एक घर एक करेसाबारी कार्यक्रम अलपत्र

समाचार

नेपालगञ्ज, २६ कार्तिक


नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर–१, ले सुरु गरेको ‘एक घर एक करेसाबारी’ कार्यक्रम अलपत्र परेको छ । आर्थिक बर्ष ०७५।०७६ शुरु गरिएको अभियान गति लिन नसक्दा कार्यक्रम अलपत्र परेको हो ।अभियानको पहिलो चरणमा २ सय ५० घरबाट सुरु गरिएको ‘एक घर एक करेसाबारी’ कार्यक्रम शुरु गरिएको थियो । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर–१, ले दुर्ई वर्षभित्र सोही वडाका सम्पूर्ण घरमा अनिवार्यरुपमा करेसाबारी भनाइसक्नुपर्ने महत्वाकांक्षी योजना अघि सार्दै वडा कार्यालय आफैले गरेको निर्णय उसलाई घाँडो भएकोछ । फलस्वरु वडा कार्यालय स्वयमले अघि सारेको महत्वाकाँक्षी योजना कार्यान्वयन गर्न सकेन ।अझ वडा कार्यालयबाट सो कार्यक्रमका नाममा खर्चिएको रकम ‘बालुवा पानी खन्याए’सरह भएको छ । खर्च गरिएको भनिएको रकम वडा कार्यालयले सिमित व्यक्तिहरु पोस्नकै लागि मात्र खर्चिएको वडाबासी बताउँछन् ।
वडा कार्यालय स्रोतका अनुसार करेसाबारी नबनाउनेलाई वडाबाट दिने सिफारिस लगायतका सरकारी सुविधा रोक्ने निर्णय गरिएको भए पनि कार्यान्वयन शून्य छ । वडाका २ सय ५० बढी घरमा करेसाबारी बनिसकेको दावी गर्ने वडाध्यक्ष एवं नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले केही एनजिओकर्मीलाई पोस्नकै लागि महत्वाकांक्षी योजना अघि सारेको वडाबासीहरुको आरोप छ । ‘आधाजसो वडाबासीको तरकारी लगाउने जग्गा नै छैन, कसरी ‘एक घर, एक करेसाबारी’ बनाउन सम्भव छ ? के वडा कार्यालयले जग्गा नभएकालाई करेसाबारी बनाउन जग्गा दिन्छ ? आफ्ना नजिकका व्यक्तिलाई पोस्नकै लागि वडाध्यक्षले यस्तो योजना ल्याउनुभएको हो ।’ यस्तो महत्वाकांक्षी र सफल हुनै नसक्ने योजना ल्याउनु उपयुक्त नभएको नाम नखुलाउने शर्तमा एक जनाले बताए ।
वडाध्यक्ष रिजालले कार्यक्रम सुरु गर्दा वडा नम्बर–१, का सबै घरमा करेसाबारी बनाउँदा भारतीय तरकारीमा भर पर्नु नपर्ने समेत बताएका थिए । सो समयमा करेसाबारी कार्यक्रमले जग्गा खाली नभएको समेत बताएका थिए । बुझ्नेहरुका लागि उनको भनाईले ‘आधाजसो वडाबासीलाई करेसाबारी बनाउने जग्गा छैन’ संकेत भन्नेतर्फ गर्दथ्यो ।

करेसाबारी कार्यक्रमसँगै वडा कार्यालयले बीउ वितरण तथा जैविक मल बनाउन समेत सिकाएको थियो । तर, अहिले सबैका घरमा न करेसाबारी छ, न सीप अन्यत्रै काम लागेको छ । न्यूनतम् रकममा कार्यक्रम सञ्चालन गरेर वडाध्यक्षले आफ्ना नजिकका कार्यकर्ता र केही एनजिओकर्मीलाई पोस्नमै ठूलो रकम खर्चिएको वडाबासीहरुको दावी छ ।नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्तासमेत रहेका वडाध्यक्ष रिजालले वडा नम्बर–१, लाई तरकारीमा नमुना बनाउने गरी काम गरिरहेको बताए । रेसाबारीका लागि जग्गा नभएका परिवारका लागि ‘कौशीमा करेसाबारी’ कार्यक्रम पनि वडा कार्यालयले ल्याइएको थियो ।
‘कौशीमा तरकारी’ खेती भने केही महँगो विधि भएको भन्दै अन्तिम समयमा त्यो कार्यक्रम पनि सफल देखिएन । वडा कार्यालयले कृषिविज्ञका रूपमा हेमराज पोखरेल र विन्दु सापकोटालाई नियुक्तसमेत गरिएको थियो । ‘पूर्वतयारी बिना कार्यकर्ता पोस्नकै लागि ल्याइएको महत्वाकांक्षी कार्यक्रम असफल भयो,’ एक जना वडाबासीले भने ।
‘एक र दुई वर्षमै वडाबासीले अन्यत्रको तरकारी किन्नु नपर्ने दावी गरिएको कार्यक्रमले वडाध्यक्ष नजिकका सीमित कार्यकर्ता र केही एनजिओकर्मीबाहेक वडाबासीका लागि उपलब्धीपूर्ण भएन,एक स्थानीयबासीले गुनासो पोखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *