लोकप्रिय बन्दै विद्युतीय घट्ट

अर्थ/वाणिज्य विज्ञान/प्रविधि विशेष समाचार समाचार

न्यूज अपडेट
सल्यान, २९ भदौँ

सल्यानका २९ वर्षका एक युवाले आफै बिद्युतीय घट्ट बनाएका छन् । उनले आफ्नै सिप र क्षमता देखाउदै घट्ट निर्माण गर्न सफल भएका हुन् । सल्यान त्रिवेणी गाउपालिका ३ दाङचुली घर भएका घनश्याम केसीले निर्माण गरेका विद्युतीय घट्ट अहिले सल्यान र रुकुममा गरि १६ स्थानमा सञ्चालनमा रहेका छन् ।
घट्ट बनाए वापत उनले प्रती घट्टको ७० हजार रुपैया लिने गरेका छन । स्थानीय सामग्रीबाट निर्माण हुने घट्ट जाँतोको रुपमा ढुङ्गा प्रयोग गरिएको हुन्छ । अन्य फलाम प्रयोग हुने भए पनि पिध्नको लागि ढुंगा प्रयोग गरिएको हुन्छ । ५ वर्ष देखि सल्लीबजारमा उद्योग सञ्चालन गर्दै आएका घनश्यामले आफ्नै सिपबाट घरका दाजुभाइलाई रुकुम चौरजहारी र सल्यान श्रीनगरमा समेत उद्योग सञ्चालन गरिदिएका छन् ।
पहाडका अधिकांश ठाउमा पानी नपाइने भएको हुनाले आफुले विद्युतीय घट्टको विकास गरेको र त्यसपछि सफल भएको उनले बताए । अहिले उनले सल्लीबजारमा कालिका इन्जिनियर उद्योग सञ्चालनमा ल्याएका छन । उनले दैनिक बिद्युतिय घट्ट बनाउने देखि अन्य मेसिन सम्बन्धि काम गर्ने गरेका छन् । घनश्यामले एक जना युवालाई रोजगारी समेत दिएका छन् ।
बिद्युतिय घट्ट नेपालमै पहिलो भएको उनको दाबी छ । बिद्युतिय घट्ट पहिला आफ्नै घरमा सफल परिक्षण पछि अन्यत्र दिन सुरु गरेको उनले बताएका छन् । बिद्युतिय घट्ट संगै पानी घट्ट बनाएर पनि बिक्री गर्ने गरेका छन । घट्ट निर्माणबाट राम्रो आम्दानी हुने गरेको घनश्यामले बताए ।
बनगाड कुपिण्डे नगरपालिका वडा न ८ ज्यामिरे डांगीमोडका २७ वर्षका राम बहादुर यरीले विद्युतीय घट्ट निकै उपयोगी रहेको बताए । आफुले पनि यहि घट्ट सञ्चालनमा ल्याएको जनाउदै उनले आम्दानी पनि मनग्य हुने गरेको बताउँछन् । साउन देखि सञ्चालनमा आएको घट्टमा अहिले मकैँ, गहुँ पिध्नेको घुइँचो हुने गरेको उनले बताए ।
प्रती घण्टा घट्टले कोदो २० पाथी, गहुँ १५ पाथी र मकै १० पाथी पिस्ने गरेको छ । बिद्युतिय घट्टले पिठो बनाउँदा प्रती पाथी कोदो १५ रुपैया, गहुँ २० रुपैया र मकै २५ रुपैया भाडा लिने गरेको उनले बताए ।
पानी घट्टको लागि टाढा टाढा जानु पर्ने र दुईतीन दिन बास बसेर पिठो लिएर आउनुपर्ने बाध्यता रहेकोमा अहिले उक्त समस्याबाट मुक्ति पाइएको स्थानीय दुजी बुढाथोकीले बताईन् । वर्षाैँदेखी धेरै दुःख भोग्यौँ, तर अहिले घर नजिकै घट्ट हुँदा धेरै सुख भएको छ, उनले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *