महावीर पुन नेतृत्वको आविष्कार केन्द्रले बनायो बिग्रिएर थन्किएको १४ वटा भेन्टिलेटर

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २९ भदाै

केन्द्रले नि:शुल्क भेन्टिलेटर मर्मत गर्दा गंगालाल र ट्रमा सेन्टरको करौडौं रुपैयाँ जोगियो

राष्ट्रिय आविष्कार केन्द्रले काठमाडौंका दुई अस्पतालको बिग्रिएर थन्किाएका १४ वटा भेन्टिलेटर मर्मत गरेको छ।

केन्द्रले राष्ट्रिय ट्रमा सेन्टर र शहिद गंगालाल हृदय केन्द्रका ७/७ गरी १४ वटा भेन्टिलेटर मर्मत गरेको हो। केन्द्रले यी अस्पतालका बिग्रिएको भेन्टिलेटर निशुल्क रुपमा मर्मत गरिदिएको हो।

केन्द्रले बिग्रिएर थन्किएको भेन्टिलेटर मर्मत गर्दा करौडौं रुपैयाँ जोगिएको राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा सन्तोष पौडेलले बताए। उनका अनुसार एउटा भेन्टिलेटरको मूल्य करिब २० लाख रुपैयाँ पर्छ। यो हिसाबले आफ्नो करिब १ करोड ४० लाख रुपैयाँ जोगिएको निर्देशक पौडेलले बताए।

उनले भने, ‘यी सात वटा भेन्टिलेटर बिग्रिएको वर्षौं भएको थियो। केन्द्रले निशुल्क रुपमा यी बिग्रिएका भेन्टिलेटरहरु बनाइ दिएको छ। यसले अस्पतालको करौडौ जोगिएको छ।’

यो सँगै हाल ट्रमा सेन्टरमा भेन्टिलेटरको संख्या १७ पुगेको छ।

आफुहरुले सकेसम्म र बनेसम्म भेन्टिलेटरहरु मर्मत गर्ने केन्द्रका अध्यक्ष महावीर पुनले बताए।

उनले भने, ‘बनेसम्म सबै मेसिन बनाउँछौं। थौरै खर्चमा पनि बिग्रिएका मेसिनहरु बन्छन् भने हामी बनाउँछौं।’

हाल विभिन्न अस्पतालले भेन्टिलेटर मर्मतका लागि अनुरोध गरेको समेत उनले जानकारी दिए। बिग्रिएको एउटा भेन्टिलेटर बनाउन १५/२० हजार मात्र खर्च गरे पुग्ने उनले बताए।

उनी भन्छन्, ‘एउटा बिग्रेको भेन्टिलेटर बनाउन १५/२० हजार या ५० हजार रुपैयाँ सम्मको पार्टपुर्जा फेर्दा काम गर्ने रहेछ। थोरै खर्च गरेर १५/२० लाख रुपैयाँ पर्ने भेन्टिलेटर बन्छन् भने किन नबनाउने?’

बिग्रिएको भेन्टिलेटर बनाउन केन्द्रले सक्दो सहयोग गर्ने पुनले बताए।

गंगालल अस्पतालमा पनि थन्किएका भेन्टिलेटर मर्मत गरेपछि सेवा प्रवाहमा सहज भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *