बिहे फापेन भन्नेलाई वर्षाले फर्काइन् जवाफ

मनोरञ्जन समाचार

 काठमाडौं, २१ माघ

‘नाईं नभन्नू ल ४’ बाट अभिनय डेब्यू गरेकी अभिनेत्री वर्षा राउतले गएको फागुनमा संजोग कोइरालासँग ७ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरिन् । आउँदो फागुनमा उनले विवाह गरेको एक वर्ष नाघ्दैछ । विवाहपछि उनका दुई फिल्म ‘दाल भात तरकारी’ र ‘जात्रै जात्रा’ प्रदर्शन भए । दुवै फिल्म हिट भए पनि वर्षाले ‘जात्रै जात्रा’ बाट मात्र सफलताको क्रेडिट पाइन् ।
तर, यो फिल्मपछि उनले करीब आठ महिनासम्म नयाँ फिल्म साइन गरिनन् । केही दिन अगाडि ‘२ नम्बरी’ फिल्मको घोषणा कार्यक्रममा उनले आफू महिला प्रधान फिल्म कुरेर बसेको भए पनि अफर नआएको बताएकी थिइन् । फेमिलिजम फिल्म कुरेर बस्दा बिहे फापेन र फिल्म अफर भएन भनेर मिडियामा समाचार आउँदा आफूले दबाब महशुस गरेको उनको भनाई थियो ।
आठ महिनासम्म फिल्म नगरेर मौन बसेकी अभिनेत्री वर्षाका यही माघ महिनामा दुई नयाँ फिल्मको निर्माण घोषणा गरियो । माघ १६ गते सोमवार उनले अभिनेताद्वय दयाहाङ राई र पल शाहसँग रोमान्स गर्ने फिल्म ‘२ नम्बरी’ र यो हप्ताको सोमवार अभिनेताद्वय दयाहाङ राई र विपिन कार्कीसँग जोडी बाँधिएको फिल्म ‘के घर के डेरा’ को औपचारिक निर्माण घोषणा गरियो ।
सोमवार ‘के घर के डेरा’ को घोषणा सभामा पत्रकारले वर्षालाई सोधे- ‘८ महिनासम्म कुनै फिल्म नगरेर अहिले लगालग किन फिल्म गर्दै हुनुहुन्छ ?’ उनले प्रश्नको जवाफ दिन समय लगाइनन् । मिडियामा बिहे नफापेको र फिल्म नपाएको भनेर आइरहेका समाचारप्रति लक्षित गर्दै उनले भनिन्, ‘फिल्म नगर्दा बिहे फापेन भनेर समाचार बन्यो । त्यसको जवाफका लागि फिल्म गरेको हुँ ।’
उनले अगाडि भनिन्, ‘अझै एउटा फिल्ममा कुरा भैरहेको छ । यद्यपि, त्यो फाइनल चाहिँ भएको छैन । मैले ८ महिनासम्म फिल्म नगर्दा मिडियामा बिहे फापेन र फिल्म अफर भएन भन्दै समाचार बने । जस-जसले मलाई बिहे फापेर भनेर ‘न्यूज’ लेख्नुभएको थियो उहाँहरुलाई ‘न्यूज’ बनाउनका लागि दुईटा फिल्म गर्न लागेको हुँ ।’ उनको कुराले कार्यक्रम हल हाँसोले गुञ्जिएको थियो ।
सुब्रतराज आचार्यले निर्देशन गर्ने फिल्म ‘के घर के डेरा’ अभिनेता विपिन कार्की भएका कारण वर्षाले काम गर्न लागेको चर्चा छ । किनकि, वर्षालाई पर्दामा विपिनसँगको सहकार्य फापेको छ । तर, उनले विपिन भएका कारण ‘के घर के डेरा’ गर्न लागेको कुरामा भने सत्यता नभएको बताइन् । उनले विपिनभन्दा अगाडि नै फिल्मको विषयमा आफूसँग कुरा भएको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *