अख्तियारमा कसरी छिर्‍यो कोरोना? के भन्छन् पोजिटिभ देखिएपछि प्रमुख आयुक्त घिमिरे?

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ३० साउन

 

‘एकजना संवैधानिक निकाय प्रमुखलाई कोरोना लाग्यो।’

२७ साउनका दिन स्वास्थ्य मन्त्रालयको ‘कोरोना ब्रिफिङ’ अघि नै सामाजिक सञ्जालहरुमा सूचना चुहिसकेको थियो। नभन्दै यो ‘हल्ला’ सत्य ठहरियो। संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नवीन घिमिरे नेपालमा अहिलेसम्मका कोरोना संक्रमितमध्ये ‘हाइ-प्रोफाइल’ व्यक्ति हुन्।

अख्तियार दुरुपयोगबारे अनुसन्धान र मुद्दाको प्रक्रियामा अघि सर्ने एउटा महत्वपूर्ण निकायका प्रमुख नै कोरोनाको चपेटामा परेपछि हामीले अख्तियार मुख्यालयको पछिल्लो अवस्था र कामकारबाहीबारे सोधखोज गरेका थियौं।

‘सम्माननीयज्यूलाई नै कोरोना देखिएपछि हामी सबैमा त्राही मच्चियो नि, यसअघि पनि हाम्रो कार्यालयमा संक्रमित देखिएका थिए’, अख्तियारका एक कर्मचारीले भने, ‘स्वाभाविक रुपमा अघि–पछिको जस्तो काममा गति हुँदैन। सबैको मनोदशा पनि नर्मल हुँदैन। एक प्रकारको त्रासमा छौं।’

पहिलो पटक साउन १६ मा अख्तियारमा कार्यरत एक जना सुरक्षाकर्मीलाई कोरोना पुष्टि भएको थियो। त्यसपछि कार्यालयभित्र एकप्रकारको चिन्ता छायो। लगत्तै प्रहरी मुख्यालयका केही सुरक्षाकर्मीमा पनि कोरोना देखिएको समाचार सतहमा आएपछि अख्तियारभित्रको चिन्ता त्रासमा बदलियो। ‘कारण के थियो भने, ती सुरक्षाकर्मी हालैमात्र प्रहरी मुख्यालयबाट आयोग आएका थिए’, ती कर्मचारीले भने, ‘झन् अख्तियार प्रमुखलाई नै संक्रमण देखिएपछि अख्तियार मूख्यालय तनाबमा छ।’

साउन १८ गते अख्तियारमा सामूहिक रुपमा स्वाव संकलन गरियो। स्वास्थ्य मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पिसीआर परीक्षणका लागि अख्तियार परिसरमा प्रहरी, फिल्डमा खटिएका अनुसन्धान अधिकारीसहित १ सय ८२ जनाको स्वाब संकलन गरेको थियो।

स्वाब संकलन गरेको दुई दिनपछि साउन २० गते अख्तियारमा कार्यरत १५ जनामा कोरोना संक्रमण भएको पुष्टि भयो।  परीक्षण गराएकामध्ये १६७ जनाको रिपोर्ट नेगेटिभ आयो।  शुरुमा अख्तियारबाट प्रहरी प्रधान कार्यालय सरुवा भएका एक सईमा संक्रमण पुष्टि भएपछि अख्तियारमा कोरोना परीक्षण गरिएको थियो।

योसँगै अख्तियारमा उनीहरुको सम्पर्कमा रहेका र अन्य कर्मचारीको कोरोना परीक्षण सुरु भयो। साउन २२ गते अख्तियारकै थप २२ जनामा कोरोना संक्रमण भएको पुष्टि भयो। यसरी संक्रमित हुने अधिकांश प्रहरी थिए।  साउन २७ गते थप रिपोर्ट आयो। उक्त दिनको रिपोर्टमा प्रमुख आयुक्त नवीन घिमिरेको कोरोना पोजेटिभ देखियो। उनीसहित थप ४ जनामा कोरोना संक्रमण पुष्टि भयो। योसँगै अख्तियारमा कोरोन संक्रमितको संख्या ४१ पुग्यो।

कसरी अनुसन्धान हुँदै छ भ्रष्टाचारको ?

अख्तियारमा ठु्लो संख्यामा कोरोना संक्रमित देखापरे पनि सिल गर्ने वा नियमित कामकारबाही रोक्ने कार्य भने भएको छैन। अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरे आफै निवासमा आइसोलेसनमा रहेका छन्।

‘अख्तियारबाट बाहिर कतै नगएका मानिसमा कोरोना देखिएकाले स्वास्थ्य मन्त्रालयले तय गरेको मापदण्ड नै हामीले फलो गरेका छौ’ अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले बताए, ‘अख्तियारमा कोरोना पोजेटिभ भएकाहरूमध्ये एक जनाको मात्र ट्राभल हिस्ट्री छ।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा वासुदेव पाण्डेल बाढीपहिरो उद्धारमा काठमाडौं बाहिर गएका प्रहरीमा संक्रमण देखिएको र संक्रमणको सोही जराका कारण अख्तियार पनि प्रभावित भएको बताए। ‘उनका सहकर्मीमा सरेकाले मन्त्रालयले कन्ट्याक्ट ट्रेसिङ गरेर परिक्षणको दायरा बढाउँदा अख्तियारसम्म पुगियो’ उनले भने।

अहिलेसम्म मलाई लक्षण देखिएको छैन : प्रमुख आयुक्त घिमिरे

अख्तियार प्रमूख घिमिरेले आफू आइसोलेसनमा भएपनि अख्तियारको काम  नरोकिएको बताए। ‘म अहिले निवासमै आइसोलेसनमा छु तर अख्तियारले भ्रष्टाचारको अनुसन्धान रोकेको छैन’ घिमिरेले भने ‘सामाजिक दुरी र सरकारले बनाएको नियम पालना गर्दै आयोगले अनुसन्धान गरिरहेका छ।’

एक आयुक्त नहुँदा पनि काममा बाधा नपर्ने कानुनी व्यवस्था भएकाले अन्य आयुक्तहरुले काम चलाइरहेको उनले बताए। कुनै विशेष परिस्थितिमा भर्चुअल र अन्य माध्यमवाट आफूले कामका बारेमा छलफल गरिरहेको उनले बताए।

‘अहिलेसम्म मलाई लक्षण देखिएको छैन, मन्त्रालयका मान्छेसँग कुराकानी भइरहेको छ ’ अख्तियार प्रमुख घिमिरेले भने, ‘अब केही दिनमा फेरी परीक्षण होला अनि दुई पटक नेगेटिभ आएपछि बिस्तारै म काममा फर्कन सक्छु भन्ने जानकारी पाएको छु।’

आधा–आधा कर्मचारी आलोपालो गर्दै 

अख्तियारमा ९९० जना कर्मचारी कार्यरत थिए।  हालसम्म ४१ जनामात्र संक्रमित भएको र अन्यको रिपोर्ट नेगेटिभ आएको प्रवक्ता घिमिरेले बताए। ‘नेगेटिभ रिपोर्ट आएकाहरु पालो गरि अख्तियारको कार्यालयमा उपस्थित भएर सेवा दिइरहनु भएको छ’ उनले भने, ‘पोजेटिभ आएकाहरु मध्ये प्रमुख आयुक्त होम अइसोलेसनमा र अन्य अस्पतालमा छन्।’

अख्तियारमा ३९ जना सुरक्षाकर्मी , प्रमुख आयुक्त र  एक सवारी चालकमा कोरोना पुष्टि भएको छ।

अख्तियारले स्टिङ अप्रेसन, आयोगमा परेका  उजुरी र विभिन्न सञ्चार माध्यममा आएका सूचनाका आधारमा अनियमिततामाथि अनुसन्धान गर्ने कार्य भने जारी राखेको छ।  कर्मचारीमा कोरोना देखिएपछि पनि अख्तियारले ६ वटा ‘स्टिङ अप्रेसन’ गरेको छ। अख्तियारले यो अवधीमा ६ वटा अभियोगपत्र दायर गरेको छ। एक करोड २४ लाख ९१ हजार रुपैयाँसहित नेपाल विद्युत प्राधिकरण, ढल्केबर ग्रीड शाखा, धनुषाका कार्यालय प्रमुख उप–प्रबन्धक रितेश गुप्तालाई पनि यही बीचमा नियन्त्रणमा लिएको हो।

कोरोना अख्तियारमा, सर्तकता विशेष अदालतमा

अख्तियारमा कोरोना संक्रमण देखिएपछि विशेष अदालतमा सर्तकता अपनाइएको छ। अख्तियार र सम्पत्ति शुद्धीकरण विभागबाट मुद्दा दायर हुने भएकाले संक्रमण फैलिएला भन्ने डरले विशेष अदालतले सतर्कता अपनाउँदै बन्दीबाहेक अन्य मुद्दाको सुनुवाइ रोकेको छ। बन्दीको मुद्दा सुनुवाइ गर्ने र बाहेकको पेशी भदौ १५ गतेसम्मलाई विशेषले स्थगीत गरेको हो।

विशेषले अख्तियारमा कोरोना देखिन थालेपछि सबै कर्मचारीको पिसीआर परीक्षण गरेको थियो। अख्तियारका प्रहरीहरु नै आरोपितलाई लिएर अदालत आउने भएकाले संक्रमण भयो कि भन्ने आशंका गरिएकाले परीक्षण गरिँदा सबै कर्मचारीको रिपोर्ट नेगेटिभ आएको थियो। रिपोर्ट नेगेटिभ आएपछि फेरि पनि संक्रमण हुने जोखिम कायमै रहेकाले सेवामा संकुचन गरिएको विशेष अदालतका रजिष्ट्रार अशोककुमार क्षेत्रीले बताए। भने, ‘अवस्थै यस्तो छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *