कोशीको स्पर कटानले चालिस घर परिवार बिस्थापित

विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
सुनसरी, १३ भदौ


चार दिनदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ । कोशी पहाडी भेगहरूमा वर्षा अझै नरोकिएको कारण नदीको बहाव उच्च हुँदा श्रीलंका टापु र गरैया टापुमा स्पर कटान हुन थालेको छ ।

यस अघि पनि कोशीले निरन्तर टापुमा रहेको २ स्पर कटान तिब्र बनाएको थियो । स्थानीय प्रशासनले रोकथामका लागि सामान्य छेकबार लगाए पनि पानीको बहावले भत्काएर पुनः कटान थालेको हो । कोशीले स्पर कटान गर्दै बाडी गाउँ पसेपछि त्यस क्षेत्रका करिब ४० घर परिवार बिस्थापित बनेका छन् ।

नेपाल प्रहरी, नेपाली सेना तथा सशस्त्र प्रहरीको टोलीले स्थानीयहरूलाइ सुरक्षित स्थानमा सार्न थालेको छ । नदीले स्पर कटान गरेको सुचना पाएपछि सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको नेतृत्वमा बिशेषज्ञको टोलीले अनुगमन गर्दै जोखिम क्षेत्रको पहिचान गरी उनीहरूको उद्धारमा सेना परिचालन गरेको हो ।
कोशी आसपासका क्षेत्रमा बसोबास गर्ने स्थानीयहरूलाई प्रहरीले सुरक्षित स्थानमा सर्न अनुरोध गरेको छ भने स्पर कटान भएका श्रीलंका टापु र गरैया टापुका स्थानीयहरूलाई उद्धार गरी सुरक्षित ठाउँमा लगिएको छ । नदीले आइतबारदेखि नै गरैया टापुको डिल भत्काउन शुरू गरेको थियो । दिउँसो नदी गाउँ पसेपछि प्रहरीले स्थानीयहरूलाई उद्धार गरेको हो ।

नदीबाट मानवीय क्षति हुन नदिन कोशी आसपास क्षेत्रमा साइरन सहितको नेपाली सेनाको टोली खटाइएको सुनसरीको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताए । कोशीले स्पर कटान गरेको क्षेत्रमा रोकथामका लागि प्रयास भइरहेको छ भने नदीले क्षति पुर्‍याएको क्षेत्रमा स्थानीयहरुको उद्धारका लागि तिनै तहका सुरक्षाकर्मीहरु परिचालन गरिएको ढकालले बताए ।

यसै बिच सप्तकोशीमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ । पछिल्लो मापन अनुसार सप्तकोशीमा पानीको वहाव २ लाख ५७ हजार ७ सय ९० क्यूसेक प्रतिसेकेण्ड पुगेको कोशी ब्यारेक कन्ट्रोल रूमले जनाएको छ । पानीको बहाव उच्च बने संगै खतराको संकेत स्वरूप कोशीमा रातो बत्ति बालिएको छ भने जोखिम कम गर्न ३५ वटा ढोका खोलिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *