मेलम्ची सुरूङको ढोका डिजाइन र निर्माणमा गम्भीर त्रुटि, रिभ्यू नगरी पानी परीक्षण नगरिने

अर्थ/वाणिज्य विशेष समाचार समाचार स्वास्थ्य

 

न्यूज अपडेट
काठमाडौं, १४ साउन


मेलम्ची खानेपानी आयोजनाभित्र सुरूङका अडिट ढोका डिजाइन र निर्माणमै गम्भीर प्राविधिक त्रुटि भएको पाइएको छ।खानेपानी मन्त्रालयले गठन गरेको प्राविधिक अध्ययन समितिले बुझाएको प्रतिवेदनअनुसार पानी परीक्षणका क्रममा ढोका नम्बर १७ खुल्नुमा गम्भीर प्राविधिक त्रुटि रहेको औंल्याइएको छ।
असार ३० गते सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर १ स्थित अम्बाथानमा रहेको ढोका नम्बर १७ एक्कासी खुलेपछि आयोजनाका चार जनालाई बगाएको थियो। सुरूङभित्र पानीको चाप परीक्षण गर्न पुगेका इञ्जिनियर सतिशकुमार गोइतको मृत्यु भएको थियो। चालक राधाकृष्ण थापा मगर अझै बेपत्ता छन्। उनको खोजी जारी छ। घाइते इञ्जिनियर शेखर खनाल र सर्भे सहायक पेम्बा दोर्जे तामाङ उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। यस्तो घटना हुनुमा सुरूङभित्रका ढोका डिजाइन र निर्माणमा गम्भीर त्रुटि देखिएको घटनास्थल पुगेर अध्ययन गरेका प्राविधिक समितिका संयोजक, खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीले सेतोपाटीलाई बताए।
अध्ययन प्रतिवेदन मंगलबार मन्त्रालयका सचिव माधव बेल्वासेलाई बुझाइएको छ,’ दुवाडीले भने, ‘मुख्य गरी ढोकाको नटबोल्ट राम्रोसँग फिटिङ नभएको एउटा पाटो रह्यो। अर्को पक्ष भने ढोका जसरी निर्माण गर्ने पहिलेको डिजाइन हो त्यो योजना परिवर्तन गरेर निर्माण गरेको रहेछ।’ ढोकाको नटबोल्ट राम्रोसँग फिटिङ नहुँदा सुरूङभित्रको पानी चाप थेग्न नसकेर बाहिर निस्केको प्राविधिक अध्ययन समितिको भनाइ छ।
‘ढोकाको डिजाइन हुँदा पानीको प्रेसर थेग्नका लागि र नटबोल्टमा धेरै भार नपर्नका लागि गेटभित्र (सुरूङतर्फ)नै खुल्ने गरी डिजाइन हुनु पर्नेमा त्यो योजना परिवर्तन गरेर ढोका बाहिर खुल्ने गरी डिजाइन र निर्माण गरिएको पाइयो,’ सहसचिव दुवाडीले सेतोपाटीसँग भने।
ढोकाबाहिर खुल्ने गरी गरिएको डिजाइन, निर्माण र फिटिङको असर के हुन्छ भन्नेबारे आयोजनाले लेखाजोखा गर्न नसकेको पनि अध्ययन समितिको निष्कर्ष छ।
बाहिर खुल्ने गरी गेट फिटिङ भएको देखिन्छ। त्यसको असर लेखाजोखा गर्न नसकिएको देखियो। बाहिर खुल्दा ढोकाको डिजाइन र निर्माणमा त्यही किसिमको संशोधन हुनु पर्नेमा त्यो ख्याल नगरिएको देखियो,’ उनले भने।
ढोकाको डिजाइन र निर्माण गुणस्तरीय बनाउन कन्ट्र्याक्टर, कन्सल्ट्यान्ट र आयोजनाले राम्रोसँग विचार गर्न नसकेको अध्ययनबाट देखिएको उनले जानकारी दिए।
कन्ट्र्याक्टर, कन्सल्ट्यान्ट र आयोजनाले राम्रोसँग विचार गरेर दीगो हुने गरी गुणस्तरीय ढोका निर्माण गर्नुपर्छ। प्राविधिक त्रुटि सच्याउने गरी उहाँहरूले सायद काम गर्दै हुनुहोला,’ उनले भने, ‘सुरूङभित्रका ढोका दीगो, जोखिमरहित र गुणस्तरीय बनाउनुपर्ने देखिन्छ।’
अम्बाथानभित्रको गेट नम्बर १७ सहित मेलम्ची सुरूङको करिब २७ किलोमिटरमा चार ठाउँमा अडिट गेटभित्र यस्तै खालका ढोका छन्।
‘यस्तै खाले दुर्घटना अन्त कहीँ हुनुभएन,’ उनले भने, ‘गेट निर्माण सुधार गर्नुपर्‍यो। अन्त पनि गेट नम्बर १७ जस्तै डिजाइन, निर्माण गरिएको हो भने ती पनि रिभ्यू गर्नुपर्छ भन्ने हाम्रो ठम्याइ छ।’दुवाडी संयोजकत्वको समितिले अनुसूचीबाहेक २५ पेज लामो प्रतिवेदन मन्त्रालयलाई बुझाएको छ।
आफूहरूले बुझाएको प्रतिवेदनमा मुख्य गरी गेट निर्माण गुणस्तरीय रूपमा गर्न र सबै गेटका डिजाइन र निर्माणको अवस्था रिभ्यूपछि मात्रै सुरूङमा पानी परिक्षणका काम गर्न आयोजनालाई सुझाव दिइएको उनले जानकारी दिए। सुरूङभित्र पानीको प्रेसरलगायतका अवस्था हेर्नका लागि वैकल्पिक व्यवस्था गर्न पनि सुझाव दिइएको छ।
‘यस्ता खाले मानवीय क्षति हुन नदिनका लागि रिमोट कन्ट्रोलबाट पनि सुरूङभित्रका अवस्था हेर्न मिल्ने गरी सूचना प्रविधिको प्रयोग गर्न सुझाव दिइएको हो,’ उनले भने, ‘ढोका नम्बर १७ खुलेर पानी बाहिर निस्कदा इञ्जिनियरसहित प्राविधिक सुरूङभित्रै रहेकोले मानवीय क्षति भएको हो। सूचना प्रविधिको प्रयोग गर्न सकिएको भए यस्ता क्षतिबाट बच्न सकिन्थ्यो। ढोका खुल्यो भने पनि कन्ट्र्याक्टरले बनाइहाल्थे।’
गामथुम, सिन्धु, सुन्दरीजल र अम्बाथाममा गरी यस्ता चार वटा अडिट छन्।अन्यत्र पनि यसरी नै गेट डिजाइन गरिएको हो भने रिभ्यू हुनुपर्छ। रिभ्यू नभएसम्म सुरूङमा पानी परीक्षण नगर्न उपर्युक्त हुन्छ,’ उनले भने। मेलम्ची सुरूङको काम चिनियाँ सिनो हाइड्रो कम्पनी र गेटलगायत निर्माण कार्य भारतको प्रिसिजन इन्फाट्रिक कम्पनीले गरेको हो। प्राविधिक आधारबिना सुरूङका ढोका डिजाइन र निर्माण गरिएकोले त्यो सच्याउनु पर्ने समितिको निष्कर्ष छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *