वागीश्वरी मावि/कलेजको वार्षिकोत्सवमा सम्मान तथा पुरस्कार वितरण

विशेष समाचार शिक्षा समाचार

न्यूज अपडेट संवाददाता

भक्तपुर, ५ चैत

२१औं शताब्दीको प्रतिस्पर्धी विद्यार्थी तयार गर्नु आजको आवश्यकता

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित)ले बागीश्वरी माविको ६३ औं र बागीश्वरी कलेजको १४ औं वार्षिकोत्सव कार्यक्रम शुक्रबार एक समारोहबीच कमलविनायक बैंक्विटमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरे। सो अवसरमा उनले बागीश्वरी मा.वि.को स्मारिका र कलेजको जर्नलको विमोचन गरे।


उक्त समारोहमा अध्यक्ष बिजुक्छेँले बागीश्वरी माविका मा.वि.तहका शिक्षकद्वय कृष्णप्रसाद कर्माचार्य र उकेश सुवाल, प्रा.वि.तहका रेणुकामैंया प्रजापतिलाई २५ वर्ष निरन्तर सेवा गरेवापत दीर्घ सेवा पदकबाट सम्मान गरेकाे थियाे।

दीर्घ सेवा पदकबाट सम्मानित स.प्र.अ. उकेश सुवाल

 

दीर्घ सेवा पदकबाट सम्मानित स.प्र.अ. कृष्णप्रसाद कर्माचार्य

 

दीर्घ सेवा पदकबाट सम्मानित शिक्षिका रेणुकामैया प्रजापति

कार्यक्रममा अध्यक्ष बिजुक्छेँले देशको लागि असल र २१ औं शताब्दीको निम्ति प्रतिस्पर्धी विद्यार्थी तयार गर्नु आजको आवश्यकता भएको बताए। उनले अहिलेको गठबन्धन सरकारको बैचारिक र सैद्धान्तिक कुनै पनि कुरामा मेल नभएको बताउँदै नेमकिपा विचार र सिद्धान्तहिन गठबन्धनमा कहिल्यै नजाने बताए । साथै असल र इमान्दार विद्यार्थी तयार गर्न शिक्षक पनि त्यस्तै असल बन्नुपर्नेमा जोड दिँदै उनले राष्ट्रिय अन्तर्राष्ट्रिय कुरा विद्यार्थीलाई सिकाउनुपर्ने औंल्याए।

युक्रेन रुस युद्धका विषयमा नेपालको राजदूतावासले सही खबर सम्प्रेषण नगरेकाले नेपाली जनता अनभिज्ञ बनेको उल्लेख गर्दै उनले संयुक्त राज्य अमेरिकाको सल्लाहमा चलेकै कारण त्यस्तो हुन गएको स्पष्ट पारे। नेपालमा एमसीसी पारित भएसँगै नेपाललाई पनि नाटो संगठनको सदस्य बनाउन खोजिएको बताउँदै नेता बिजुक्छेँले युक्रेनको अहिलेको अवस्था आउनुमा दशकौं अगाडिदेखिको अमेरिकाको साम्राज्यवादी नीति नै जिम्मेवार भएको बताए । उनले राजनीतिक रुपमा विद्यार्थीलाई सचेत बनाउनुपर्ने स्पष्ट पार्दै देशका युवा विद्यार्थीले जबसम्म राजनीतिप्रति चासो नराखी बैदेशिक रोजगारमा जान्छ, तबसम्म देशको विकास सम्भव नहुने बताए । उनले योग्य विद्यार्थीले मात्र देश जोगाउने भएकाले अहिलेको राजनीतिशास्त्रमा कम्युनिष्ट देशको योगदानको विषयमा पनि समावेश गर्नुपर्ने बताए। लाखौं जनताको प्रतिनिधित्व गर्ने विद्यार्थी तयार गर्नुपर्नेमा विदेशीको सेवा गर्ने मानिस तयार गर्नु हाम्रो ठूलो दोष भएको उनको भनाइ छ ।


कार्यक्रममा भक्तपुर नपाका प्रमुख एवम् कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले भक्तपुरमा कुनै पनि बन्द हड्टालले शिक्षा क्षेत्रमा असर नपारेको बताए । उनले शिक्षा क्षेत्रसँगै जनताको लागि अत्यावश्यक कुरा पूरा गर्न वागीश्वरीले नेतृत्वदायी भूमिका निर्वाह गरेको बताउँदै हामीले सामुदायिक विद्यालय र कलेजलाई नै बलियो पार्नुपर्ने बताए । निजी क्षेत्रका निम्ति क्रियाशील एमाले माओवादी कहिल्यै कम्युनिष्ट हुन नसक्ने दावी गर्दै उनले कम्युनिष्ट व्यवहार नभएकै कारण सामुदायिक शैक्षिक संस्था विकृत बन्दै गएको बताए । नयाँ पुस्तालाई कितावी ज्ञानसँगै बाह्य ज्ञानको आवश्यक भएको बताउँदै प्रमाणपत्र नै सबथोक नभएको औल्याए ।


उनले शिक्षालाई स्तरीय र बलियो बनाउनुपर्छ भन्ने उद्देश्यले भक्तपुरमा सञ्चालित अधिकांश सामुदायिक विद्यालयहरूको शैक्षिकस्तरमा सुधारका प्रयासहरू भइरहेको बताए।
भक्तपुरको शैक्षिक उन्नतीका लागि अगुवाहरूको महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै उनले भक्तपुर नपाबाट सञ्चालित कलेजहरूले अध्ययन अनुसन्धानमा विशेष जोड दिँदै आएको तर्क राखे । भक्तपुर नपाले विद्यालयहरूको भौतिक सुधारको लागि आवश्यक अनुदानको व्यवस्था गर्दै स्थानीय विषयमा पठनपाठनको लागि स्थानीय पाठ्यक्रमको समेत व्यवस्था गरिएको बताउँदै इतिहास, भूगोल, राजनीतिशास्त्र, संस्कृति र नेपालभाषा पढ्ने विद्यार्थीहरूको लागि पूर्ण छात्रवृत्तिको व्यवस्था गरिएको बताए ।

त्यस्तै बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँले बागीश्वरीले हासिल गरेको सफलता र उपलब्धीले समाजप्रतिको तादात्म्यता हुनुपर्ने बताउँदै आगामी दिनमा पनि समाजप्रतिको जिम्मेवारी पूरा गर्न सशक्त भूमिका निर्वाह गर्ने बताए। उनले निर्वाचित प्रतिनिधि नै व्यापारी र ठेकेदार भएपछि त्यसबाट व्यापक जनताको परिवर्तनको आशा गर्न नसक्ने बताउँदै बौद्धिक वर्गले व्यापक जनताको हितमा निस्वार्थ रुपमा काम गर्ने मान्छे तयार गर्नुपर्ने स्पष्ट पारे । उनले नेपालमा एमसीसी पारितसँगै सिक्कीमका लेण्डुप दोर्जेले गर्नुपरेको मृत्युवरण अब नेपालका नेताहरुले भोग्नुपर्ने बताए। विदेशीका लागि मात्र जनशक्ति तयार गर्दा देशमा ठूलो दुर्घटना हुने बताउँदै उनले नवउपनिवेश स्वीकार्य नभएको स्पष्ट पारे।

बागमती प्रदेशसभा सदस्य सृजना सैंजुले बागीश्वरीले असल र देशभक्त नागरिक जन्माउने अभिभारा बोकेको बताउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सवालहरूमा बागीश्वरीका शिक्षक विद्यार्थी अघि बढेको बताए।
संयुक्त राज्य अमेरिकाले युक्रेनमा गरेको युद्ध र हस्तक्षेप आज संसारसामु नांगिँदै गएको बताउँदै उनले रुसले नाटो सेनाविरुद्ध प्रतिकार गरेकै कारण आज यो अवस्था आएको बताए।
साथै बागीश्वरी माविका प्रअ कृष्णप्रसाद धन्छा र बागेश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले बागीश्वरी मावि तथा कलेजको प्रगति प्रतिवेदन प्रस्तुत गरे।
बागीश्वरी मावि सञ्चालक समितिका अध्यक्ष रबिन्द्र ज्याख्वको सभापतित्वमा भएको उक्त कार्यक्रममा बागीश्वरी प्लस टुका संयोजक ज्ञानसागर प्रजापति, सहायक प्र.अ. उकेश सुवाल, बागेश्वरी कलेजका तर्फबाट त्रिविको दीक्षन्त समारोहमा बीबीएसतर्फ सर्वोत्कृष्ट विद्यार्थी बबिता ग्वाछा, विद्यार्थीहरू सुनिता दाहाल, सुजी ह्योङ्ग्वजु, शिक्षक राजन लाखा र मंगलेश्वर ध्वजुले पनि बोलेका थिए।


कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि तथा अतिथिहरूले विभिन्न तहका उत्कृष्ट विद्यार्थी, शिक्षक, कर्मचारी र भ्वाइस अफ बागीश्वरीका विजेताहरूलाई सम्मान गरेको थियो । उक्त कार्यक्रममा सिद्धिबहादुर अक्षयकोष, वागीश्वरी विद्यार्थी सहायता कल्याण कोष, शिक्षिका नारायणी मानन्धर अक्षय कोष, वागीश्वरी बाल पुस्तकालय कोष, वागीश्वरी पूर्व विद्यार्थी समाज कोष, वागीश्वरी कृष्णराम, कृष्णलक्ष्मी प्रजापति अक्षयकोष, वागीश्वरी प्रा. डा सिद्धिवीर कर्माचार्य अक्षयकोष, वागीश्वरी शैक्षिक सामग्री कोष, संस्कृति अध्येता कोष, वागीश्वरी गोविन्द, बुद्धमाया अक्षयकोष, वागीश्वरी शिक्षक कर्मचारी स्वास्थ्य उपचार कोषबाट छात्रवृत्ति वितरण गरको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *