सरकारले लकडाउन खोल्ने निर्णय पूर्वतयारीकासाथ गरेन : कांग्रेस

राजनीति विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १० साउन

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारको लकडाउन खोल्ने निर्णय पूर्व तयारीका साथ गरेको नभएर राजस्व बढाउन गरिएको निर्णय भएको आरोप लगाएको छ ।

कांग्रेसको कोभिड १९ अनुगमन समितिले शुक्रबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै लकडाउन खोल्ने निर्णय राज्यले निर्वाह गर्नु पर्ने दायित्वबाट पन्छिने उद्देश्यबाट मात्र प्रेरित भएको समेत जनाएको छ ।

लकडाउनको अवधिलाई महामारी नियन्त्रण र यसपछि जनजीवन सुचारु गर्ने तर्फ पर्याप्त ध्यान नदिएको समितिको भनाई छ । सरकारले समयमै गम्भीरता नराख्दा यो महामारीको जोखिम अप्रत्याशित रुपमा तीव्र गतिमा बढ्दै जाने सम्भावना देखिन्छ ।

पत्रकार सम्मेलनमा समितिका संयोजक एवं कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले लकडाउन खोल्ने निर्णय गर्दा सार्वजनिक स्थल, होटल, रेष्टुरेन्ट, कार्यालय, कलकारखाना व्यवसाय, शैक्षिक संस्थाहरु, सार्वजनिक यातायातहरुमा अपनाउनु पर्ने सुरक्षा प्रोटोकल र कार्यान्वयन गर्ने तयारीका बारेमा सरकार मौन रहेको बताए ।

उनले संक्रमणको क्रम नघटेको, वीरगञ्ज, राजविराज लगायतका ठाउँहरुमा देखिएको संक्रमणको प्रकृतिले, संक्रमण समुदायमा फैलिन सक्ने देखिएको भन्दै परिक्षण, ट्रेसिङ, उपचार, स्वास्थ्य उपकरण, जनशक्ति र स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षा र सुविधा प्रति सरकारको तयारी अत्यन्त निराशाजनक रहेको उल्लेख गरे ।

कांग्रेसको पटक–पटकको ध्यानाकर्षणको वावजुद होल्डिङ सेन्टर, क्वारेन्टाइन केन्द्रहरुलाई मापदण्ड अनुरुप संचालन गर्ने र परीक्षणको दायरा फराकिलो पार्नु पर्ने आवश्यकतालाई सरकारले गम्भीरताका साथ नलिएको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *