्यक्रमबीच पुष्पगुच्छा, खादा र भादगाउँले टोपीले स्वागत गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत शर्माको स्वागतमा आयोजित परिचयात्मक कार्यक्रममा नगर प्रमुख प्रजापतिले प्रप्रअ भट्टराईलाई सिंगो नपा र नगरबासीहरूको तर्फबाट स्वागत गर्दै भक्तपुरको विकासको सन्दर्भमा भक्तपुर नपाले अरुको भन्दा फरक शैली अपनाएकै कारण भक्तपुर आज देशकै लागि नमुना नगर बन्न सम्भव भएको बताए ।

भक्तपुरमा देश विदेशका विशिष्ट व्यक्तिहरूको अध्ययन भ्रमण र अनुभव आदानप्रदानको सिलसिला अत्यन्त स्वागतयोग्य भएको बताउँदै उनले देशकै सानो नगरपालिका भएर पनि भक्तपुर नपाले देशलाई सकारात्मक सन्देश दिने महत्वपूर्ण नगरपालिकाको रुपमा आफ्नो परिचय स्थापित गरिरहेको बताए ।

भक्तपुरलाई सँधै उत्कृष्ट नै बनाउने उद्देश्यले जनप्रतिनिधि र कर्मचारीहरूले काम गर्दै आएको बताउँदै उनले भक्तपुरलाई अझ उचाइमा पुर्‍याउन नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृतले महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गरे ।

उपप्रमुख रजनी जोशीले जनतालाई सरल र सहज ढंगले सेवा प्रवाह गर्ने नगरपालिकाको उद्देश्य भएको बताउँदै नगरपालिकाको उद्देश्यअनुरुप कार्यसम्पादनमा साथ र सहयोग प्राप्त हुने आशा व्यक्त गरे ।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराइले भक्तपुर गौरवपूर्ण इतिहास बोकेको ठाउँ भएकै कारण आफ्नो कार्यक्षेत्रको रुपमा पाउँदा ज्यादै हर्षित भएको बताए ।

सुशासन, आर्थिक पारदर्शिता र नागरिक सेवामा भक्तपुर अगाडि बढेको नपा भएको बताउँदै उनले भक्तपुरको मान मर्यादालाई अझ उँचो रहने गरी काम गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व, नेपाल नगरपालिका कर्मचारी एसोसिएसन भक्तपुर नगरपालिका समितिका अध्यक्ष गौतमप्रसाद लासिवाले पनि बोलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *