न्यूज अपडेट
भक्तपुर, २७ साउन

नेपालमा कम्युनिष्ट पार्टीको स्थापना भन्दा दुई तीन वर्ष अगाडि विश्वमा दोस्रो विश्व युद्ध भएर अमेरिकी साम्राज्यवादले नरसंहार गरेको थियो । आज पनि विश्वको महाशक्ति राष्ट्रको रुपमा अमेरिकाले आफूहरुलाई एक खालको कसैले केही गर्न नसकिने मुलुकको रुपमा मानेको छ । यो अवधिमा थुप्रै परिवर्तन आइसकेको छ । आर्थिक कारण मात्रै होइन कि विश्वका विभिन्न देशमा सेना पठाएर आफ्नो हैकम कायम गरिराख्ने परिस्थिति अमेरिकी साम्राज्यवादी शक्तिलाई आइलागेका कारण यो उनको लागि अति महँगो पनि भइरहेको छ । त्यसैले पनि क्रमशः यो देश पतनतिर गइरहेको महसुस विश्व समुदायले गरिरहेको छ । कुनै बखत चीन अत्यन्तै निरिह र विभिन्न देशको कब्जामा परेको देश थियो । आज आएर चीन अमेरिकी साम्राज्यवादलाई टक्कर दिएर अगाडि बढिरहेको देशको रुपमा देखा परिसकेको छ । जापानसँग लडेर आफूलाई मुक्त गरिरहेको देश चीन, अमेरिकासँग लडेर विकास शून्य अवस्थाबाट परिवर्तन भएर अगाडि बढेको देश जापान आज विश्वको सात वटा विकसित देश जी सेभेन भित्र रहेको छ । यो एक हिसावले साम्राज्यवाद विरुद्ध लडेरै विकास गरेको देश हो ।

अमेरिकी साम्राज्यवादको सोच जसरी भएपनि यो विश्वलाई आफूहरुले भने झैं गरी राख्ने नै हो । कुनै बखत विश्वमा कहिले पनि सूर्य नअस्ताउने देश भनेर बेलायतलाई माने झैं गरी आज अमेरिकाले पनि विभिन्न मुलुकहरुमा सेना र नौसेनाहरु पठाएर त्यहाँ आफूहरुले कब्जा गरी बसेको मात्रै होइन कि त्यहाँको कृषि उत्पादन, सामान र विभिन्न खालका आर्थिक क्रियाकलापमा पनि सक्रिय सहभागी भइरहेको छ । एक हिसावले यो एक देशले अर्को देश माथि गरेको हस्तक्षेप नै हो । त्यसो भएर पनि अन्तर्राष्ट्रिय ब्यापार ब्यवसाय खुला गर्ने रणनीति अनुरुप यो स्वीकृति प्राप्त गरेर काम गरिरहेका कारण कुनै पनि देशले कहिँ पनि कुरा गर्ने स्थान नपाएको हो । होइन भने विश्वलाई त्राही त्राही गरिरहेको अमेरिकी साम्राज्यवादी शक्ति आज विश्व सामु बिदा भइसक्थे । स्वतन्त्र अमेरिकी जनता स्वतन्त्रता प्राप्त गरी स्थानीय रैथानेहरुको हैकम कायम गरेर बस्ने वातावरण भइसक्थे । तर त्यस्तो वातावरण आजसम्म पनि कायम हुन सकेको छैन । अमेरिकी साम्राज्यवाद विरुद्ध पचहत्तर वर्ष अगाडि आणविक हतियारको प्रयोग पहिलो पल्ट भएको बखत अमेरिकाले जापानको हिरोसिमा र नागासाकी भन्ने दुई वटा शहरमा बम बिस्फोट गरेको बखत एक लाख तीस हजार मानिसहरु एक चिहान भएका थिए । मरेकाहरु त मरे । तर तीन लाख पचास हजार मानिसहरु मर्नु न बाँच्नुको अवस्थामा जिए । विश्वमा त्यो बेला साम्राज्यवादी शक्तिको विरुद्ध आवाज घन्काउने शक्ति वा देशको अभावका कारण आज विश्व माझ त्यस खाले साम्राज्यवादी शक्ति समाप्त पार्नका लागि एकिकृत शक्तिको अभाव खड्किरहेको छ ।
हात खुट्टा नभएका, टाउको फुटेका, आगोले अलाप बिलाप गरी बसेका, भुइमा रगत बगाउँदै गुहार मागिरहेका लाखौं लाख जापानीहरुको श्राप आज पनि अमेरिकी साम्राज्यवादले थापिरहेको छ । यस खाले दर्दनाक घटनाको लागि अमेरिकी साम्राज्यवादी शक्ति नै पूर्ण रुपमा दोषी छ । सीधा दुष्मनी नभएपनि अमेरिकी साम्राज्यवादी शक्तिलाई सखाप गर्न सकिने विश्वको नयाँ शक्ति कम्युनिष्ट शासन पद्धति रुसमा लागू भइसकेको अवस्थामा जापानमा पनि त्यसको प्रभाव पर्ने डरले मात्रै जापान ध्वस्त गरी अमेरिकी साम्राज्यवादले आफ्नो ताण्डब नृत्य त्यहाँ प्रदर्शन गरेको थियो । हेर्दा हेर्दै आकास कालो बादलले ढाकेको, शहर भरी आगोको मुस्लो देखा परेको, हजारौं मानिसहरु खरानीमा परिणत भएको, रक्ताम्य भएर कति मानिसहरु सडकमा कुडिरहेको यो भयानक दृष्य अकल्पणीय थियो । त्यस्तो दृश्य देख्ने कतिपय जापानी ज्येष्ठ नागरिकहरुले आज पनि अमेरिकी साम्राज्यवादलाई थुक्ने क्रम जारी नै छ । त्यस्तो दर्दनाक दृष्य अब कहिल्यै हेर्न नपरोस् भनी कामना गरिरहेका छन् । त्यो अगस्ट ९ का दिन जापानको ठूलो शहर नागासाकीमा भएको घटनालाई लिएर जस्तै बिरोध गरे पनि पुग्दैन । अमेरिकी साम्राज्यवादको प्रभावका कारण आज सम्म पनि सो स्थानमा घाँस सम्म उम्रन कठिन पर्ने समस्या छँदैछ । त्यसो भएर पनि ७५ वर्ष अगाडि भएको हिरोशिमाको बम आक्रमणको यो घटनालाई आज पनि विश्वले मानव इतिहासको सबैभन्दा निन्दनीय र कालो दिन मानेका छन् ।
अमेरिकी साम्राज्यवादले त्यो बेला चीन लगायत उत्तरपूर्वी एसियाका कतिपय देशमा कब्जा गरिरहेको थियो । दोस्रो विश्व युद्ध भएको बखत जर्मनी, इटाली, जापानले संयुक्त एक्सीस फोर्स खडा गरेका थिए । अनि संयुक्त राज्य अमेरिका, बेलायत, फ्रान्स, सोभियत संघ समेत अलाइट भनी मोर्चाबन्दी भएको थियो । त्यसमा पनि आफूहरुको प्रमुख दुश्मन नभएको स्वतन्त्र देश जापानमा बम बर्षाएर आज जस्तै अमेरिकी साम्राज्यवादले पश्चिमा दर्शनको उत्कृष्ट दर्शन कम्युनिष्ट धारलाई निमित्यान्न पार्न खोजेको थियो । अमेरिकी साम्राज्यवादले पहिलो विश्वयुद्धको कारण समाजवादी मुलुकको रुपमा देखा परेको सोभियत संघको प्रभाव जापान सम्म पुग्ला भनी तर्सेर आफ्नो जिम्मामा नपरेको जापानको हिरोशिमा र नागासाकी शहरमा आणविक बम बिस्फोट गरी कहिल्यै विश्वमा नदेखिएको नरसंहारको उदाहरण प्रस्तुत गरिदिएको थियो । यसरी जापानमा कम्युनिष्ट झण्ड नफहराओस् भनेर नै यस्तो हडकड त्यो बेला अमेरिकी साम्राज्यवादी शक्तिले देखाएको भएपनि विश्वका विभिन्न देशहरुमा भने सबैभन्दा पछिल्लो र वैज्ञानिक बादको रुपमा रहेको माक्र्सवादको धारणाले प्रेरित कम्युनिष्ट विचार शक्ति भने आजसम्म धमाधम अगाडि बढिरहेकै छ ।
सन् १९४५ को अगस्ट महिनामा अमेरिकी साम्राज्यवादी शक्तिको सेनाले जापानलाई आक्रमण गरी सो देशलाई आत्मसमर्पण गराउने सोच बनाएको हो । त्यसैले अपर्झट कसैले चालै नपाइकन आकासबाट सो बम हानेको थियो । जुन बमको प्रभावले यति धैरै क्षति हुन्छ भन्ने स्वयम् बम हान्ने एक युवा सैनिक अफिसरलाई समेत थाहा थिएन । आज पनि अमेरिकी साम्राज्यवादको प्रभाव विश्वभर छ । चाहेको खण्डमा जे पनि गर्न सकिन्छ भन्ने हैकम देखाउन श्रद्धाम हुसेनलाई खतम गर्यो । लिबिया ध्वस्त पार्यो । ओसामा विन लाडेनलाई मार्यो । अमेरिकी साम्राज्यवादले कम्युनिष्ट प्रभावलाई छेक्ने नियतले लाखौं मानिसको ज्यान लिएको भएपनि विश्वमा आज सम्म पनि अमेरिकी साम्राज्यवादको विरुद्ध जनलहर भने चलि नै रहेको छ । आफूले बनाएको एटम बमको प्रभाव के कति होला भनी प्रमाणित गर्नको लागि पनि एक हिसाबले प्रयोगको रुपमा जापानले यो बम बिस्फोट गराएको हो भन्ने त्यो बेलाका इतिहासकारहरु बताउँछन् ।