संयुक्त राष्ट्र सङ्घद्वारा गाजामा पूर्ण युद्धविरामको लागि आह्वान

अन्तर्राष्ट्रिय राजनीति समाचार

न्यूज अपडेट संवाददाता

न्युयोर्क, १४ मङ्सिर (टेलेसुर/अल जजिरा)

संयुक्त राष्ट्र सङ्घद्वारा गाजामा पूर्ण युद्धविरामको लागि आह्वान

 संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले सोमबार ‘गाजा, इजरायल र व्यापक क्षेत्रका जनताको हितका लागि’ पूर्ण युद्धविराम गर्न आग्रह गरेकाे छ।
महासचिव गुटेरेसका प्रवक्ताद्वारा जारी विज्ञप्तिअनुसार संयुक्त राष्ट्र सङ्घका महासचिवले सात हप्ताको द्वन्द्वले ‘विश्वलाई स्तब्ध पार्ने डरलाग्दो क्षति’ गरेकोे बताए।
इजरायल र हमास आन्दोलनले अक्टोबर ७ देखि बन्दी बनाएका इजरायली र विदेशी बन्धकहरूको रिहाइका साथै इजरायली जेलबाट प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने सहमति कार्यान्वयन गर्न चार दिनको सङ्घर्ष विरामले बाटो खोलेको थियो ।
उही समयमा, संयुक्त राष्ट्र सङ्घले तटीय भूभाग गाजापट्टीमा मानवीय सहायताको प्रवाहलाई तीव्र बनाएको र उत्तरका केही क्षेत्रहरूमा आपूर्तिहरू पठाएको थियो, जुन स्थान सात हप्तादेखि विश्वबाट लगभग छुट्टिएकोे थियो ।
“तर यो सहायताले १७ लाख विस्थापित मानिसहरूको ठुलो आवश्यकतालाई पूर्ति गर्दैन । गाजामा मानवीय विपत्ति दिन प्रतिदिन बिग्रँदै गइरहेको छ,” राष्ट्र सङ्घीय महासचिवले चेतावनी दिए।
महासचिव गुटेरेसले रेडक्रसको अन्तर्राष्ट्रिय समितिको महत्वपूर्ण भूमिकालाई उच्च कदर गर्दै यस सम्झौतालाई सहज बनाउन कतार, इजिप्ट र अमेरिकी अधिकारीहरूको भूमिकाको प्रशंसा गरे ।
“संयुक्त राष्ट्रले यी प्रयासहरूलाई हरसम्भव तरिकामा समर्थन गर्न जारी राख्नेछ,” उहाँले पुनः पुष्टि गरे।
यद्यपि, संयुक्त राष्ट्र सङ्घीय प्रमुखले तेलअभिभ र प्यालेस्टिनी प्रतिरोधबिचको शत्रुताको पूर्ण अन्त्यको आवश्यकतामा जोड दिए।
गाजा, इजरायल र सामान्यतया यस क्षेत्रका जनताको हितको लागि, पूर्ण मानवीय युद्धविरामको लागि सम्झौताको नेतृत्व गर्ने वार्ता जारी रहनुपर्छ, उनले भने।
उनले बाँकी बन्धकहरूलाई तत्काल र निःशर्त रिहा गर्न आह्वान गर्दै द्वन्द्व अन्त्य गर्न सबै राज्यहरूलाई आफ्नो प्रभाव प्रयोग गर्न आग्रह गरे।
गुटेरेसले “क्षेत्रको लागि एकमात्र दिगो भविष्यतर्फ अपरिवर्तनीय कदमहरूः दुई–राज्य समाधान, इजरायल र प्यालेस्टाइन शान्ति र सुरक्षामा साथसाथ बस्ने” बन्दोबस्तको समर्थनको लागि आग्रह गरे।
पूर्वी जेरुसेलमसहित वेस्ट बैङ्कमा २३१ प्यालेस्टिनी मारिएः संयुक्त राष्ट्र सङ्घ
अक्टोबर ७ देखि नोभेम्बर २७ सम्म पूर्वी जेरुसेलमसहित वेस्ट बैङ्कमा इजरायली सुरक्षाकर्मीद्वारा २३१ प्यालेस्टाइनी मारिएकामा ५९ बालबालिका रहेका छन्, संयुक्त राष्ट्रसङ्घीय निकाय ओसीएचएले जनाएको छ ।
यसले थप स्पष्ट गरेको छ कि मारिएका २२२ जनालाई इजरायली सेनाले गोली हानेको थियो, आठ जना इजरायली बसोबास गर्नेहरूले र एकलाई सेना वा बसोबास गर्नेहरूले हत्या गरेका थिए ।
सात हप्तामा यस वर्ष मारिएकाको सङ्ख्या कब्जा गरिएको वेस्ट बैङ्कमा हालसम्म मारिएका सबै प्यालेस्टिनीहरूको आधाभन्दा बढी हो ।
ओसीएचएले २००५ मा हताहतहरू रेकर्ड गर्न थालेदेखि हालसम्म, २०२३ वेस्ट बैङ्कमा प्यालेस्टिनीहरूको लागि सबैभन्दा घातक वर्ष भएको छ ।

गाजामा ४६ हजारभन्दा बढी आवासीय भवन ध्वस्त : राष्ट्रसङ्घ
गाजापट्टीभरि २३४००० भन्दा बढी आवास एकाइहरू पनि क्षतिग्रस्त भएको छ, संयुक्त राष्ट्र अन्तर एजेन्सी समूहले नयाँ रिपोर्टमा भनिएको छ ।
यो सानो तटीय भूभागमा आवासीय भवनको ६० प्रतिशतभन्दा बढी हो ।
गाजा सहर र उत्तरी गाजामा विशेषगरी, व्यापक बमबारीले सबै भवनहरूको ६० प्रतिशतभन्दा बढी क्षति पुर्‍याएको छ, “सडकहरू र आवश्यक पूर्वाधारहरू जस्तै विद्युत् प्रणाली र वितरण नेटवर्कहरू, र पानी भण्डारण ट्याङ्कहरू, पाइपहरू, आपूर्ति नेटवर्कहरूमा व्यापक क्षतिको साथसाथै ड्रेनेज च्यानलहरू ध्वस्त भएका छन् ।”, रिपोर्टमा भनिएको छ ।
गाजामा कृषि उत्पादनमा दैनिक १६ लाख डलर घाटा : तथ्याङ्क ब्युरो
यो इजरायली बमबारीका कारण उत्पादनमा रोक लगाइएको परिणाम हो, प्यालेस्टिनी केन्द्रीय तथ्याङ्क ब्यूरो (पीसीबीएस) ले भन्यो ।
कृषि उपकरण नष्ट हुनुका साथै हजारौँ रुख र खेतीयोग्य जमिनलाई ध्यानमा राख्दा क्षति बढी भएको संस्थाले जनाएको छ ।
कृषि क्षेत्र ‘बागबानीका रूखहरू, विशेषगरी जैतुनका रूखहरूबाट खेती गरिएका क्षेत्रहरूको स्तरीकरण’ बाट प्रभावित भएको छ, पीसीबीएसले भन्यो ।
यो विशेषगरी गाजापट्टीको निर्यातको ५५ प्रतिशत कृषि उत्पादन हो भनेर विचार गर्दै गम्भीर छ ।
‘बमबारीले भन्दा रोगले धेरै मर्नेछन्’ : डब्ल्यूएचओ
स्वास्थ्य प्रणाली मर्मत नगरे गाजामा बम विस्फोटले भन्दा धेरै मानिसहरू रोगबाट मर्न सक्छन्, डब्ल्यूएचआले चेतावनी दिएको छ ।
यसैबिच मध्यस्थकर्ता कतारले इजरायल र हमासले थप ४८ घण्टा युद्ध रोक्न सहमत भएको बताएको छ ।
चौथो दिनको आदानप्रदानमा ३३ प्यालेस्टिनीहरूलाई इजरायली जेलबाट मुक्त गरिएको थियो भने रेडक्रसले ११ इजरायली बन्दीहरूलाई रिहा गर्न र स्थानान्तरण गर्न सहजीकरण गरेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *