युट्युब लगायत सामाजिक सञ्जालमाध्यमबाट हुने आम्दानीलाई राष्ट्र बैंकले दियो वैधानिकता

विज्ञान/प्रविधि विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, २ असाेज

युट्युब लगायत सामाजिक सञ्जालमाध्यमबाट हुने आम्दानीलाई राष्ट्र बैंकले दियो वैधानिकता

अनलाइन माध्यमबाट हुने कमाईलाई वैधानिक माध्यममार्फत भित्र्याउने प्रयासस्वरुप राष्ट्र बैंकले सहज व्यवस्था गरेको छ। एक सूचना जारी गर्दै राष्ट्र बैंकले विदेशबाट नेपालमा विदेशी मुद्रा रकमान्तर गर्न सकिनेगरी सहजीकरण गरिएको जनाएको छ।

राष्ट्र बैंकका प्रवक्ता गुणकर भट्टले यसअघिसम्म यस्तो आम्दानी व्यवस्थित हुन नसकेकोले अब व्यवस्थित गर्न वैधानिक माध्यमलाई सहजीकरण गरिएको जानकारी दिए। ‘बैंकिङ सिस्टमबाटै यस्तो रकम आओस् भन्ने उद्देश्यले हामीले यसलाई प्रोत्साहन गर्न र जनचेतना बढाउन खोजेका हौं’ उनले भने।

पहिले यस्तो कमाई कसरी ल्याउने भन्ने अन्याेलता रहँदा वा कुनै डरले हुण्डीमार्फत समेत आउने वा उतैबाट अन्य क्षेत्रमा प्रयोग गरिने भएकाले अब औपचारिक माध्यमबाट ल्याउन सकिनेगरी सहजीकरण गरिएको उनले बताए। त्यस्तै विदेशी रकमलाई नेपालीमा रकमान्तर गर्नका लागि पनि यसले सहजता प्रदान गरेको छ।

नेपालका कुनै यूट्युब च्यानलमा आएका विज्ञापनको रकम, सफ्टवेयरसम्वन्धी कामबाट हुने कमाई, वा अन्य अनलाइनमाध्यममा आएका विज्ञापनवापतको आम्दानी वा कुनै पनि खुद्रास्तरको अन्तर्राष्ट्रिय व्यवसायिक कारोबारवापत हुने आम्दानीलाई वैधानिक र सहज रुपमा ल्याउन सकिने भट्टले बताए।

स्वदेशी बैंकको खातामा विदेशी मुद्रा प्राप्त भए पश्चात भुक्तानी सेवा प्रदायक (बैंक तथा वित्तीय संस्था समेत) ले सञ्चालन गरेको ग्राहकको वालेट लगायत भुक्तानीका उपकरणमा तोकिएको सीमासम्मको रकम स्वदेशी मुद्रामा नै रकमान्तर गर्न सकिनेछ।

उपर्युक्त अनुसार विदेशी मुद्रा आर्जन गर्ने क्रममा तोकिए बमोजिमको शुल्क, रोयल्टी लगायत आवश्यक परी सोको भुक्तानी विदेशमा पठाउनु पर्ने भएमा राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागबाट जारी निर्देशनको पालना गर्नुपर्ने सूचनामा उल्लेख छ।

यद्यपी यस्तो कमाई सम्पत्ति शुद्घीकरण तथा आतंकबादी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी ऐन एवम् प्रचलित अन्य ऐन, कानून तथा निर्देशनको अनिवार्य पालना भएको हुनुपर्नेछ। यसप्रकार सम्पन्न कारोवारहरुको मासिक विवरण तोकिएको ढांचामा महिना समाप्त भएको मितिले १५ दिन भित्र बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *