काठमाडौं उपत्यकामा ४ सहित थप ८ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४६७ पुग्यो

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १० असाेज

नेपालमा एकै दिन ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ६७ पुगेको छ।

७ वटा जिल्लाका ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मृत्यु हुने सबै पुरुष हुन्। सप्तरीमा ६३, काठमाडौंमा २० र ७४, भक्तपुरमा ८८, मकवानपुरमा ७४, ललितपुरमा ७६, रुपन्देहीमा ७२ र कैलालीमा ३० वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

यसअघि शुक्रबार नेपालमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको थियो  । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६५ प्रतिशत छ।

पछिल्लो २४ घण्टामा १ हजार २०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

मन्त्रालयका अनुसार ६ हजार ३३१ जना क्वारेन्टाइनमा छन्। हाल देशभर १८ हजार ३४१ जना सक्रिय संक्रमित छन् भने यीमध्ये ७ हजार ८३३ संस्थागत आइसोलेसनमा छन्। होम आइसोलेसनमा भने १० हजार ५ सय ८ जना छन्।

पछिल्लो २४ घण्टामा १ हजार १४७ निको भएका छन्। योसँगै ५३ हजार १३ जना निको भएको मन्त्रालयले जनाएको छ। यो कुल संक्रमितको ७३.८ प्रतिशत हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *