यी हुन् आफ्नै अस्पताल नहुने ९९ वटा नर्सिङ कलेज, सरकारी निर्णय ११ वर्षदेखि अटेर

विशेष समाचार शिक्षा समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता

काठमाडाैं, १० भदाै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०६७ सालमा नर्सिङ कलेजका अध्यापन गर्ने कलेजसँग सम्बन्धित एउटा निर्णय गर्यो। उक्त निर्णय थियो–नर्सिङ जनशक्ति उत्पादन गर्ने कलेजको अनिवार्य रुपमा आफ्नै अस्पताल हुनुपर्ने।

मन्त्रालयले नयाँ खुल्ने कलेजले अनिवार्य बनाउनु पर्ने र पुराना सञ्चालनमा रहेका कलेजका हकमा निश्चित समयसिमा दिएर अस्पताल बनाउन भन्यो। सोही अनुसार नेपाल नर्सिङ काउन्सिलले पनि निर्णय गर्यो।

मन्त्रालयले पाँच वर्षभित्र अस्पताल बनाइसक्न समयसिमा दिएको थियो। तर कलेजहरुले उक्त निर्णय अनुसार अस्पताल बनाएनन्। यो बिचमा नर्सिङ काउन्सिलले तहगत आधारमा नर्सिङ कलेजका लागि अस्पताल र शिक्षण संस्थाको मापदण्ड बनायो। काउन्सिलले २०७१ वैशाख ९ गते मापदण्ड बनाउँदै आफ्नै अस्पताल हुनुपर्ने नियम लागू गर्न खोजेको थियो।

तर, कलेजहरुकै दबावका कारण उक्त निर्णय पनि कार्यान्वयनमा आउन सकेन।

पाँच वर्षको अवधिमा अस्पताल बनाउन अटेर गरेका कलेजहरुले फेरि सरकारलाई दबाव दिएर अस्पताल बनाउने समय थप गर्न लगाए। त्यसपछि सरकारले २०७४ असाज मसान्तसम्म अस्पताल बनाइसक्न भन्दै समय थप गरिदियो।

नर्सिङ कलेजको सम्बन्धन तथा सिट पाउन आफ्नै अस्पताल भएर मात्र पुग्दैन। त्यस्ता अस्पतालमा कम्तीमा पनि ६० प्रतिशत बेड अकुपेन्सी पनि हुनुपर्ने नियम छ।

तर सरकारले दिएको २०७४ असोजसम्म पनि कलेजहरुले अस्पताल बनाएनन्। अस्पताल नै नभएपछि दबाब र प्रभावका भरमा कलेजहरुले अध्यापन अनुमति पाउँदै आइरहेका थिए।

स्वास्थ्य मन्त्रालय र नर्सिङ काउन्सिलले आफैंले बनाएको मापदण्ड विपरित काम हुँदा पनि नर्सिङ कलेजहरुले निरन्तर अध्यापनका लागि अनुमति पाइनै रहे।

त्यसपछि २०७५ फागुन १० गते चिकित्सा शिक्षा ऐन आयो। ऐनको दफा १२ मा नर्सिङ कलेज सञ्चालनका लागि अनिवार्य रुपमा एक सय शय्याको अस्पताल हुने व्यवस्था छ। देशमा सञ्चालित अधिकांश नर्सिङ कलेजले पटक पटकको निर्णय अटेर गर्दै अस्पताल नबनाएपछि ऐनमा थप २ वर्षभित्र अस्पताल बनाउन सक्ने व्यवस्था राखियो।

‘ऐन प्रारम्भ हुनुभन्दा अघि आफ्नो अस्पताल सञ्चालन नभए पनि शैक्षिक कार्यक्रम सञ्चालन गरेका शिक्षण संस्थालाई ऐन प्रारम्भ भएको दुई वर्षभित्र स्वास्थ्य मन्त्रालयको तोकेको मापदण्ड अनुसार अस्पताल सञ्चालनमा ल्याउनुपर्ने’ उल्लेख छ।

सो ऐन २०७५ फागुन १० गते प्रमाणीकरण भएर कार्यन्वयनमा आइसकेको छ। ऐनको मापदण्डका अनुसार शैक्षिक कार्यक्रम सञ्चालन गरेका शिक्षण संस्थाले २०७७ फागुन १० गतेसम्ममा आफ्नो अस्पताल सञ्चालन गरिसक्नुपर्ने हो।

२०६७ सालदेखि नै अस्पताल बनाउन अटेर गर्दै आएका नर्सिङ कलेजले २०७७ फागुन १० गतेभित्र अस्पताल बनाउन समय त पाए तर यसपटक पनि उनीहरुले अस्पताल बनाएनन्।

पटक पटक सरकारी निर्णयलाई अटेर गर्दै आएका नर्सिङ कलेजहरुले अस्पताल नबनाउँदा यसपटक प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषद (सिटिभिटी) अन्तर्गतका नर्सिङ कलेजको भर्ना प्रक्रिया नै अन्यौलमा परेको छ।

नेपाल नर्सिङ काउन्सिलले स्वास्थ्यखबरलाई उपलब्ध गराएको विवरण अनुसार देशभर सञ्चालित एएनएम, पिसिएलदेखि मास्टर्ससम्मका १८९ वटा नर्सिङ कलेजमध्ये ९९ वटा कलेजको आफ्नो अस्पताल छैन। यी कलेजहरुले नै पटक पटक सरकारको निर्णय अटेर गर्दै आएका हुन्।

सिटिइभिटीका सुचना अधिकारी अनिलमुनि बज्राचार्यले सिटिइभिटीका कार्यक्रम लागू भएका नर्सिङ कलेजहरुले आफ्नै अस्पताल अझै सञ्चालनमा नल्याउँदा समस्या भएको बताए।

‘यसपाली हामीले पिसिएल नर्सिङको भर्ना नै खोल्न सकेका छैनौंं,’ बज्राचार्यले भने, ‘किनकी चिकित्सा शिक्षा आयोगले हरेक कलेजको आफ्नै १०० बेडको हस्पिटल हुनुपर्छ भनेको छ। तर अधिकांश कलेजको आफ्नै  हस्पिटल छैन।’

उनले सिटिइभिटीको कार्यक्रम अन्तर्गत पिसिएल नर्सिङको अध्ययन भइरहेका नर्सिङ कलेजहरुमध्ये करिब २० देखि २५ वटाको मात्रै अस्पताल भएको जानकारी दिए।

कोरोना महामारीका कारण लामो समयदेखि स्थगित भएको स्नातक तहको शैक्षिक कार्यक्रम सुरु गर्न चिकित्सा शिक्षा आयोगले प्रवेश परीक्षा तथा भर्ना प्रक्रिया सुरु गरिसकेको छ। तर पिसिएल नर्सिङ तर्फको शैक्षिक कार्यक्रम भने अन्यौलमा छ।

चिकित्सा शिक्षा तर्फको विषय भएकाले पिसिएल नर्सिङको शैक्षिक कार्यक्रम आयोगसँग समन्वय गरेर नै सञ्चालन हुनुपर्ने हो। तर आयोगले भने पिसिएल नर्सिङ तर्फको शैक्षिक कार्यक्रम सिटिइभिटीको जिम्मेवारी भएको भन्दै त्यसमा चासो दिएको छैन।

‘पिसिएल नर्सिङको कार्यक्रम आयोगले हेर्ने गरेको छैन, सिटिइभिटी अन्तर्गतको हो’ आयोगका सूचना अधिकारी सेमन्तराज कोइरालाले भने, ‘तर पिसिएल नर्सिङ पढाउने कलेजले पनि आयोगको ऐनमा भए अनुसारको मापदण्ड पालना गरेको हुनुपर्छ, त्यसलाई सिटिइभिटीले नै पालना गराउन भनेका छौं। सिटिइभिटीले नै हेर्छ।’

नर्सिङ काउन्सिलकी रजिष्ट्रार बिन्दा घिमिरे कलेज, अस्पताल तथा सिट लगायतका विषय आयोगले नै हेर्ने बताउँछिन्। ‘डेढ वर्षदेखि हामीलाई यो विषयमा केही जानकारी छैन। अहिले कलेजका विषयमा केही थाहा छैन। सबै आयोगले हेर्छ,’ उनले भनिन्।

नर्सिङ काउन्सिलले उपलब्ध गराएको विवरणका आधारमा आफ्नै अस्पताल नभएका नर्सिङ कलेजको नामावली यहाँ समावेश गरेको छ।

यी हुन् आफ्नै अस्पताल नभएका ९९ वटा कलेज

१.एड्भान्स स्टडिज अफ हेल्थ साइन्स, रुपन्देही
२.अग्रीमा एकेडमी प्रा. लि लहान, सिराहा
३.एसियन कलेज फर एड्भान्स स्टडिज, ललितपुर
४.बाग्लुङ टेक्निकल इन्स्टिच्यूट, बाग्लुङ
५. बालकुमारी कलेज, चितवन
६. भक्तपुर टेक्निकल ट्रेनिङ सेन्टर, भक्तपुर
७. भेरी कलेज अफ मेडिकल साइन्स, बाँके
८.भेरी नर्सिङ कलेज, बाँके
९.विराटनगर नर्सिङ क्याम्पस, मोरङ (सरकारी)
१०.बोस्टन एकेडमी फर मेडिकल साइन्स, चितवन

११.सेन्टर फर इन्टिग्रेटेड कम्युनिटी डेभलपमेन्ट, कैलाली
१२.चक्रवर्ति हबि एजुकेशन एकेडेमी, भक्तपुर
१३.छिन्नमस्ता एजुकेशन एकेडेमी, सप्तरी
१४.चितवन एकेडेमी फर टेक्निकल एजुकेशन, चितवन
१५.दीपज्योती नर्सिङ क्याम्पस, दाङ
१६.देउराली जनता प्राविधिक शिक्षालय, रुपन्देही
१७.धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान, कास्की
१८. डिभाइन इन्स्टिच्यूट अफ हेल्थ ट्रेनिङ एण्ड रिसर्च सेन्टर, पर्सा
१९. दोलखा मल्टी सेक्टर ट्रेनिङ इन्स्च्यिूट, दोलखा
२०. एभरग्रिन टेक्निकल इन्स्च्यिूट अफ हेल्थ साइन्स, पर्सा

२१.फारवेष्ट टेक्निकल कलेज, कैलाली
२२. गण्डकी टेक्निकल ट्रेनिङ सेन्टर, कास्की
२३.ग्रीन तारा कलेज अफ हेल्थ साइन्स, ललितपुर
२४.गुणराज पाठक मेमोरियल नर्सिङ क्याम्पस, काठमाडौं
२६. हिमालयन मेडिकल एजुकेशन सोसाइटी नर्सिङ क्याम्पस, ललितपुर
२७. हिमालय प्यारामेडिकल इन्स्टिच्यूट, ओखलढुङगा
२८. होली भिजन नर्सिङ क्याम्पस, काठमाडौं
२९. होप इन्टरनेशनल कलेज, ललितपुर
३०. ह्युमन रिर्साेस डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्यूट, काठमाडौं

३१. इनोभेटिभ कलेज अफ हेल्थ साइन्स प्रालि, काठमाडौं
३२. इनोभेटिभ डेभलपमेन्ट एजुकेशन एकेडेमी, कास्की
३३. इन्स्टिच्यूट अफ कम्यूनिटि हेल्थ, कञ्चनपुर
३४. इन्स्टिच्युट अफ हेल्थ रिसर्च डेभलपमेन्ट, जनकपुर धनुषा
३५. इन्स्टिच्यूट अफ मेडिकल टेक्नोलोजी, चितवन
३६. इटहरी हेल्थ कलेज, सुनसरी
३७. जनकपुर नर्सिङ क्याम्पस, धनुषा
३८. कञ्चनजंघा इन्स्टिच्यूट अफ हेल्थ साइन्स, झापा
३९.कपिलवस्तु टेक्निकल इन्स्टिच्यूट, कपिलवस्तु
४०.काठमाडौं इन्स्टिच्यूट अफ टेक्निकल साइन्सेस, ललितपुर

४१.काभ्रे हेल्थ ट्रेनिङ इन्स्टिच्यूट, काभ्रेपलाञ्चोक
४२. खोपः पोलिक्लिनिक इन्स्टिच्यूट, भक्तपुर
४३.कोशी हेल्थ एण्ड साइन्स क्याम्पस, मोरङ
४४. काठमाडौं नर्सिङ क्याम्पस, बसुन्धारा काठमाडौं
४५.कृष्ण मेडिकल एन्ड टेक्निकल रिसर्च सेन्टर, धनुषा
४६.कुमारी कम्युनिटी एएनएम ट्रेनिङ सेन्टर, परासी
४७.लहान सगरमाथा एजुकेशनल एकेडेमी, सिराहा
४८. ललित पोलिक्लिनिक ट्रेनिङ इन्स्टिच्यूट ललितपुर
४९. लुम्बिनी इन्स्टिच्यूट अफ टेक्निकल साइन्स, रुपन्देही
५०. मदन भण्डारी मेमोरियल एकेडेमी, मोरङ

५१. मध्यपश्चिम प्राविधिक शिक्षालय, बाँके
५२. मैयाँदेवी गल्स कलेज, चितवन
५३. मकवानपुर टेक्निकल इन्स्टिच्युट, सुनसरी
५४. मकालु टेक्निकल कलेज, सुनसरी (सरकारी, इनरुवा अस्पताल)
५५. मायादेवी टेक्निकल कलेज, रुपन्देही (सरकारी, लुम्बिनी अस्पताल)
५६. मेची टेक्निकल ट्रेनिङ एकेडेमी, झापा
५७. मोर्डन इन्स्टिच्यूट अफ हेल्थ साइन्स, उदयपुर
५८. नारायणी मेडिकल एण्ड टेक्नोलोजी नर्सिङ कलेज, मकवानपुर
५९. नेसनल ह्युमन रिसोर्स डेभलप्मेन्ट एकेडेमी प्राली
६०. नेसनल हेल्थ फाउन्डेशन, काभे्र

६१.नेपाल कलेज अफ नर्सिङ एन्ड हेल्थ साइन्स प्राली, धनुषा
६२. नेपाल इन्स्टिच्यूट अफ मेडिकल साइन्स एण्ड टेक्नोलोजी, काठमाडौं
६३. नेपाल टेक्निकल इन्स्टिच्यूट, धनुषा
६४. नाइटिंगेल नर्सिङ क्याम्पस, काठमाडौँ
६५.नोभेल एकेडेमी प्रालि, कास्की
६६. ओम समाज शैक्षिक प्रतिष्ठान प्राली, कलंकी काठमाडौं
६७. पि.यू कलेज अफ मेडिकल एलाइड साइन्सेज, मोरङ
६८.पाल्पा टेक्निकल इन्स्टिच्युट, पाल्पा
६९. पिपुल्स् मल्टिपल हेल्थ इन्स्टिच्यूट,  सुनसरी
७०. पोखरा टेक्निकल हेल्थ मल्टिपल इन्स्टिच्यूट, कास्की

७१. पब्लिक टेक्निकल इन्स्टिच्यूट, सिराहा
७२. राजदेवी टेक्निकल इन्स्टिच्यूट, सप्तरी
७३ राप्ती लाइफ केयर अस्पताल प्राली, दाङ
७४. सगरमाथा टेक्निकल इन्स्टिच्यूट, मोरङ
७५. शैलजा आचार्य मेमोरियल पोलिटेक्नीक, मोरङ
७६. शैलेश्वरी फारवेष्ट स्कुल अफ हेल्थ साइन्स अफ टेक्नोलोजी, कैलाली
७७.सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज, रुपन्देही
७८. स्कुल अफ हेल्थ एण्ड एलाइड साइन्सेज पोखरा युनिर्र्भसिटी, कास्की
७९. सेती महाकाली नर्सिङ क्याम्पस, कञ्चनपुर
८० .शारदा इन्स्टिच्यूट अफ टेक्नोलोजी, धनुषा

८१. श्रद्धा इन्स्टिच्यूट अफ हेल्थ साइन्स, भक्तपुर
८२. श्री फुल्चोकी नर्सिङ क्याम्पस, काभ्रेपलाञ्चोक
८३. सिद्धार्थ इन्स्टिच्यूट अफ मेडिकल टेक्नोलोजी, पाल्पा
८४.सिद्धार्थ मेडिकल इन्स्टिच्युट, रुपन्देही
८५. सिन्हा हेल्थ फाउन्डेशन, धनुषा
८६.एसएसपी मेडिटेक नर्सिङ कलेज, रुपन्देही
८७. सुनसरी टेक्निकल स्कुल, सुनसरी
८८. सुर्खेत एजुकेशन डेभलपमेन्ट एकेडेमी, सुर्खेत
८९. सुष्मा कोइराला मेमेरियल सिएमए÷एएनएम क्याम्पस, बाँके
९०.तम्घास टेक्नीकल इन्स्टिच्युट, गुल्मी

९१. तानसेन स्कुल अफ हेल्थ साइन्स, पाल्पा
९२.टेक्नीकल ट्रेनिङ सेन्टर, सिन्धुली
९३.द हिमाल इन्स्टिच्यूट अफ हेल्थ एण्ड टेक्निकल साइन्स, पर्सा
९४. टिकापुर नर्सिङ क्याम्पस, कैलाली
९५. त्रिशुली मेडिकल इन्स्टिच्यूट, नुवाकोट
९६. उदयपुर टेक्नीकल ट्रेनिङ स्कुल, सप्तरी
९७. युनिक कलेज अफ मेडिकल साइन्स एन्ड हस्पिटल, रुपन्देही
९८. यति हेल्थ साइन्स एकेडेमी, काठमाडौं
९९.गौर नर्सिङ इन्स्टिच्युट, रौतहट

Leave a Reply

Your email address will not be published. Required fields are marked *