नयाँ नयाँ “भक्तपुर काण्ड”

राजनीति विचार विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

भक्तपुर, ९ भदाै

पञ्चायती व्यवस्थाले नेपाल मजदुर किसान सङ्गठन (हाल पार्टी) माथि राजनीतिक दमन गर्न रचेको भक्तपुर काण्ड यता तीन दशक समय व्यतीत भइसकेको छ । निश्चय पनि सिङ्गो विश्व, देश र समाजसँगै राजनीतिमा पनि ठुलो परिवर्तन भइसकेको छ । तीन दसकअघि नेमकिपालाई समूल नष्ट गर्न जालसाजी गर्ने पञ्चायती व्यवस्थामात्र होइन, त्यो व्यवस्थाको हर्ताकर्ता राजतन्त्रसमेत इतिहासको गर्तभित्र विलिन भइसकेको छ । पञ्चायती व्यवस्थाविरुद्ध लडिरहेका राजनीतिक दलहरू पालैपालो सरकारमा गएका छन् र देशमा शासन चलाएका छन् ।

तर, सैद्धान्तिक र राजनीतिक सङ्घर्षलाई नै आफ्नो मार्ग बनाएर व्यापक श्रमिक जनताको हितमा न्यायपूर्ण समाज स्थापनाको लक्ष्य प्राप्तिको निम्ति लडिरहेको नेमकिपाविरुद्धको दमनचक्र भने अझै पनि तीन दशकअघि भन्दा कम धारिलो छैन । अहिलेका शासक दलहरूले नेमकिपाप्रति गर्ने व्यवहार हिजोका पञ्चायती शासकभन्दा कति पनि कम छैन । निःसन्देह दमनको शैलीमा परिवर्तन भएका छन् । हिजो राज्य सत्ताले भौतिक दमनमार्फत नेमकिपालाई समूल नष्ट गर्न खोजेको थियो । पञ्चायतले नेमकिपा दबाउन प्रहरी प्रशासन, जालझेल र जेलनेलको प्रयोग गरेको थियो भने आजका शासकहरू मन्द विष प्रयोग गरेर फेरि पनि त्यही लक्ष्त्र्ेदन गरिरहेका छन् ।

भौतिक दमनबाट नेमकिपाजस्तो विचार र सिद्धान्तमा आधारित राजनीतिक दललाई बिगार्न नसक्ने अनुभव प्राप्त गरेका शासक दलहरू अहिले गुलियो पोतिएको विष प्रयोग गरेर त्यो लक्ष्य पूरा गर्न लागेका छन् । सूचनाको युगमा नेमकिपाबारे झूटा समाचार र गलत प्रचारबाजी गरेर आज पनि शासक दलहरू हरेक दिन सानोतिनो भक्तपुर काण्ड गरिरहेका छन् । जनताबीच नेमकिपाको मूल सिद्धान्त र विचारलाई छायामा पारी झूटा र पूर्वाग्रहपूर्ण प्रचारबाजी गर्न आज पनि शासक सञ्चारमाध्यम र पत्रकारहरू लागेका छन् । उनीहरू नेमकिपाबारे जनताको सही धारणा बन्ने कुनै पनि समाचारलाई डस्टबिनमा फाल्छन् र नेमकिपाको दुष्प्रचार गर्न सकिने सानो छेस्को पनि छोड्दैनन् । कदाचित बाध्य भएर नेमकिपाबारे सही समाचार लेख्नुपर्ने अवस्था आए पनि उनीहरू या त त्यसबाट नेमकिपालाई झिक्न खोज्छन् नभए पुच्छारमा भए पनि नेमकिपाको विषवमनको केही वाक्य कोरेर सन्तोषको श्वास फेर्छन् ।

शासक दलहरूले नेमकिपाका कार्यकर्ताहरूलाई अझै पनि लोभ–पापमा फसाएर सिद्धान्तच्युत बनाउने र सङ्गठन कमजोर बनाउने जालझेल रच्न छोडेका छैनन् । नेमकिपालाई निश्चित क्षेत्र र जातिसँग जोडेर अन्य कामदार जनतालाई नेमकिपाबाट अलग राख्ने षड्यन्त्र अझै पनि चालु नै छ । पैसा, आपसी कलह, मनमुटाव, जागिर, नेता–कार्यकर्ताबारे झूटा कुराको प्रचारमार्फत कार्यकर्तालाई भ्रममा पारेर सङ्गठनमा विग्रह र विभाजन ल्याउने प्रयास नयाँ त होइन । तर, त्यस्ता काम भने अहिले पनि चालु नै छन् । अहिले पनि नेमकिपालाई नष्ट पार्न कुनै न कुनै कलेवरमा भक्तपुर काण्ड चालु नै छ ।

तर, इतिहासले पुष्टि गरेको एउटा सत्य के हो भने शासक दलहरूले जालझेल, दमन र षड्यन्त्रको तानाबाना बुन्दै नेमकिपालाई जति कमजोर बनाउन खोज्छ, जनताले नेमकिपालाई बलियो बनाउँदै गएको छ । नेमकिपा सिध्याउन खोज्ने पञ्चायत आफैले ‘मास छर्न गयो ।’ त्यसयताका शासक दलहरू पनि आफै टुटफुट र सिद्धान्तहीनताको रछ्यानमा पुगे, तर नेमकिपा भने अझै जनतामा आफ्नो जग बलियो बनाउँदै आफ्नो राजनीतिक र सैद्धान्तिक सङ्घर्षलाई अघि बढाइरहेको छ । व्यापक जनता र न्यायको लागि लड्ने राजनीतिक दलले भक्तपुर काण्डहरू सामना गर्नु स्वाभाविक कुरा हो । मुख्यतः इतिहासले सिकाएको यो पाठ सिकेर पार्टी अविचलित यात्रामा अघि बढिरहनुपर्छ ।

स्राेतः अनलाइन मजदुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *