आजदेखि फागुपर्व शुरु

कला/साहित्य विशेष समाचार समाचार
देशभर फागु पर्व सुरु

काठमाडौंको हनुमानढोकामा तीनतले चीर ठड्याएसँगै आइतबारदेखि देशभर फागु पर्व (होली) शुरु भएको छ। आइतबार बिहान हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइएको हो ।

पर्व परम्पराअनुसार फाल्गुनशुक्ल अष्टमीदेखि पूर्णिमासम्म ८ दिन फागु मनाउने चलन छ । अन्तिम दिन चीर ढालिएसँगै पर्व समापन गरिन्छ । पहिले–पहिले आठै दिन धुमधामसँग एकाआपसमा रंग, अबिर छ्यापी होली खेलेर वसन्तऋतुको स्वागत गर्ने चलन रहेको संस्कृतिविद्हरू बताउँछन् । पछिल्ला दिन भने पूर्णिमाको दिन मात्रै फागु मनाउने गरिन्छ । यसअनुसार यसपालि चैत १५ गते फागु पर्छ ।

पर्वका अवसरमा हनुमानढोका दरबारको मोहनकाली चोकमा राजा प्रताप मल्लको पालामा बनाइएका श्रीकृष्ण र अर्धनग्न गोपिनीका मूर्तिहरू सजाई अबिर छर्किई पूजा गर्ने चलन छ । पौराणिक मान्यताअनुसार यमुना नदीमा गोपिनीहरू निर्वस्त्र भई नुहाइराखेका थिए ।

त्यसै बेला श्रीकृष्णले गोपिनीका लुगा उठाएर नदी किनारको रुखको हाँगामा झुन्ड्याई बाँसुरी बजाउन थाले । गोपिनीले आफ्नो लुगा पाउन बिन्तीभाउ गर्दा पनि केही लागेन । कृष्णले निर्वस्त्र नुहाएकामा प्रायश्चित् गरेपछि मात्र लुगा दिए । श्रीकृष्णको त्यसै ‘रासलीला’को स्मरणमा गोपिनीहरूको लुगाको प्रतीकस्वरूप रंगीचंगी कपडाका टुक्रा झुन्ड्याई मयलको हाँगा गाड्ने प्रचलन रहेको कथन छ ।

भक्तपुरकाे दतात्रयमा भिमसेन मन्दिरकाे पाटीमा आजैका दिनमा चीर प्रदशर्नीमा राखेसँगै फागु पर्व शुरू भएकाे मानिन्छ ।

चीर गाडिसएँगै हनुमान ढोका दरबार क्षेत्रमा गुरुजुको पल्टनले तोप पडाई हर्षबढाइँ गर्ने र अबिर छर्किई होली पर्वको स्वागत गरेको छ । होली पूर्णिमाको भोलिपल्टदेखि वसन्तऋतु लाग्दछ । यसैले वसन्तऋतुको आगमनसँगै मनाइने यस पर्वलाई मदनोत्सव भन्ने पनि गरिन्छ ।

पौराणिक कथनअनुसार हिरण्यकसिपुले आफ्नै छोरा प्रह्लादलाई मार्न आफ्नी बहिनी होलिकाको काखमा बसाली आगो लगाइदिएका थिए । तर आगोले विष्णुका भक्त प्रह्लादलाई छोएन । बरु होलिका नै भस्म भइन् ।

यसरी होलिकारूपी पापवृत्ति जलेर भस्म भएको सम्झनामा प्रत्येक वर्ष फाल्गुण शुक्लपूर्णिमाको रातमा होलिकाको प्रतीक चीरदाह गर्ने परम्परा रहेको विश्वास गरिन्छ । तराईमा भने पूर्णिमाको भोलिपल्ट होली मनाउने चलन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *