थन्थु दरबारको संशोधित नक्साअनुसार भवन निर्माण कार्य अगाडि बढाइने

कला/साहित्य विशेष समाचार समाचार

ज अपडेट संवाददाता
भक्तपुर, २२ माघ


भक्तपुर नगरपालिकाका प्रमुख एवम् थन्थु दरबार पुनःनिर्माण निर्देशक समितिका संयोजक सुनिल प्रजापतिको अध्यक्षतामा बिहीबार समितिको बैठक बसेको छ ।

बैठकले भक्तपुर नपा वडा नं. ३ दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिका कार्यालयको पुरानो भवन रहेको थन्थु दरबारको संशोधित नक्साअनुसार भवन निर्माण कार्यको लागि नियमानुसार प्रक्रिया अगाडि बढाउने निर्णय भएको जनाएको छ ।बैठकमा बोल्दै नगर

प्रमुख प्रजापतिले थन्थु दरबार पुनःनिर्माण कार्यलाई पुरानै मौलिक शैलीमा माटो जोडाइबाट पुनःनिर्माण गर्न सरोकारवालाहरु सहमत भइसकेको बताउँदै थन्थु दरबार भवन पुनःनिर्माण प्राविधिक समितिले पेश गरेको संशोधित नक्साअनुसार दरबारको पुनःनिर्माण प्रक्रिया अगाडि बढाइने बताए ।
प्रमुख प्रजापतिले २०८० मंसिर १२ गते पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानांग, प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवर, वरिष्ठ पुरातत्वविद् कोष आचार्य तथा दुर्हाम विश्वविद्यालयका प्रो. रोबिन कनिङघम, स्मारक संरक्षण एवम् दरबार हेरचाह अडा भक्तपुरका प्रमुख अरुणा नकर्मीसहितको टोलीले थन्थु दरबार पुनःनिर्माण क्षेत्रमा स्थलगत निरीक्षण गर्नुभएको अवगत गराउँदै उनले पुरातत्व विभागसँग समन्वय गरी दरबार पुनःनिर्माण कार्यलाई अगाडि बढाइने बताए ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले थन्थु दरबार पुनःनिर्माण कार्य भक्तपुर नपाको गौरवपूर्ण आयोजनाको रुपमा अगाडि बढिरहेको बताउँदै पुर्खाको प्रविधि पुनर्जीवित गरी नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्य भक्तपुर नपा अगाडि बढिरहेको बताए ।

स्मारक संरक्षण तथा दरबार हेरचाह केन्द्र भक्तपुरका प्रमुख अरूणा नकर्मीले पुरातात्विक हिसाबले थन्थु दरबारको संशोधित नक्सा उपयुक्त भएको बताउँदै दरबार पुनःनिर्माण कार्य माटो जोडाइबाट हुनु प्रशंसनीय भएको बताए ।

इतिहासविद् पुरुषोत्तमलोचन श्रेष्ठले भक्तपुर दरबार क्षेत्रमा अवस्थित ५५ झ्याल दरबार थन्थु दरबारकै भागको रुपमा देखिएको बताउँदै दरबार पुनःनिर्माण कार्य माटो जोडाइँबाट हुनु स्वागतयोग्य कदम भएको बताए ।

बैठकमा प्राध्यापक प्रेमनाथ मास्केले नेपाली इन्जिनियरहरुले नेपाली इन्जिनियरिङको प्रयोग गरी पुनःनिर्माण कार्य अगाडि बढाउनुपर्नेमा जोड दिँदै माटो जोडाइबाट पुनःनिर्माण गर्दा माटोको गुणस्तरमा पनि ध्यान दिनुपर्ने बताए ।

ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य ई. सुनिल दुवालले दरबार पुनःनिर्माण कार्यको संरचनात्मक डिजाइन लगभग पूरा भइसकेको बताउँदै दरबार पुनःनिर्माण कार्य माटोले बनाउने सन्दर्भमा माटोको गुणस्तरको परीक्षण गर्दैआएको, माटोको स्रोत पहिचान र नमुना परीक्षण गर्ने क्रममा रहेको बताए ।
बैठकमा भक्तपुर नपा सम्पदाशाखाका प्रमुख आ. रामगोविन्द श्रेष्ठलेले प्राविधिक समितिले गर्दै आएको कार्य प्रगतिबारे अवगत गराए भने थन्थु दरबार पुनःनिर्माणका आयोजना प्रमुख विजयराम कोजुले थन्थु दरबारको अहिलेसम्मको प्रगतिबारे जानकारी दिएको थियो । साथै प्राविधिक समितिका इ. सरिता धुख्वाले थन्थु दरबारको अवस्थाबारे प्रस्तुतीकरण देखाएको थियो ।

थन्थु दरबार पुनःनिर्माण निर्देशक समितिमा भक्तपुर नपाका जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, संस्कृतिविद्लगायतको प्रतिनिधित्व रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *