कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले सय दिने योजना ल्याउँदै

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता

काठमाडाैं, १७ साउन
सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि एक सय दिने योजना बनाउने भएको छ। गृहमन्त्री बालकृष्ण खाँण, स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठसहित सुरक्षा अंगका प्रमुखको बैठकले राज्यका सबै पक्षको सहकार्य हुनुपर्ने निष्कर्ष निकालेको छ।

कोरोना संक्रमणको तेस्रो लहर आउनुअघि नै सरकारको तयारी गरिसक्ने बैठकले निर्णय गरेको छ। स्वास्थ्य मन्त्रालयले गृहसँग समन्वय गरी व्यवस्थापनको पाटो सहजीकरण गरिने गृहमन्त्री खाँणले बताए।

पछिल्लो समय विदेशबाट आएकाहरुका लागि होल्डिङ सेन्टर निर्माण सन्तोषजनक नभएको भन्दै निर्माण तीब्रता दिनुपर्ने बताइएको छ। बोर्डरमा कोरोना खोप लगाउने व्यवस्था मिलाउन स्वास्थ्य राज्यमन्त्री श्रेष्ठसँग गृहमन्त्री खाँणले आग्रह गरेका छन्। साथै, सबै सरकारी अस्पतालमा अक्सिजन व्यवस्थापन अपरिहार्य रहेको निष्कर्ष निकालिएको छ।

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले सय दिने योजनका विषय सोमबार सार्वजनिक गर्ने तयारी भएको जानकारी दिए। स्वास्थ्य मन्त्रालयमा सचिव लक्ष्मण अर्याल र प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठको विदाई कार्यक्रममा राज्यमन्त्री श्रेष्ठले सय दिने योजना सार्वजनिक गरिने बताएका हुन्।

सरकारी अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा बोर्डरमा भ्याक्सिनको प्रबन्ध गरिने उनले बताए।

कोरोनाखोप लगाउने कार्यलाई व्यवस्थित गर्न टोकन व्यवस्थापन गर्ने र खोप केन्द्र बढाउने श्रेष्ठले जानकारी गराए। ४० लाख फाइजर खोप किन्नलाई आवश्यक प्रबन्ध भएको उनले बताए। एक हप्तामा ३२ लाख खोप आउँदै (१६/१६ लाख चीन र जापानबाट) आउने उनले जानकारी दिए। निजी मेडिकल कलेज र अस्पतालहरूसँग समन्वयको कार्य अघि बढेको श्रेष्ठको भनाइ छ।

बिहानको बैठकमा गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी लगायत सहभागी थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *