भृकुटीमण्डप बजार सुनसान, व्यवसायीहरू पसल खोल्छन्, ग्राहक कुर्छन् र साँझ निराश हुँदै फिर्छन्

अर्थ/वाणिज्य समाचार

न्यूज अपडेट

काठमाडाैं, २८ असार

लुगा-कपडा, जुत्ता-चप्पल, इलेक्ट्रोनिक्स सामान। सस्तो खोज्नेले पुगिरहने काठमाडौंको सजिलो बजार हो भृकुटी मण्डप। एउटै थलोमा १२ सयवटा पसल भएको बजारमा ग्राहक तानातान नै चल्थ्यो। लकडाउनको तीन महिनापछि खुलेको यो खुद्रा बजार यतिबेला सुनसान छ।

पसले पुग्छन्, आफ्ना स्टल सफा गर्छन्। केही घण्टा ग्राहक कुर्छन् र बन्द गरेर निराश हुँदै डेरा फर्कन्छन्। आधाभन्दा बढी पसलको खुल्ने अझै सुरसार देखिँदैन। लकडाउन लगत्तै राजधानीबाट बाहिरिएका व्यवसायी नफर्केकाले उनीहरू आफ्ना पसलमा पुग्न नपाएका हुन्। त्यसैले अधिकांश स्टलमा पोको पारेका सामान देखिन्छन्, पसले देखिँदैनन्।

असार १ गतेबाट अन्तका बजार खुले पनि भृकुटी मण्डप भने दुई सातापछि मात्र खुलेको हो। कोरोना भाइरसको महामारी फैलिरहँदा व्यवसायीहरुले सामाजिक दुरी कायमसहित बजार खुलाएको काठमाडौं निम्नवर्गिय व्यापार संघका उपाध्यक्ष गोविन्द पौडेलले बताए। ‘संघले लकडाउन भरिका लागि विहान १० बजेदेखि साँझ ६ बजेसम्म बजार खुल्ला गर्ने व्यवस्था गरेको छ,’ उनले भने, ‘बजार खुल्यो, ग्राहकहरू फाट्टफुट्ट आउन थालेका छन्।’

उनका अनुसार भृकुटी मण्डप खुद्रा बजारमा करिब १२ सय स्टल छन्। लकडाउन अघि बजारबाट  महिनाको स्टल भाडावापत १२ देखि १५ लाख रुपैयाँ उठ्ने गरेको थियो।

राजधानीकै पुरानो खुद्रा बजारका रूपमा रहेको भृकुटी मण्डपमा व्यवसाय गर्नेमा अधिकांश बाहिरीबाट काठमाडौं आइबसेकाहरू छन्। लकडाउन सुरू भएयता घर गएकामध्ये अझै धेरैजना फिर्न बाँकी छ। लकडाउनमा पनि काठमाडौं नछाडेकाहरूले आआफ्नो पसल खोल्न थाले पनि व्यापार छैन। त्यसैले भृकुटी मण्डप खुद्रा बजारका निकै कम स्टल खुलेका छन्।

‘बजार खुलेको ८ दिनमा ३ दिनमात्र बोहनी भयो,’ व्यवसायी रुपक लामिछानेले भने, ‘लकडाउन खुकुलो भए पनि बस चल्न पाएको छैन। हाम्रा ग्राहक भनेका मध्यम र निम्नवर्गिय हुन्। गाडी नचल्दा मान्छे आउने कुरै भएन।’ सरकारले निजी सवारी साधन चलाउन दिए पनि जोरबिजोरको नियम लगाउँदा ग्राहकका साथै पसल खोल्न आउने व्यवसायीलाफ समेत अप्ठयारो भएको लामिछानेले बताए।

फागुनमा गर्मिका केही सामान ल्याएका पसलेले चैत दोस्रो सातादेखि लकडाउन सुरू भएकाले बेच्न पाएनन्। ग्राहक नआउँदा आआफ्नो पसल खोल्न थालेका व्यवसायीले पनि नयाँ सामान ल्याएका छैनन्।

‘अरूले पसल खोल्न थालेपछि आफूले पनि खोलियो। दिनभरि कुराइ मात्रै छ, व्यापार छैन,’ व्यवसायी रामप्यारी भण्डारीले भनिन्, ‘दिनमा १५/२० हजारको कारोबार हुन्थ्यो, यतिबेला पसल खोल्यो, बन्द गर्‍यो। हात खाली छ।’ सार्वजनिक यातायात खुलेर जनजीवन सहज नभएसम्म भृकुटीमण्डपको बजारले ग्राहक पाउन गाह्रो रहेको उनले बताइन।

‘व्यापार हुन्छ की भनेर पसल खोल्न आउन थालियो, न खाजा खर्च उठ्छ न त गाडी भाडा,’ उनले भनिन्, ‘गफ गरेर र मोबाइलमा गेम खोलेर बस्नु परेको छ।’ व्यापार नहुने भएकाले निकै कम पसल खुलेको उनले बताइन।

बिहेका सारी, पार्टी वेयर र लेहेंगाको धेरै बिक्री हुने भनेकै चैत र बैशाखको सिजन हो। ‘लकडाउनले व्यापार हुने समय सक्कियो। अब साउन र भदौमा केही होला की भन्ने आशा छ,’ अर्का व्यवसायी लालबहादुर प्रसादले भने। ‘बजार खुलेपछि व्यापारै भएन भन्नु परेको छैन, तर निकै कम छ,’ उनले भने, ‘२५/३० हजारको कारोबार हुनेमा कुनै दिन ४/५ हजार हुँदैछ, कुनै दिन सुक्को छैन।’

यहाँका जुत्ता-चप्पल पसलको अवस्था पनि उस्तै छ। पसल खोलेर ग्राहक कुर्नु बाहेक विकल्प नभएको व्यवसायी नवीन ढुंगानाले बताए। ‘पहिले जस्तो ठ्याक्क टाइममा पसल खोल्नु पर्दैन, व्यापार नै नहुँदा जतिबेला खोले पनि हुने भएको छ,’ उनले भने, ‘केही समय बस्दा पनि ग्राहक आएनन् भने बन्द गरेर हिड्ने गरिएको छ।’

पसल खोले पनि तीन दिनदेखि बोहनी नगरी बसेको रेडिमेड लुगाका व्यवसायी सुजन पाण्डेले बताए। ‘ग्राहक आइहाले आफ्नो नाफा नै नराखी पनि बेच्नै पर्ने अवस्था छ,’ उनले भने, ‘कारोबार नभएपछि घरमा बस्न र यहाँ आएर बस्नु केही फरक छैन।’ ४ सयदेखि ८ हजार रुपैयाँसम्म पर्ने रेडिमेड लुगा-कपडा बेच्दै आएका उनी पहिले दैनिक २०/२५ हजारसम्म व्यापार हुने गरेका दिन सम्झँदै बस्नु परेको बताउँछन्।

‘आएर पसल खोल्यो, बस्यो गयो, व्यापार छैन, बिजुलीको बिल र भाडा पाकिरहेको छ,’ व्यवसायी माया लावतीले भनिन्, ‘भाडा पनि बेलामा नबुझाए १० प्रतिशतले जरिवाना लाग्दै जान्छ, त्यसको पो पीर छ।’

पहिले सामान झुण्ड्याएर ग्राहक आकर्षित पारेर बस्ने व्यवसायी यतिबेला आधा स्टल सामान राखेर बसेका छन्। स्टल बन्द भइरहँदा सामान बिग्रने हुनाले व्यापार नभए पनि खोल्न आउने गरेको व्यवसायी विनाता श्रेष्ठले बताइन।

यहाँका व्यवसायीहरूका अनुसार तुलनात्मकरूपमा राजधानीका अन्य बजारभन्दा भृकुटीमण्डप खुद्रा बजारको स्टल भाडा सस्तो छ। स्टल अनुसार प्रतिस्क्वायर फिटमा भाडा दिने गरेकाले अधिकांशले मासिक १० देखि १५ हजार रुपैयाँ तिर्छन्। स्टल भाडासँगै व्यवसायीले सरसफाइ, बिजुली र सुरक्षाको पैसा पनि तिर्नुपर्छ।

लकडाउन सुरू भएयता व्यवसायीले चैतदेखि भाडा बुझाएका छैनन्। व्यापार बन्द रहेको अवधिको भाडामा व्यवसायीलाई छुट दिने नदिने विषयमा निर्णय भइसकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *