चिकपाको शतवार्षिकी : विश्व समाजवादी यात्राको एउटा कोसेढुङ्गा !

राजनीति विशेष समाचार समाचार

यशराज

भक्तपुर, १५ असार

पुँजीवादी चिन्तकहरूले ‘इतिहासको अन्त्य’ घोषणा गरेको तीस वर्षपछि चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो स्थापनाको सय वर्ष मनाउँदै छ । पश्चिमा उदारवादी प्रजातन्त्रको लहर उठिसकेको छ र समाजवादको अन्त्य निश्चित भइसकेको घोषणा गरिएको केही दशकपछि संसारभर पुँजीवाद अनेक खालका हमला व्यहोर्दै छ । त्यो असफल सिद्ध हुँदै छ । अफ्रिका, ल्याटिन अमेरिका, एसिया र युरोपका विभिन्न देशमा मजदुर आन्दोलनले पुँजीवादी व्यवस्थालाई धक्का दिँदै छ ।
जगमा जाहेर भइसकेको छ, कोभिड–१९ महामारीसँगै पश्चिमा पुँजीवादी प्रणाली तथा व्यवस्था झन् उदाङ्गो भयो । सोभियत समाजवादको अस्थायी हारसँगै समाजवादको अन्त्य घोषणा गर्दै उल्लास मनाउने पुँजीवादी विचारकहरू आज हिस्स हुँदै छन् । विश्वव्यापीरूपमा पुँजीवादी व्यवस्थाका असफलता तथा समाजवादी व्यवस्थाका सफलताबारे व्यापक छलफल, बहस एवम् सोधखोज हुँदै छ । बेलायती ‘वेष्टमिनिस्टर’ मोडलको राजनीतिक व्यवस्थाका गुण–अवगुणबारे चर्चा–परिचर्चा फेरि शुरु भएको छ । त्यही मोडलको संसदीय व्यवस्थाले स्थिरता, स्थायित्व, शान्ति र उन्नति दिन नसक्दा संसारका सचेत जनतामा आक्रोश बढ्दो छ । राजनीतिशास्त्र, अर्थशास्त्र तथा समाजशास्त्रका क्षेत्रमा नयाँ अध्याय थपिँदै छ । त्यसले विश्व जगत तथा मानव समाजलाई सकारात्मक गति एवम् दिशा दिनेछ भन्नु हतारो हुने छैन ।

‘प्रजातन्त्र’, ‘व्यक्तिगत स्वतन्त्रता’ तथा ‘नागरिक अधिकार’ को बखान गर्ने पुँजीपति वर्ग महामारीमा जीवन रक्षा गर्न असफल भएपछि व्यापक जनता गम्भीर एवम् सशङ्कित भएका छन् । घरपरिवारका सदस्य गुमाएका तथा उपचार नपाएका जनता झस्केका छन् । विचारकहरू गम्भीर सिंहावलोकन गर्दै छन् । पुँजीवादी नेतृत्वमा मात्र होइन प्रणाली तथा व्यवस्थामै खोट भएको निष्कर्षमा पुग्दै छन् । बेलायत, अमेरिका, फ्रान्स, इटाली, स्पेन, जर्मनी जस्ता पुँजीवादी देशको कन्तबिजोग एवम् दूर्दशा र चीन, कोरिया, क्युवा, भियतनाम जस्ता समाजवादी देशको अभूतपूर्व सफलता अकाट्य प्रमाण एवम् सर्वस्वीकार्य तथ्य बन्यो । तसर्थ, ‘इतिहासको अन्त्य’ होइन अब फेरि एकचोटि ‘इतिहासको पुनर्दोय’ भएको चर्चा चल्दै छ । एक्काइसौँ शताब्दी समाजवादको शताब्दी हुने विश्वास बढ्दै छ । मसानघाटबाट पनि कम्युनिज्म फर्कन्छ भन्ने दाबीमा सच्चाइ छ भन्ने मान्यता विकास हुँदै छ ।

मार्क्सवाद पुरानो देख्नेलाई जवाफ
मार्क्सवाद पुरानो भयो भनी होहल्ला गरिएको त निकै वर्ष भइसक्यो । मार्क्सवाद ‘पुरानो’ र ‘म्याद नाघिसकेको’ घोषणा गर्न हतारो गर्नेहरूका निम्ति अनौठा दिनहरू आउँदै छन् । ‘कम्युनिस्ट घोषणापत्र’ प्रकाशित भएको १७३ वर्षपछि एउटा मार्क्सवादी पार्टी तथा मार्क्सवादलाई चिनियाँ भूमिमा रचनात्मक ढङ्गमा लागु गर्दै अगाडि बढिरहेको चिनियाँ कम्युनिस्ट पार्टी सफलताको सय वर्ष मनाउँदै छ । ‘कम्युनिज्म युरोपको भूत’ भनी विश्वभर आतङ्क फैलाउने र बदनाम गर्न खोज्नेहरू आज कता लुकेर बसेका होलान् ? मार्क्सको सालिकमा ढुङ्गा हान्ने र लेनिन–स्तालिनको सालिक ढालेर समाजवाद मसानघाट पुर्याएको घोषणा गर्नेहरू यतिखेर के सोच्दै होलान् ? ९ करोड १० लाखभन्दा बढी पार्टी सदस्य र झन्डै ५० लाख वटा पार्टी मातहतका ‘सेल कमिटीहरू’ सहितको संसारको सबैभन्दा ठूलो राजनीतिक दल, सत्तासीन पार्टी, मार्क्सवादी पार्टी अर्थात् चिनियाँ कम्युनिस्ट पार्टी आफ्नो स्थापनाको शतवार्षिकी मनाउँदै छ । त्यस अवसरमा संसारभरका कम्युनिस्ट पार्टी, वामपन्थी पार्टी तथा अन्य राजनीतिक दलसँग अन्तरक्रिया, आदान–प्रदान र सुख–दुःख साट्दै छ । चिनियाँ नेतृत्वको फराकिलो सोच, सहकार्य एवम् सहयात्राको अभिलाषा र उच्च राजनीतिक संस्कृतिबाट प्रभावित नहुने आज कमै मात्र देखिन्छन् । चिनियाँ कम्युनिस्ट पार्टीले खुला हृदयले फैलाइरहेको मित्रताको हातप्रति अन्तर्राष्ट्रिय समुदाय खुसी व्यक्त गर्दै छ । आज धेरै विश्लेषकहरू भन्दै छन् – चीन व्यवहारले जित्दै छ र कामले चित्त बुझाउँदै छ । तसर्थ, मार्क्सवाद विज्ञान मात्र होइन, दर्शन मात्र पनि होइन यो व्यवहार हो, उत्कृष्ट मानवीय जीवन निर्माणको उपाय हो । यस आधारमा मार्क्सवाद कहिल्यै पुरानो हुने छैन । मार्क्सवाद पुरानो देख्नेहरूलाई समाजवादी चीनले हरेक दिन तथा हरेक पल व्यवहारले जवाफ दिँदै छ । मार्क्सवादको खोइरो खन्दै हिँडेकाहरूलाई जीवनदान दिएर या जीवन – रक्षा गरेर गुण लगाउँदै छ । अहा, मार्क्स आज जिउँदै हुनुभएको भए ! मार्क्सले ‘पुँजीवादको उत्थान र पतनको विश्लेषण’ मात्र होइन आफ्नै आँखाले पुँजीवादको पतन देख्नुहुने थियो । अनि, लेख्नुहुने थियो – पुँजीवाद पुरानो, निकै पुरानो भइसक्यो !

७२–७३ को संयोग ! पेरिस कम्युनदेखि चीनसम्म रुसी अक्टोबर समाजवादी क्रान्तिको सफलतापश्चात् सन् १९१७ मा संसारमा पेरिस कम्युनपछिको पहिलो समाजवादी व्यवस्था स्थापना भयो । युरोपको अत्यन्त पछाडि परेको विपन्न देश रुसमा कामदार वर्गको शासनसत्ता स्थापना हुनु विश्व मानव सभ्यताको अभूतपूर्व घटना मान्न सकिन्छ । त्यो युगान्तकारी घटना थियो । रुसी अक्टोबर क्रान्तिको नगराले विश्वलाई हल्लायो । विश्वव्यापी तरङ्ग फैलियो । सुतिरहेका चिनियाँ जनतालाई बिउँझायो । त्यही क्रान्तिले चिनियाँ जनतालाई मार्क्सवादजस्तो सशक्त आधुनिक हतियार तथा समाज बदल्ने सिद्धान्त सुम्प्यो । फलस्वरूप सन् १९२१ मा चिनियाँ कम्युनिस्ट पार्टी स्थापना भयो । रुसमा समाजवाद लागु गरिएको चार वर्षपछि स्थापना भएको पार्टी आज सय वर्षको दिवस मनाउँदै छ । तर, अफसोस्, चिकपाको शतवार्षिकीको साक्षात्कार गर्न त्यो समाजवादी रुस भने आज बाँकी छैन ।
सन् १९७१ को पेरिस कम्युन ७२–७३ दिन टिकेको थियो । पेरिस कम्युन संसारको छोटो तर पहिलो कामदार वर्गको सत्ता थियो । पेरिस कम्युनको रक्षार्थ २०–३० हजार कम्युनार्डहरूले शहादत प्राप्त गरे तर १८ मार्चमा स्थापना भएको पेरिस कम्युन २८ मेमा ढल्न पुग्यो । यद्यपि, पेरिस कम्युनको रातो झन्डाले विश्वलाई क्रान्तिको बाटो देखायो । कम्युनार्डहरूको बहादुरी तथा बलिदानले संसारभर क्रान्तिकारी ऊर्जा सञ्चार गर्याे । सर्वहारावर्गको पनि शासनसत्ता सम्भव छ भन्ने सन्देश दियो ।
लगभग ७२–७३ दिनमात्र टिकेको पेरिस कम्युन स्थापनाको ४६ वर्षपश्चात् रुसमा समाजवादले ठूलो विजय हासिल गर्याे । त्यो सोभियत समाजवाद करिब ७३ वर्ष टिक्यो । केही सैद्धान्तिक विरामलाई सच्याउन सकेको भए सोभियत समाजवादको हार त्यति छिट्टै नहुनेमा कुनै शङ्का छैन । सन् १९१७ मा क्रान्ति सफल हुनेबित्तिकै क्रान्तिका अग्रदूत लेनिनमाथि सन् १९१८ अगस्त ३० को दिन गोली प्रहार भयो । रुसी क्रान्तिको पहिलो दुःखद घटना त्यही नै मान्न सकिन्छ । लेनिनको ज्यान त जोगियो तर बाँकी जीवन अत्यन्त कष्टपूर्ण रह्यो । प्रतिक्रियावादीहरूको मनोबल केही बढ्यो । क्रान्तिपश्चात् समाजवादी निर्माणमा लेनिनले जति बढी नेतृत्व गर्न या योगदान पुर्याउन सक्नु हुन्थ्यो त्यसमा पूर्णविराम लाग्यो ¤ अझ लामो समय रुसी जनताले नेतृत्व पाउँथे तर त्यो सम्भव भएन ! क्रान्तिको सफलताको सात वर्ष पुग्दा–नपुग्दै जनवरी २१, १९२४ मा ५३ वर्षको उमेरमा सोभियत समाजवादका प्रवर्तक लेनिनको देहावसान भयो । लेनिनले सोभियत समाजवादको जगसम्म हाल्न पाउनुभयो । मिर्मिरे बिहानीसँगै रुसी क्रान्तिको एउटा जाज्वल्यमान तारा अस्तायो । रुसी क्रान्तिले व्यहोरेको त्यो एउटा अपूरणीय क्षति थियो ।
लेनिनको निधनपछि जोसेफ स्तालिनले करिब तीन दशक सोभियत समाजवादको रक्षा तथा विकासको महान् अभियानको नेतृत्व गर्नुभयो । दोस्रो विश्वयुद्धमा विजयदेखि संसारको महाशक्ति बनाउनसम्म स्तालिनले नेतृत्व प्रदान गर्नुभयो । तर, विडम्बना, स्तालिनको पनि मार्च ५, १९५३ मा षड्यन्त्रपूर्वक हत्या भयो । स्तालिन त्यतिखेर ७४ वर्षको हुनुहुन्थ्यो । उहाँको निधनपछि सोभियत समाजवाद संशोधनवादी बाटोमा हिँड्यो । तत्कालीन सोभियत नेतृत्वले धोका दियो ।
सन् १९५६ मा चिकपाका अध्यक्ष माओ त्सेतुङ्गले सैद्धान्तिकरूपमा विरोध गर्नुभयो । स्तालिनको हत्या रुसी क्रान्तिका निम्ति अर्को गम्भीर क्षति साबित भयो । सोभियत समाजवाद पाइला–पाइला गरी पतनको बाटोमा हिँड्यो । सोभियत समाजवादले चार दशक पार गर्दा–नगर्दै पुँजीवादकै बाटो अपनाउनाले र नेतृत्वको बेइमानी या विश्वासघातका कारण सोभियत सङ्घ छिन्नभिन्न भयो । महाशक्ति तुच्छ शक्तिमा परिणत भयो । समाजवादले विश्वव्यापीरूपमा क्षति व्यहोर्याे ।
चीनको समाजवादी व्यवस्थाले ७२ वर्ष पार गर्दै छ । चिनियाँ कम्युनिस्ट पार्टीले स्थापनाको शतवार्षिकी भव्यताका साथ मनाउँदै छ । संसारको आधुनिक राजनीतिक इतिहासमा यो अहिलेसम्म नभएको घटना हो भन्नु अतियुक्ति नहोला ¤ चिकपाले अध्यक्ष माओ त्सेतुङको बलियो तथा बुद्धिमानीपूर्ण नेतृत्व चार दशकसम्म पायो । उहाँकै नेतृत्वमा जापानविरोधी लडाइँ, चिनियाँ क्रान्ति र समाजवादी निर्माणको महत्वपूर्ण चरण अगाडि बढ्यो । चिनियाँ क्रान्तिको यो सुखद तथा गौरवशाली पक्ष हो । उहाँले नै चिकपालाई सैद्धान्तिक तथा वैचारिकरूपमा अत्यन्त शक्तिशाली बनाउनुभयो र चिनियाँ जनतालाई त्यसैको आधारमा एकजुट तथा बलियो पार्नुभयो । अन्तर्राष्ट्रिय समुदायसँग सुसम्बन्ध स्थापित गरी चिनियाँ समाजवाद र भूमिको रक्षा सुनिश्चित गर्नुभयो । त्यसैको जगमा ‘चिनियाँ विशेषतासहितको समाजवाद’ निर्माणमा चीन अगाडि बढ्दै छ । भ्रष्टाचारविरुद्धको लडाइँ, गरिबी उन्मूलनमा अपार सफलता, उत्पादनको क्षेत्रमा आश्चर्यजनक उपलब्धि, विज्ञान तथा प्रविधिको क्षेत्रमा महान् फड्को, कोभिडविरुद्ध नयाँ ‘जनयुद्ध’ आदि पछिल्ला ठूला–ठूला घटनाले चीनको वास्तविक तागत छर्लङ्ग पारेको छ । क्षेत्र तथा मार्गको अगुवाइले विश्वको समृद्धि तथा शान्ति हासिल गर्ने चिनियाँ सपना संसारकै सपना हुनुपर्ने आवाज उठ्दै छ । आधुनिक समाजवादी चीन स्थापनाको सय वर्ष पुग्दा अर्थात् २०४९ सम्ममा समृद्ध, सभ्य तथा आधुनिक समाजवादी चीन निर्माण गर्ने चीनको सपना समत्र्न्दा अगावै साकार हुने अनुमान गरिँदै छ । यो सबैका निम्ति अत्यन्त सुखद पक्ष हो ।
विभिन्न भेटघाट, छलफल तथा बहसमा चिनियाँ नेतृत्वमाथि एउटा साझा सवाल तेर्साइन्थ्यो – ‘सोभियत सङ्घको जस्तो दुर्घटना चीनमा नदोहोरिएला भनेर कसरी विश्वास गर्ने ?’ त्यतिखेर अलि मुस्कुराउँदै र अलि गम्भीर मुद्रामा चिनियाँ जिम्मेवार मित्रहरू चिकपाले इतिहासका कमी–कमजोरी, सफलता–असफलताबाट पाठ सिक्दै जनताको सुख–सुविधा तथा सेवाका निम्ति सङ्घर्षरत रहेको बताउँथे । जनताको सुख–दुःखको साथी र जनतासँग जीवन्त सम्पर्क भएको पार्टी हो चिकपा, ती मित्रहरू उदाहरणहरू दिँदै सम्झाउने प्रयत्न गर्थे । चीन पुँजीवादतिर होइन समाजवादको कठिन तर फराकिलो बाटोमै हिँड्छ भनी स्पष्ट पार्थे । चिकपाका महासचिव सी चिनफिङको कुशल नेतृत्वले ती भनाइ सही भएको थप विश्वास दिलाएको अनुभव धेरैले गर्दै छन् ।

स्राेतः अनलाइन मजदुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *