कोरोना परीक्षण गर्ने नयाँ प्रविधि ‘क्रिस्पर टेक्नोलोजी’ नेपालमा पनि प्रमाणिकरणपिसिआर भन्दा छिटो, सस्तो र सहज हुने

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, १ माघ

अमेरिकाले विकास गरेको कोरोना भाइरस संक्रमण पत्ता लगाउने नयाँ प्रविधि क्रिस्पर टेक्नोलोजी नेपालमा पनि प्रमाणिकरण गरिएको छ।

अमेरिकाको म्यासाच्युट इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) विश्व विद्यालयका वरिष्ठ अनुसन्धान वैज्ञानिकको रुपमा कार्यरत नेपाली वैज्ञानिक दिग्विजय राज महतको टोलीद्धारा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नयाँ प्रविधिको कोरोना परीक्षण विधि नेपालमा  प्रमाणिकरण गरिएको हो।

वैज्ञानिक महतका अनुसार स्वास्थ्य मन्त्रालय र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको समन्वयमा नयाँ प्रविधिबाट कोरोना परीक्षण गरिएको हो।

सन् २०२० मा नोवेल पुरस्कार प्राप्त गर्न सफल अमेरिकाको  क्रिस्पर टेक्नोलोजी प्रविधिलाई प्रयोग गरेर एमआइटीका वैज्ञानिकहरुले बनाएको कोरोना परीक्षण गर्ने प्रविधि नेपालमा भित्र्याइएको वैज्ञानिक महतको भनाइ छ।

उनका अनुसार उक्त प्रविधिको प्रमाणिकरणका लागि ३६० जना  व्यक्तिको स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो। क्रिस्पर प्रविधि प्रमाणिकरणका लागि संकलन गरिएको स्वाबलाई पिसिआर विधिबाट पनि परीक्षण गरिएको थियो।

दुवै विधिबाट गरीएको परीक्षणको नतिजा ९८ दशमलब ३३ प्रतिशत समानता देखिएको वैज्ञानिक महतको भनाइ छ।

नयाँ प्रविधिबाट गरिएको परीक्षणले आरटी पिसिआर विधिबाट गरिने परीक्षण विधिजस्तै राम्रो नतिजा देखिएको वैज्ञानिक महतको दाबी छ।

उनले नयाँ विधिबाट गरिएको परीक्षणले पिसिआर विधिबाट कोरोना परीक्षण गरेजस्तै प्रभावकारी नतिजा दिएको र पिसिआर परीक्षण विधिभन्दा छिटो र सस्तो भएको पनि जानकारी दिए।

वैज्ञानिक महतका अनुसार उक्त कोरोना परीक्षण प्रविधिलाई अमेरिकाले आपतकालिन प्रयोगका लागि अनुमति समेत दिइसकेको छ।

पिसिआर परीक्षण विधिभन्दा छिटो नतिजा दिने, सस्तो र प्रभावकारी भएकाले नेपालमा पनि यो विधिबाट कोरोना परीक्षण गर्न उक्त प्रविधि भित्र्याइएको वैज्ञानिक महतको भनाइ छ।

‘अहिले नेपालमा भइरहेको पिसिआर विधिभन्दा क्रिस्पर प्रविधिले चाँडो नतिजा दिन्छ,’ उनले भने,  ‘पिसिआर भन्दा सस्तो छ, यसले मास टेष्टिङ गर्न र दुर्गममा परीक्षण गर्न उपयुक्त छ।’

वैज्ञानिक महतका अनुसार क्रिस्पर प्रविधिबाट स्वाब संकलन गरेर कोरोना परीक्षण गरी नतिजा आउन ७० मिनेट मात्रे लाग्ने पनि जानकारी दिए।

उनले यो विधिबाट कोरोना परीक्षण गर्दा भिटिएम आवश्यक नपर्ने र आरएनए एक्ट्राक्सन पनि गर्न नपर्ने बताए।

यो विधिबाट १० मिनेटमा १९० जनाको कोरोना परीक्षण गर्न सकिने पनि जानकारी दिए।

‘स्वाब लिएदेखि परीक्षणको नतिजा आउन ७० मिनेट मात्रै लाग्छ,’ वैज्ञानिक महतले भने, ‘यसलाई भिटिएमको प्रयोग गर्न पर्दैन, यसलाई पानीमा वा स्लाइनपानीमा राख्न सकिन्छ। यसले गर्दा यो सस्तो पनि पर्छ।’

वैज्ञानिक महतले यो विधिबाट कोरोना परीक्षण गर्न चाहिने किट तथा केमिकलहरु विश्व बजारमा सहज रुपमा पाइने पनि बताए।

अमेरिकाका वैज्ञानिकहरुले यो प्रविधिको आविष्कार गरेदेखि नै नेपालमा लागि उपयुक्त हुने भन्दै आफुहरुले नेपालमा यो प्रविधि भित्र्याउन पहल गरेको वैज्ञानिक महतको भनाइ छ।

उनका अनुसार यो प्रविधि नेपालमा भित्र्याउन अमेरिकाको सिलिकन भ्यालिस्थित च्यारिटियल फाउण्डेशन, सर्लक बायो साइन्सेस नाम कम्पनीको एक लाख अमेरिकी डलरको सहयोगमा, ओपन फिलानथ्रोपी प्रोजेक्टको एक लाख अमेरिकी डलरको सहयोगमा  नेपालमा यो प्रविधि नेपालमा ल्याइएको हो।

अमेरिकामा फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) स्वीकृत प्राप्त टेक्नोलोजीलाई नेपालमा प्रमाणिकरण गर्न नपर्ने भनिए पनि वैज्ञानिक महतको टोलीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नेपाली प्राविधिकहरुलाई नै सहभागि गराएर यसलाई प्रमाणिकरण गरिएको बताए।

वैज्ञानिक महतका अनुसार क्रिस्फर विधिबाट गरिएको परीक्षणको प्रमाणिकरण पछि स्वास्थ्य मन्त्रालयले यो विधिलाई सिमा नाका र अन्तराष्ट्रिय विमानस्थलमा प्रयोगमा ल्याउन उपयुक्त भएको समेत जनाएको छ।

उनले यो विधिबाट कोरोना परीक्षण गर्दा स्वाबलाई पानीमा राखेर रिएजेन्ट मिसाएर ६० डिग्रीको तापक्रममा कागजलाई डुवाएर पनि यसको नतिजा निस्कने जानकारी दिए। यसले गर्दा दुर्गम जिल्लाहरुमा पनि यसको प्रयोग प्रभावकारी हुने वैज्ञानिक महतको भनाइ छ।

उनले क्रिस्फर विधिबाट कोरोना परीक्षण गर्दा एउटै मेसिनलाई १२ घण्टासम्म निरन्तर प्रयोग गर्न सकिने र सो समयअवधिमा ८ देखि १० हजार व्यक्तिको कोरोना परीक्षण गर्न सकिने बताए।

उनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै किट बनाएर प्रयोग गर्न सकिने पनि जानकारी दिए।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले क्रिस्पर टेक्नोलोजी प्रविधिलाई कोरोना परीक्षणको उपयुक्त विधि भएको प्रमाणिकरण गरेको प्रयोगशालाकी निर्देशक डाक्टर रुना झाले स्वास्थ्यखबरलाई बताइन्।

नेपालमा यसको प्रयोग प्रभावकारी हुने देखिएको भएपनि क्रिस्पर विधिलाई प्रयोगमा ल्याउने विषय भने छलफलकै क्रममा रहेको जानकारी दिइन्।

‘क्रिस्पर प्रविधिलाई एक चरणको प्रमाणिकरण गरेका छौं, राम्रै नतिजा दिएको छ, पिसिआर भन्दा छिटो नतिजा दिने पनि रहेछ,’ डा झाले भनिन्, ‘अब यसलाई प्रयोगमा ल्याउने नल्याउने विषय मन्त्रालयकै निर्णयमा भर पर्छ।’

उनले क्रिस्पर प्रविधिलाई स्वीकृती दिने विषयमा छलफल जारी रहेको भन्दै यसको प्रभावकारीता र प्रयोगबारे स्पष्ट नीति बनाएर मात्र ठोस निर्णयमा पुगिने जानकारी दिइन्।

‘यो विधिलाई प्रयोगमा ल्याउने वा नल्याउने भनेर थप छलफल गर्न बाँकी नै छ,’ डा झाले भनिन्, ‘यो विधिबाट कोरोना परीक्षण गर्ने भएपनि कस्तो ठाउँमा कसरी गर्ने सबै  तयारी गर्नुपर्छ। थप छलफल गरेरै अगाडी बढ्नुपर्ने हुन्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *