खोकनावासीले गरे प्रस्तावित फास्ट ट्रयाकमा रोपाईं, किसान आन्दाेलन जारी

विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

ललितपुर, १५ असार

असार १५ अर्थात् राष्ट्रिय धान दिवसको अवसर पारी ललितपुरको खोकनावासीले रोपाईं शुरु गरेका छन् । खोकनाका स्थानीय वासिन्दाले मंगलबार पत्रकार सम्मेलन गरी काठमाडौं–निजगढ द्रूतमार्गको प्रस्तावित जिरोकिलोबाट रोपाईं शुरु गरेका हुन् ।

काठमाडौं तराई द्रुतमार्गका लागि अधिग्रहण गरेको क्षेत्रमा रोपाईं गर्दा गत २० असारमा किसान र प्रहरीबीच झडप भएको थियो । रोपाईंका क्रममा भएको झडपमा केही किसान र प्रहरी घाइते भएका थिए । यसपालि पनि आन्दाेलन जारी रहेकाे जनसराेकार समिति खाेकना बुंगमतिले जनाएकाे छ ।

स्थानीय कृष्ण महर्जनले करिब १०० जनाको उपस्थितिमा मंगलबार प्रस्तावित जिरोकिलोमा रोपाईं गरिएको जानकारी दिए । उनले यो सयौं वर्षदेखि आफ्ना पुर्खाले भोगचलन गर्दै आएको र आफ्नो संस्कृति जोडिएको क्षेत्र भएकोले सो क्षेत्रमा फास्ट ट्रयाक बनाउन नदिने बताए ।

द्रुतमार्ग, बाहिरी चक्रपथ, १३२ केभी प्रसारण लाइन आदिले संस्कृतिमाथि प्रहार गरेको र आफूहरूलाई उठीबास बनाएको भन्दै स्थानीयले विरोध गर्दै आएका छन् । अधिकांशले द्रुतमार्गले अधिग्रहण गर्न लागेको जग्गाको मुआब्जा बुझ्न गएका छैनन् । यो विषय सर्वोच्च अदालतमा विचाराधीन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *