तोक्पेगोला पर्यटकको आकर्षण केन्द्र बन्दै

अर्थ/वाणिज्य पर्यटन विशेष समाचार समाचार

ताप्लेजुङ, २६ साउन


ताप्लेजुङ सदरमुकामदेखि दुई दिनको यात्रा तय गरेर कठिनका साथ पुगिने पर्यटकीय क्षेत्र तोक्पेगोलामा आन्तरिक पर्यटकको आकर्षण बढ्न थालेको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण तोक्पेगोलामा साउन महीनामा मात्रै ५ सय बढी आन्तरिक पर्यटक पुगेका छन् । मिक्वाखोला गाउँपालिका–५ का वडा अध्यक्ष डण्डु लामाका अनुसार हिमाली क्षेत्रमा वर्खाको समयमा घुम्न सहज हुने भएकाले र पछिल्लो समयमा प्रचार–प्रसारले गर्दा साउनभित्रै झन्डै ५ सय बढी पर्यटक आएको अनुमान गर्न सकिन्छ ।

केही दिन अघि सकिएको ढुक्पा छेसी पर्व तथा तोक्पेगोला जात्रामा मात्रै तीन सय बढी पर्यटकहरू तोक्पेगोलामा पुगेका थिए । पाँचथर, संखुवासभा र ताप्लेजुङका विभिन्न ठाउँबाट धेरै पर्यटक त्यहाँ पुगेका हुन् ।
तोक्पेगोलाबासीले वर्षेनी नाग पञ्चमीदेखि ३÷४ दिनसम्म मनाउने ढुक्पा छेसी पर्व तथा तोक्पेगोला जात्रामा सयौंको संख्यामा आन्तरिक पर्यटक पुग्ने गरेका छन् । उक्त पर्वमा विभिन्न पूजाआजा सहित खेलकुद लगायतका कार्यक्रम आयोजना गरिन्छ । सिमान्तकृत तोक्पेगोला जातिको मात्रै बसोबास रहेको उक्त क्षेत्रमा सोदो पोखरी, भुत पोखरी, छ्यजुङ पोखरी, छोइला पोखरी, रुपा पोखरी, सानोखोला पोखरी, लामपोखरी, तीन पोखरी, पाँच पोखरी, साउने पोखरी, युमिक्मा पोखरी, जलाम पोखरी लगायतका दर्जनौ पोखरी छन् । झन्डै ४ हजार मिटरको उचाइमा पर्ने सोदो पोखरी अवलोकनका लागि हिउँद वर्खा दुवै सिजनमा पर्यटक पुग्ने गरेका छन् । विशेष गरी साउनदेखि असोज–कात्तिकसम्म सो क्षेत्रमा पर्यटक घुम्न पुग्ने गरेको स्थानीय मिलन लामाले बताए ।
बजार र बाक्लो बस्तीबाट निकै टाढाको तोक्पेगोला बस्तीमा तोक्पेगोला अर्थात ढोक्प्या जातिको मात्रै बसोबास छ । त्यहाँ पुगेका पर्यटक स्थानीय भेषभुषा, रहनसहनमा समेत आकर्षित हुने गरेका छन् । स्थानीय समुदायको परम्परागत स्याब्रु नाच, विशेष पर्व तथा उत्सवका बेला गरिने धुन्ज्याङ पर्यटकको रोजाइमा पर्छ । ताप्लेजुङ सदरमुकामबाट जाने पर्यटकले भने फुङफुङे झरनाको समेत अवलोकन गर्न पाउँछन् । उक्त झरना तोक्पेगोला पदमार्गमा नै पर्छ । पछिल्लो समयमा पर्यटकका लागि तोक्पेगोला आकर्षक गन्तव्य बने पनि सो क्षेत्रमा जानका लागि सडक यातायातको सुविधा नहुँदा भने यात्रा निकै कठिन हुने गरेको पर्यटक बताउँछन् ।
यता सो क्षेत्रमा सडक लगायतका भौतिक पूर्वाधारको विकासका लागि पहल भइरहेको पापुङका वडा अध्यक्ष डण्डु लामाको भनाइ छ । वडाको बजेटले सानातिना पुल बनाउन र पैदल मार्गको स्तरोन्नति गर्न बाहेक अरु काम गर्न नसकिने भन्दै उनले सडक निर्माणमा संघ र प्रदेश सरकारले सघाउनु पर्ने आवश्यकता भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *