उपत्यकामा फैलिएको कोरोना भाइरस

विचार विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट
भक्तपुर, २ भदौ


जनवादी गणतन्त्र चीनको हुपेइ प्रान्तमा आठ महिना अगाडि देखिएको कोरोना भाइरसले अहिले नेपालमण्डल क्षेत्रभित्र रहेको काठमाडौं उपत्यकालाई पनि प्रभावित बनाएको छ । उपत्यकाको गल्ली, सडक, बजार र मन्दिर सबै कोरोनाका कारण बन्द भइरहेको अवस्था छ । सरकारले घोषित रुपमा लकडाउन, सटडाउन वा आम रुपमा बन्द घोषणा नगरेपनि यहाँको वातावरणलाई ध्यानमा राखी केही पनि गतिविधि नगर्न भनिरहेको अवस्था छ । यो भनेको अब जनजीवनमा प्रत्यक्ष रुपमा कोरोना भाइरसको प्रभाव देखिएको अवस्था हो । त्यसैले कतिपय स्थानमा समुदाय स्तरमा नै कोरोना भाइरस फैलिसकेको अवस्था समेत आकलन गरिएको छ । त्यसो भनेको समुदाय भरी नै यो भाइरस प्रभावित भएर त्यस स्थानका सबै मानिस मर्न सक्ने, रोगले ग्रष्ट हुनसक्ने वा कसैलाई भेट्न नहुने अवस्था हो । एक दुई सय वर्ष अगाडि पनि विफरको महामारी फैलिएको समयमा एक जनाले अर्कोलाई भेटघाट नै गर्न नहुने, सँगै बसेको खण्डमा रोग सर्ने र समुदाय भित्र रोग फैलिएर परिवारका परिवार सखाप भएको थियो ।
पहिला त्यस प्रकारको महामारी हेरिरहेका, बिफरको भयानक अवस्था हेरिरहेका र हैजा र बिफरका कारण आफ्नो घर परिवार वा जहाज परिवार समेत सखाप हुने गरी बसेका र एकल जीवन जिइरहेका मानिसहरु यो कोभिड १९ भनिएको कोरोना भाइरसको कारण बढी ससंकित हुने गरेको छ । त्यसमा पनि नेपालमण्डल क्षेत्रभित्र रहेको अति सुन्दर, स्वच्छ र चारैतिर पहाडले घेरिएको सुन्दर स्थान काठमाडौं उपत्यका पनि यो रोगले ग्रष्ट गरिसके भन्ने कुरा सार्वजनिक भएसँगै अब यो अवस्था झन् झन् जटिल हुन पुगेको संकेत मिलेको छ । अहिलेसम्म कुनै पनि खालको औषधि पत्ता नलागेको यो रोगबाट बच्ने उपाय भनेकै आफूहरुसँग प्रतिरोधात्मक क्षमता बढाएर बस्नु र यदि रोग लागेको खण्डमा समाजबाट टाढा वा एक्लै बसेर एकान्त बासमा रहने नै हो । त्यसरी पन्ध्र दिनदेखि तीन हप्तासम्म एकान्तबास वा क्वारेन्टीनमा बसेर ब्यायाम गर्नु मात्रै उपाय रहेको छ । औषधि नै भनेर केही खाने, पिउने वा इन्जेक्शन सिफारिश नभएको यो रोगबाट बच्ने सबैभन्दा राम्रा विधि भनेर हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत तातोपानी र बेसार मिसाएर खाने भनी उल्लेख गर्नु भएको छ । त्यसैले पनि आयुर्वेदिक औषधिको रुपमा रोगसँग लड्ने क्षमता बढाउने औषधि खुवाउने समेत अहिलेलाई यो रोगबाट बच्ने उपाय हो भनी उल्लेख गरिएको छ ।
उपत्यकाभित्र एकै परिवारका दुई तीन जनालाई समेत रोग सरेको कुरा अगाडि आइरहेको कारण यो रोग माहामारीको रुपमा फैलिने अवस्था उत्पन्न भएको छ । त्यसैगरी एउटै परिवारको श्रीमान् श्रीमतीलाई पनि यो रोगले ग्रष्ट बनाएको प्रमाण भक्तपुरमा समेत सार्वजनिक भएको छ । एक दर्जन भक्तपुरका मानिसहरु शनिबार एकै दिन कोरोनाको संक्रमित मध्ये एक जोडी श्रीमान् श्रीमती पनि रहेको कुरा बाहिर आइरहेको छ । त्यसो भनेको यो रोग रहेकाहरुसँगै बस्यो भने सँगै बस्नेलाई रोग सर्छ भन्ने प्रमाणित भएको हो । त्यसो भएर पनि डाक्टरहरुले भने यदि आफूसँग त्यो रोगसँग लड्ने क्षमता बढाएर बस्न सकेको खण्डमा यो रोगले छुँदैन, छोई हाल्यो भनेपनि त्यसलाई नियन्त्रण गर्न सकिन्छ भन्ने विश्वास गरिएको छ । त्यसैले पनि हामी सतर्क चाही हुनु पर्दछ तर डराउनु पर्दैन भन्ने गरेको छ । त्यसको लागि अनिवार्य रुपमा माक्स लाउने, अनिवार्य नभई बाहिर नजाने र जानै पर्ने भएमा बाहिर गएर भित्र पसिसकेपछि सफाई, लवाई खुवाईमा ध्यान दिनु पर्दछ । होइन भने हामीलाई रोगले चाँडो संक्रमण गर्न सक्दछ ।
भक्तपुर नगरपालिकाभित्र हाल स्थानीय एक जना पनि संक्रमित छैन भने तापनि यो कुरा सत्य होइन भन्ने प्रमाणित भएको छ । तैपनि मध्यपुर थिमि पहिलो स्थानमा, सूर्यबिनायक नगरपालिका दोस्रो स्थानमा र भक्तपुर नगरपालिका समेत तेस्रो प्रभावित स्थानको रुपमा भक्तपुर जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको छ । तथ्यांकलाई नियालेर हेर्ने बखत हाल जनस्वास्थ्यको दृष्टिकोणले भक्तपुर जिल्ला त प्रभावित जिल्ला भयो नै त्यसमा पनि भक्तपुर नगरपालिका पनि त्यसबाट बञ्चित हुन सकेको छैन भन्ने देखाएको छ । जगातिबाट ब्रम्हायणी क्षेत्रमा रहेको कवाडी पसलमा काम गर्न आएका एक भारतीय मूलका नागरिकलाई भएको कोभिड १९ को संक्रमण होस् वा एकजना नर्स र बैंकर्शलाई भएको संक्रमण होस् सबै भक्तपुर नगर क्षेत्रभित्रै भएको भाइरस संक्रमण हो । अनि आफूहरु कहाँ रोग छैन भन्न वा संख्या न्यून देखाउन खोज्यो भने पनि धमाधम बढ्दै गइरहेको तथ्यांकले देखाएको छ । त्यसैले नै होला गत सोमबारदेखि भक्तपुर नगर क्षेत्र भित्र प्रवेश गर्ने तेह्र वटा मूल नाकाहरुमा भक्तपुर नगरपालिकाले आफ्ना कर्मचारीहरु खटाएर कुन स्थानबाट आएको, स्वस्थ ब्यक्ति हो कि होइन र के कामले कहाँ बस्ने भन्ने जस्ता तथ्यांक संकलन गर्ने कार्य शुरु गरिरहेको छ ।
भक्तपुर नगरपालिका जनस्वास्थ्य क्षेत्रमा संवेदनशील क्षेत्र हो । भन्न खोजेको कुरा वडा वडामा नर्सहरु खटाएर ब्यक्ति ब्यक्तिलाई स्वास्थ्य शिक्षा दिएर नगर भरी सफाइ र स्वास्थ्य एक हिसाबले निःशुल्क सुविधा उपलब्ध गराएको अति सुविधासम्पन्न स्थान पनि हो । त्यसो भएर पनि रोगले ग्रष्ट गरिरहेको कुरालाई भने भक्तपुर नगरपालिकाले स्वीकार नगरी हुन्न । बाह्र जना भक्तपुर जिल्लाका संक्रमितहरु मध्ये आधी जसो भक्तपुर नगरभित्रका रहेका छन् । भक्तपुर नगरपालिका ५ वडाका एक जना महिलालाई कोरोना पुष्टि भएपछि सो क्षेत्र सिल गरेको छ । साथै भक्तपुर नगरपालिकाले नगर भर पसल नखोल्न, हुल नगर्न र माक्स अनिवार्य रुपमा लाउन अनुरोध गरेको छ । नगरपालिकाको फोहर संकलन गर्ने गाडी होस् वा अन्य थप माइकिंग गाडी प्रयोग गरी जनस्वास्थ्य प्रति भक्तपुर नगरपालिकाले सक्दो प्रचार गरिरहेको छ । सायदै मात्र अन्यत्र यस्तो बन्दोबस्त गरिरहेका छन् । उपत्यकाभित्र दुई हजार बाइस सय मानिसहरुलाई कोरोना संक्रमण भई इन्तु न चिन्तु परिसकेको अवस्थामा जनस्वास्थ्यको दृष्टिकोणले पूर्व महामारीको अवस्था शुरु भइसकेको मान्न थालेको छ । यस्तो अवस्थालाई ध्यानमा राखी अस्पताल स्वास्थ्य केन्द्र र जिल्ला जनस्वास्थ्य कार्यालयहरुले जनतालाई सचेत गर्नुपर्ने अवस्था सिर्जना भइरहेको छ । काठमाडौंमा पाँच सय भन्दा बढ्ता र भक्तपुरमा सय भन्दा बढीमा कोरोना संक्रमण देखिएको यो अवस्थामा नेपाल सरकार, जिल्ला जनस्वास्थ्य कार्यालय लगायत जिल्ला भरका सम्पूर्ण नगरपालिकाहरुले पनि तदारुकताका साथ काम गर्नु पर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *