वागीश्वरीमा संविधान दिवसको अवसरमा प्रवचन

विशेष समाचार शिक्षा समाचार

भक्तपुर, ३ असोज


वागीश्वरी कलेज तथा माविको आयोजनामा संविधान दिवसको अवसरमा बुधबार प्रवचन कार्यक्रम गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख एवं वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले विदेशमा स्थायी बसोबास गरी बसेका नेपाली र जन्मको आधारमा नागरिकता पाएका नागरिकका सन्तानलाई वंशजको नागरिकता प्रदान गर्ने कानूनले देशको सार्वभौमिकतामा खतरा हुने संकेत दिएका छन् ।
संघीय संसदमा दुई तिहाई मत पाएको वर्तमान नेकपाको सरकारले संविधानतः समाजवादी ऐन कानून निर्माण गरी देशलाई समाजवादउन्मुख दिशातिर अगाडि बढाउनुपर्नेमा त्यसको विपरीत विभिन्न विकास निर्माणका कार्यहरु विदेशी कम्पनीलाई सुम्पिनु, निजी विश्वविद्यालयलाई स्वीकृति प्रदान गर्नुले नक्कली कम्युनिष्ट भएको प्रमाणित गर्ने उनको भनाइ छ ।
उनले भने, ‘नेकपाका नेतृत्वले चीन भ्रमण गर्नुपूर्व भारतको भ्रमण गर्नु भारतीय दलालीको शिलशिला हो ।’
भक्तपुर नगरपालिकाले यो आर्थिक वर्षमा हाल दुर्लभ मानिएका विषयहरु भूगोल, इतिहास, राजनीतिशास्त्र, संस्कृति पढ्ने विद्यार्थीहका लागि छात्रवृत्ति प्रदान गर्ने साथै एमडी गरेका डाक्टरहरुको अभावलाई पूर्ति गर्नका लागि पनि ५ वर्ष ख्वप अस्पतालमा काम गर्नुपर्ने शर्तसहित एमडी पढ्नका लागि छात्रवृत्ति प्रदान गर्ने निर्णयबारे उनले जानकारी दिए ।


नेपाल क्रान्तिकारी शिक्षक संघका केन्द्रीय अध्यक्ष एवं विद्यालयका सहप्राचार्य ज्ञानसागर प्रजापतिले संविधानतः आधारभूत तहसम्मको शिक्षा निःशुल्क र अनिवार्य भनिएतापनि राज्यले शिक्षामा बजेट घटाउँदै लग्नुले सिद्धान्त र व्यवहार बेमेल भएको बताए ।
देश कोल्टे फेर्न लागिएको वर्तमान समयमा परिवर्तनका संवाहक मानिने शिक्षक शिक्षिकाहरुले देशको राजनीतिक परिवर्तनबारे सचेत बन्न उनले आग्रह गरे ।
विद्यालयको कानून शिक्षकहरु पुरुषोत्तम ग्वाछा र विकल प्रजापतिले देशमा लागू भएको नयाँ कानूनबारे जानकारी दिए ।
विद्यालयका प्राचार्य कृष्णप्रसाद धन्छाको सभापतित्वमा भएको कार्यक्रममा कलेजका प्राचार्य धनकुमार श्रेष्ठ र शिक्षक राजन चौगुठीले पनि संविधान दिवसबारे आफ्नो विचार राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *