न्यूज अपडेट
कालीकाेट, १५ भदाै

कालीकोटको तिलागुफा नगरपालिका– १ नाग्मका ४ घर भत्किँदा एकै परिवारका ४ सहित १० जनाको मृत्यु भएको छ । नाग्म बजारको पछाडिपट्टिको भिरालो जमिन आइतबार बिहान ७ बजेतिर भासिएर पहिरो जाँदा घरभित्रै रहेकाहरू पुरिएका थिए ।
पहिरोमा मृत्यु हुनेहरुमा नाग्म बजारमा व्यापार गरी बसेका ४० बर्षका परेक शाही, उनका छोरा ५ बर्षका निराजन शाही, दुई महिनाको छोरा अक्कल शाही र ७ बर्षकी छोरी हिमा शाही रहेका छन्। सोही पहिरोमै पुरिएर ३० वर्षका टेकबहादुर दमाई, उनकी पत्नी २५ वर्षीया छोइनु दमाई, ६ वर्षीय छोरा गजेन्द्र दमाई, ३५ वर्षीय मनवीर कटुवाल, ४५ वर्षीया आइती खड्का र २३ वर्षका अमृत थापाको पनि ज्यान गएको छ।
पहिरोमा परेर २ जना अझै हराइरहेका छन् । घटनास्थलबाट उद्धार गरिएका २ जनालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लगिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले बताए ।