मौद्रिक नीतिको प्रभाव शेयर बजारमा, कारोबार रकममा भने ऐतिहासिक रेकर्ड

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

काठमाडाैं, ३१ साउन

मौद्रिक नीतिको प्रभाव शेयर बजारमा, कारोबार रकममा भने ऐतिहासिक रेकर्ड

सेयर कारोबार रकम (टर्नओभर) ले नयाँ कृतिमान कायम गरेको छ । नेपालको पुँजी बजारमै आइतबार (साउन ३१) सबैभन्दा धेरै २१ अर्ब ६४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । नेप्से २४.८८ अंकले घटे पनि खरिदबिक्री रकमले ऐतिहासिक रेकर्ड कायम गर्न सफल भएको हो । मौद्रिक नीतिमा भएको एउटा व्यवस्थाले नेप्से सूचक भने केही अस्थिर बनेको हो ।
नीतिमा एक जना व्यक्तिले अधिकतम १२ करोड रुपैयाँमात्र सेयर कर्जा लिन पाउने व्यवस्था गरिएको छ । यसलाई ठूला लगानीकर्ताले विरोध गरेका छन् । साना तथा मझौला लगानीकर्तालाई यस व्यवस्थाले कुनै फरक पर्दैन । बजार सूचक नेप्से भने आइतबार निकै अस्थिर बन्यो । छिनछिनमै तलमाथि गर्नेक्रम जारी रह्यो ।
यता, बजार अस्थिर भएपछि सेयर लगानीकर्ताहरुले १२ करोडको सीमा तत्काल हटाउन माग गरेका छन् । अर्थमन्त्री जनार्दन शर्माले पनि लगानीकर्तालाई कुनै पनि हालतमा सेयर बजारलाई बिग्रिने नदिने आश्वासन दिएका छन् । अर्थमन्त्रीको आश्वासनपछि लगानीकर्ताको आत्मबल वृद्धि हुने अपेक्षा गरिएको छ ।
पेनिक सेल सकिएपछि बजार फेरि लयमा फर्किने विश्वास गरिएको छ । भारीमात्रामा भएको कारोबार रकमले पनि बजारमा पर्याप्त मात्रामा लगानीकर्ता रहेको विश्वास गर्न सकिन्छ । बजार दिनभर अस्थिर हुनुले भने आम लगानीकर्ताको अन्योल अवस्थाको संकेत गर्दछ । तथापि, खरिदबिक्री रकमले बजारमा फेरि सकारात्मक माहोल फर्किने देखाएको छ ।
बजार घटे पनि उत्पादनमूलक, माइक्रोफाइनान्स र इन्भेष्टमेन्ट समूहमा भने तेजी आएको छ । ऋणपत्र जारी गर्न दिने व्यवस्थाले माइक्रोफाइनान्स समूह सकारात्मक बनेको हो । सेयर बजार तलमाथि गरिरहन्छ । यो बजारको स्वभाविक प्रक्रिया हो । यसर्थ, आम लगानीकर्ताले योजनाबद्ध हिसाबले अघि बढ्न सक्नुपर्छ ।
लगानी गरिएका कम्पनीको नाफा, रिजर्भ, प्रतिसेयर आम्दानी, पीई अनुपात लगायतका प्रमुख पक्षहरुमा ध्यान दिन आवश्यक छ । सकेसम्म अलिलामो समयसम्म होल्ड गर्ने हिसाबले लगानी गर्न सक्नुपर्छ । यसो गर्न सकिएमा दिनहुँ हुने उतारचढावबाट प्रताडित हुनुपर्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *