पछिल्लो २४ घण्टामा तीन जना कोरोना संक्रमितको मृत्यु (मृतकको विवरण सहित) 

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ३२ साउन

गत २४ घण्टामा देशभर तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ सय २ पुगेको छ।

कपिलवस्तु, पर्सा र धनुषाका १÷१ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं ७ का ४० वर्षीय एक पुरुषको उपचारको क्रममा शनिबार मृत्यु भएको छ । ज्वरो, खोकी तथा श्वास प्रश्वासमा समस्या देखिएपनि उनी साउन २९ गते लुम्बिनी प्रादेशिक अस्पताल भर्ना भएका थिए।

कोरोना परीक्षणका लागि उनको सोही दिन स्वाब संकलन गरिएको थियो । उनको शनिबार नै कोरोना पुष्टि भएको हो । उनी तीन महिना अघि भारतबाट आई क्वारेन्टाइनमा बसेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार त्यो बेला गरिएको परीक्षणमा कोरोना नेगेटिभ आएको थियो।

यस्तै, पर्साको वीरगञ्ज महानगरपालिका वडा नं १२ का ६० वर्षीय पुरुषको साउन ३० गते मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या आएपछि उनी साउन २४ गते नारायणी अस्थाई कोरोना अस्पताल गण्डकमा भर्ना भएको मन्त्रालयले जनाएको छ।

उनको अस्पताल भर्ना भएकै दिन कोरोना पुष्टि भएको थियो । मन्त्रालयका अनुसार उनी मधुमेह, उच्च रक्तचाप तथा पक्षघातका बिरामी समेत थिए।

धुनषा जिल्लामा पनि कोरोना संक्रमित एक पुरुषको साउन २९ गते मृत्यु भएको छ । धनुषाको जनकनन्दनी गाउँपालिका वडा नं ४ का ५० वर्षीय पुरुषको थप उपचारको लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको हो।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई साउन २९ गते प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो । थप उपचारका लागि काठमाडौं रेफर गरेकोमा उनको बाटोमै मृत्यु भएको मन्त्रालयले जनाएको छ। उनको साउन २७ गते स्वाब संकलन गरी जाँच गर्दा साउन २९ मा कोरोना पुष्टि भएको हो । उनमा मुटुसम्बन्धी समस्या रहेको मन्त्रालयले जनाएको छ।

१ सय २ मृतकमध्ये ८० पुरुष र २२ महिला छन् । सबैभन्दा धेरै प्रदेश २ मा कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश २ मा मात्र ३३ पुरुष र ११ महिला गरी ४४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ।

बागमतीमा १८, प्रदेश ५ मा १३, प्रदेश १ मा ९, सुदूरपश्चिममा ८, गण्डकीमा ६ र कर्णालीमा ४ जना संक्रमितको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *