स्वास्थ्य सामग्री बोकेर नेमकिपा सचिव सुवाल जुम्लामा

राजनीति विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
जुम्ला, ३ असार

नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवाल स्वास्थ्य सामग्री बोकेर जुम्ला पुगेका छन्। उनी चिनियाँ कम्युनिष्ट पार्टीले दिएको स्वास्थ्य सामग्री बोकेर उनी जुम्ला आइपुगेका हुन्। उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिलाई स्वास्थ्य सामग्री प्रदान गरेको नेमकिपा जुम्लाका अध्यक्ष शिवलाल डाँगीले जानकारी दिए।

नेता सुवालले एन९५ मास्क र हाइड्रोजन अक्सिजन जेनेरेटर मेसिन ल्याएका थिए। उनले भने, ‘जसमध्ये २ हजार ८ सय ८० थान एन ९५ मास्क र १ थान हाइड्रोजन अक्सिजन जेनेरेटर मेसिन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रदान गरिएको छ। दुई हजार मास्क जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समितिलाई उपलब्ध गरिएको छ।’

चिनियाँ कम्युनिष्ट पार्टीले दिएको स्वास्थ्य सामग्री कर्णालीमै पुगेर दिन पाउँदा खुशी लागेको नेता सुवालले बताए। उनले भने,‘अहिले देशमा कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेको छ। रोकथाम र नियन्त्रणको खाँचो छ। यही बीचमा चिनियाँ कम्युनिष्ट पार्टीले दिएको स्वास्थ्य सामग्रीले निकै राहत दिने छ।’

चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा कोभिड रोकथाममा सहकार्य गर्न नेमकिपालाई स्वास्थ्य सामग्री सहयोग स्वरुप प्राप्त भएको हो। जनताको स्वास्थ्य सेवामा अधिकतम प्रयोगका लागि खटिएका अस्पताल तथा प्रतिष्ठानहरुलाई सो स्वास्थ्य सामग्री प्रदान गरिएको उनले बताए।

उनका अनुसार भक्तपुरका ६ वटा अस्पताल र काभ्रे अस्पतालमा प्रदान गरिससकेको छ। जुम्लादेखि विराटनगरसम्मका अस्पतालमा  स्वास्थ्य सामग्री पुगिसकेको छ।

स्वास्थ्य सामग्री बुझ्दै प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर राजिव शाहले उपचारमा रहेका बिरामीका लागि ती सामानको सदुपयोग गरिने बताए। उनले भने,‘कोरोना महामारीको समयमा गरिएको यो सहयोग निकै प्रशंसनीय छ। आगामी दिनमा पनि कर्णालीको स्वास्थ्य क्षेत्रलाई अगाडी बढाउनको लागि साथ र सहयोग रहने अपेक्षा गरिएको छ।’

संविधानसभा सदस्य  डिल्लीप्रसाद काफ्लेले चिनियाँ कम्युनिष्ट पार्टीले प्रदान गरेको स्वास्थ्य सामग्रीले राहत मिल्ने बताए। उनले भने,‘चीनले नेपाली जनताको स्वास्थ्य अवस्थालाई ध्यान दिदै गरिएको यो सहयोगले कोरोना महामारी विरुद्ध लड्ने हौसला प्रदान गरेको छ।  चीनले नेपाल प्रति देखाएको सद्भाव र सहयोगको लागि हामी आभारी छौँ।’

नेमकिपा जुम्लाका अध्यक्ष शिवलाल डाँगीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि  प्रतिष्ठान र अस्पतालमा स्वास्थ्य सामग्री सहित मेसिन भएको बताए। उनले भने,‘यो सामग्रीको सही रुपमा सदुपयोग होस् भन्ने अपेक्षा राखेका छौँ। ’

उपाध्यक्ष राजेश्वर देवकोटाले मित्र पार्टी तथा छिमेकी देशका जनताको सहयोगी भावना समेटिएको उपहार निकै अर्थपूर्ण भएको प्रतिक्रिया दिए।  यो सहयोगले महामारीको विरुद्ध अग्रपंक्तिमा लडिरहेका स्वास्थ्यकर्मीहरुको मनोबल थप बलियो हुनुका साथै हौसला प्राप्त हुने आशा व्यक्त गरे।

नेपाल क्रान्तिकारी शिक्षक संघ जुम्लाका अध्यक्ष नर घर्तीले विश्वव्यापी महामारीका रूपमा फैलिएको दोस्रो भेरियन्टको कोरोना भाइरसबाट संक्रमितलाई अक्सिजनको अभाव हुन नदिन हाइड्रोजन अक्सिजन मेसिन उपलब्ध गरिएको बताए।

नेपाल क्रान्तिकारी युवा संघका जिल्ला अध्यक्ष लालबहादुर बुढाले छिमेकी मितेरी देश चीनबाट सहयोग स्वरुप प्राप्त भएको स्वास्थ्य सामग्रीले संक्रमण नियन्त्रणमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *