स्वास्थ्य मन्त्रालयका सह-प्रवक्तालाई प्रश्न– पुनः कडा खालको लकडाउन हुने सम्भावना कति?

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता

काठमाडाैं, १० भदाै

पानीको छाल जस्तै उतारचढाव आइरहेको कोरोना संक्रमणको तथ्यांकलाई विश्लेषण गरी विभिन्न विज्ञले नेपालमा तेस्रो लहर सुरु भइसकेको बताएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने तेस्रो लहर सुरु भइनसकेको र सम्भावना भने रहेको बताएको छ।

मंगलबार मात्रै सरकारले पुरानै प्रावधानलाई निरन्तरता दिँदै भदौ १६ गतेसम्मका लागि निषेधाज्ञाको अवधि लम्ब्याएको छ। पुनः कडाईका साथ लकडाउन हुने/नहुने विषयमा धेरैको चासो पनि छ।

पाँच दिन यता कोरोना संक्रमितको संख्या पनि तीन हजार तल झरेको छ। हाल दुई हजार आसपासमा दैनिक संक्रमित भेटिने गरेका छन्।

पछिल्लो २४ घण्टामा २ हजार ४ सय ८२ जना संक्रमित भेटिए। यसअघि भदौ ८ गते, २ हजार ५२५, भदौ ७ मा १ हजार ८०१, भदौ ६ मा १ हजार ९२०, भदौ ५ मा २ हजार ७५, भदौ ४ मा ३ हजार ४२ जना संक्रमित भेटिएका थिए।

नेपालमा कोरोना संक्रमणको अवस्था के छ? पुनः लकडाउन हुने सम्भावना कत्तिको छ? लगायत विषयमा हामीले मन्त्रालयका सह–प्रवक्ता डा समीरकुमार अधिकारीसँग सोधेका छौँ। उनीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छः

नेपालमा हाल कोरोना संक्रमणको अवस्था के छ? अहिले केही घट्दै गएको हो?
– दैनिक पुष्टि भएका संक्रमितको तथ्यांककै आधारमा कोरोना संक्रमणदर कम भइसकेको भन्न सकिँदैन।
– नेपाल अहिले पनि कोरोनाको उच्च जोखिममा छ।
– अस्पताल भर्ना हुने संक्रमितको संख्यामा कमी आएको छैन।
– जनस्वास्थ्यका मापदण्ड पालना हुने र सबैले सचेतना अपनाउने हो भने हामी कम जोखिममा पर्न सक्छौं।

के नेपालमा तेस्रो लहर सुरु भइसकेको हो?
– संक्रमण पुष्टि भएका संख्याहरुको ग्राफमा आएको उतारचढावलाई लहर भन्छौं।
– असारको अन्त्यसम्ममा कमी आएको संक्रमितको संख्या साउन लागेसँगै पुनः उकालो लाग्यो।
– मानिसको लापरबाहीका कारण अस्पताल भर्ना हुने संक्रमितको संख्या बढ्न सक्ने सम्भावना धेरै छ।
– संभावित तेस्रो लहरको तयारी गरिरहेका छौँ। तर तेस्रो लहर सुरु भए÷नभएको अहिले भन्न सकिने अवस्था छैन।

खोप लगाएका व्यक्तिहरु पनि पुनः संक्रमित भइरहेका छन्। हाल खोप लगाएका र नलगाएकामध्ये कुन व्यक्ति बढी संक्रमित भएको पाउनु भएको छ?
– जोखिमपूर्ण स्वास्थ्य अवस्था भएर अस्पताल भर्ना नहोस् भन्नका लागि खोप लगाइने हो।
– खोप लगाएका र नलगाएकामध्ये कुन व्यक्ति बढी अस्पताल भर्ना भएका छन् भन्ने विषयमा हामीले विश्लेषण गरिसकेका छैनौं।
– तर खोपको पूर्ण मात्रा लगाएको दुई साता नपुगेका व्यक्तिहरु बढी मात्रामा अहिले पनि अस्पताल भर्ना भएका छन्।
– खोपको पूर्ण मात्रा लगाएको दुई सातापछि मात्र सुरक्षित रहने अवस्था हुन्छ।

तेस्रो लहरको महामारीसँग जुध्न स्वास्थ्य मन्त्रालयले के कस्तो तयारी गरेको छ?
– महामारी रोकथाम नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गर्नैपर्छ।
– खोप सबैको पहुँचमा पुर्‍याउन सरकार लागिपरेको छ।
– संक्रमण फैलिँदै गए क्वारेन्टाइनमा राख्ने, परीक्षण गर्ने कीटहरु राखेको, अस्पतालको शय्या र अक्सिजन अभाव हुन नदिन काम गरेका छौँ।
– दोस्रो लहरबाट पाठ सिक्दै तेस्रो लहरलाई थप व्यवस्थित गर्ने तयारीमा लागेका छौँ।

नेपालमा पुनः कडाई साथ लकडाउन हुने सम्भावना कति छ?
– कडाईका साथ लकडाउन हुने अवस्था आउन नदिनका लागि हामी जुटिरहेका छौँ।
– संक्रमण भयावह स्थिति आए, मानिसको भीडभाड बढ्दै गए, व्यवस्थापन गर्न गाह्रो भए मात्र कडाईका साथ लकडाउन हुन सक्छ।
– अहिलेको अवस्थामा नेपालमा कडा खालको लकडाउन गर्ने सोचेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *