‘छाला उपचारका नाममा भइरहेको गलत अभ्यास रोक्नुपर्छ’

विशेष समाचार समाचार स्वास्थ्य
 न्यूज अपडेट संवाददाता
काठमाडाैं, ३१ जेठ

डा धर्मेन्द्र कर्ण,

अहिले छालाको उपचारमा नेपाल मात्र होइन, संसारभर नै ब्ल्याक मार्केटिङ भइरहेको छ। नेपालमा अलिकति बढी भयो। हामीकहाँ अनुहार पीडितहरु धेरै आउनुहुन्छ। अनुहारमा दाग आएको थियो, म फलानो पार्लरमा गएँ, उहाँहरुले केके क्रिम दिनुभयो, लगाएँ, सेरम लगाएँ, फेसियल गरें, हाइड्राफेसियल पनि गरें तर राम्रो भएन, झनै बिग्रिँदै गयो भन्दै आउनुहुन्छ। कोही दाग झनै बढेर, कोही रौं धेरै पलाएर, कोही रियाक्सन भएर उपचारका लागि आउनुहुन्छ।

रोगको कारण थाहा नपाई ब्युटिसियनले जथाभावी रुपमा उपचार गर्दा समस्या निम्तिएको देखिन्छ। किनकी, ब्युटिसियनले त मेकअप गर्न जानेको हो तर रोगको बारेमा थाहा हुँदैन। उहाँहरुले सुन्दरताको लागि दिने कस्मेटिक क्रिमहरु दिनुभयो तर सम्वेदनशील छालामा केही दिनलाई राम्रो भयो तर पछि झनै रियाक्सन देखियो। जथाभावी उपचारले अनुहारमा दाग बढ्ने, मोटो रौं पलाउने, मुख वरपर घाउ हुने, आँखा वरपर कालो दाग बस्ने समस्या भएका धेरै आउनुहुन्छ। उहाँहरुलाई हामी तपाईंले कहाँ उपचार गराउनुभयो, किन उपचार गराउनुभयो भनेर सोध्दा उहाँहरु भन्नुहुन्छ– मेरो चाया मात्र थियो, खटिरा आएको थियो, ब्युटिपार्लरमा जाँदा झनै बिग्रियो भन्नुहुन्छ। अहिले धेरैको बानी डाक्टरसँग परामर्श लिनुपर्छ भन्ने जानकारी भए पनि पहिला पार्लरमै जानुहुन्छ। महँगा क्रिम प्रयोग गर्नुहुन्छ।

क्रिमहरु पनि धेरै प्रकारका हुन्छन्। कस्मेटिक क्रिम र मेडिकल क्रिममा धेरै फरक हुन्छ। डाक्टरले सिफारिस गर्ने क्रिममा कम्पोजिसन हुन्छ। तर बजारमा छ्यापछ्याप्ती पाइने कोरियन, चाइनिज क्रिममा नाम पनि नबुझ्ने हुन्छ। न उत्पादन मिति नै हुन्छ। बरु म्याद गुज्रिने मिति हुन्छ। त्यसमा एक हप्ता, १० दिन धेरै उज्यालो देखिन्छ। उज्यालो देखिएपछि मानिसहरु राम्रो देखियो भनेर खुसी भएर प्रयोग गर्छन्। तर त्यसमा हाई प्रोटिनस्टेरोइड हुन्छ। जसले छालालाई पातलो बनाएर उज्यालो बनाएको हुन्छ। विस्तारै त्यही क्रिमले  खटिरा, याक्नी आउँछ। दाद, खुट्टा चिलाउने, काखी चिलाउने समस्या छ भने डाक्टरलाई नदेखाई मेडिकलबाटै औषधि लिएर जथाभावी प्रयोग गर्नेहरु पनि छन्। जसले गर्दा रोग बल्झिने, रियाक्सन हुने गरेको पाइन्छ।

फंगल इन्फेक्सनमा लगाउने औषधि पनि उल्टोपाल्टो परिरहेको हुन्छ। स्टेरोइडबेस औषधि फंगल इन्फेक्सनमा प्रयोग गरिरहेका हुन्छन् जसले किटाणु झनै भित्री छालासम्म पुग्छ। जसका कारण साधारण एन्टिफंगल क्रिम र खाने औषधिले कामै गर्न छाडिसकेको छ।

सुरुमा जथाभावी रुपमा स्टेरोइडको प्रयोगले महिनौं एन्टिफंगलको औषधि खाँदासमेत  फंगल इन्फेक्सन ठिक नभएको अवस्था छ। औषधिको रेसिस्टेन्ट केसहरु बढिरहेको छ। यस्ता समस्या लिएर एक दिनमा १०० जना आउने बिरामीमध्ये १५ देखि २० जना त पार्लरमा उपचार गराएर अनुहारमा समस्या थपिएपछि बल्ल आएको भेटिन्छ।

यसमा ब्युटिसियन मात्र पनि दोषी छैनन्। यहाँ त डाक्टरले मात्र होइन, डाक्टर बाहेकका व्यक्तिले पनि छाला रोगको उपचारबारे प्रचारप्रसार गरिरहेका छन्। छाला क्लिनिक डाक्टर, बिजनेस म्यान, पारामेडिक्स, नर्स सबैबाट सञ्चालित छन्। नेपालमा अहिले छ्याप्छ्याप्ती छाला रोग क्लिनिक छन्। त्यो क्लिनिकमा छाला रोग विशेषज्ञ  छन् वा छैनन् थाहा छैन। तर अनेक किसिमका प्रविधि भने छन्। डाक्टर बाहेकले उपचार गरिरहेको अवस्था पनि छ। यसमा सेवाग्राही नै सचेत हुन आवश्यक छ। छाला रोग क्लिनिक सञ्चालनको लागि मापदण्ड छ, सरकारी निकायले निरीक्षण गरेपछि मात्र नवीकरण हुन्छ। ब्युटिपार्लरको पनि मापदण्ड होला। यदि कुनै अस्पताल वा क्लिनिक छ भने त्यहाँ डाक्टर हुनुपर्छ, असिस्टेन्टमा नर्स हुनुपर्छ। सरकारले उपचारको शुल्क नागरिक बडापत्रमा राख्न भन्छ तर त्यहाँ कोको छन् विशेषज्ञ, विज्ञ त्यसको मतलब गर्दैन। क्लिनिकहरुमा पनि कसले सेवा दिन्छ भनेर डाक्टर सहितको मेडिकल टिमको नाम हुनुपर्छ। जसले गर्दा सेवाग्राहीलाई सहज हुन्छ।

यहाँ त ब्युटिपार्लरमा समेत डाक्टर गएर उपचार गराइरहेको पाइन्छ। अहिले लगानी गर्न सुरक्षित एस्थेटिकलाई मानिन्छ। एकातिर ब्युटिपार्लर खोल्ने अर्कोतिर क्लिनिक खोल्ने डाक्टरहरु नै पनि छन्। डाक्टरले यस्तो गर्नु पनि गलत हो।

ब्युटिपार्लरले गर्ने काम मेकअप हो। त्यो केही घण्टादेखि बढीमा केही दिनसम्म राम्रो बनाउने हो। तर केही घण्टादेखि केही दिनसम्म राम्रो बनाउन प्रयोग गरिने कस्मेटिक सामग्री सधैं प्रयोग गर्दा त छालामा असर पर्छ, एलर्जी हुन सक्छ, साइड इफेक्ट हुन सक्छ। यो कुरामा सेवाग्राही र सेवा दिने दुवै सचेत हुनुपर्छ।

अर्को, छाला रोग अस्पताल वा क्लिनिक छ भने स्किन क्लिनिकमा डर्माटोलोजी हुनुपर्छ। छालाको क्लिनिक छ भने छाला रोग विशेषज्ञ सहित मेडिकल टिम नै नभई सरकारले दर्ता नै गर्दैन। कुनै डाक्टर ब्युटिपार्लरमा गएर सेवा दिएको छ भने त्यो अवैधानिक हो। कुनैकुनै ब्युटिपार्लरले बिरामी राखेर डाक्टरलाई बोलाएर पार्लरमै उपचार गराउँछन् भन्ने सुनेको छु। ब्युटिपार्लरमा डाक्टरले उपचार गर्नु उपयुक्त होइन। अस्पताल, क्लिनिक र ब्युटिपार्लरको सेटअप नै फरक हुन्छ, डाक्टरले अस्पताल वा क्लिनिकमा हेर्ने हो।

छाला रोगको उपचार डर्माटोलोजिस्टले नै गर्नुपर्छ। यदि डर्माटोलोजिस्टको अन्डरमा रहेका लामो समय काम गरेका नर्स, पारामेडिक्स छन् भने डर्माटोलोजिस्टको नेतृत्वमा केही एसिस्ट गर्न सक्छन्। तर डाक्टर नै नभएको बेलामा पनि नर्स, पारामेडिक्सले उपचार गराउनु हुँदैन।

छालाको उपचार भनेको सबस्पेसियालिटी सर्भिस हो। छाला रोग विशेषज्ञ अर्थात् छाला रोगमा एमडी अध्ययन गरेपछि बल्ल छाला रोगको उपचार गर्न पाइन्छ। मेडिकल करिअरमा साढे ८ वर्षको अध्ययनपछि छाला रोगको उपचार गर्ने हो। काठमाडौंमा एमबीबीएस डाक्टरले पनि छाला रोग बिरामी हेर्न पाउँदैनन्। किनकी, काठमाडौंमा डर्माटोलोजिस्ट पर्याप्त छन्।

तर, दुर्गम क्षेत्र हेल्थपोस्टमा चिलाउने, दाद लगायतका समस्या लिएर आउने बिरामीको पारामेडिक्सले नै उपचार गरिरहेका छन्। यसको पनि ठाउँअनुसार परिभाषा छ। उपचार गर्न जाँदा डाक्टर हो कि नर्स हो वा हेल्थ असिस्टेन्ट हो वा मेडिकल पर्सन नै होइन कि भनेर सेवाग्राही सचेत हुनुपर्छ। सामाजिक सञ्जालमा विज्ञ लेखेकै भरमा पनि विश्वास गर्न सक्ने अवस्था छैन। यसमा सेवाग्राही नै सचेत भएर मात्र उपचार गराउनुपर्छ।

अमेरिकन एसोसिएसन अफ ब्युटिसियनको परिभाषामा शरीरको नन–लिभिड पार्ट अफ द बडी अर्थात् जहाँ रगत बग्दैन त्यसको सौन्दर्यताका लागि मात्र ब्युटिसियनले काम गर्ने हो। जस्तैः छालाको माथिल्लो भाग, कपाल र नङको स्याहारका लागि र सुन्दरताका लागि मात्र ब्युटिसियनले काम गर्ने हो। छालाको माथिल्लो भाग पनि स्याहारमा मात्र काम गर्ने हो। स्याहार भनेको छालालाई क्लिन्जिङ गर्ने, पखाल्ने, मोस्चराइजर गर्ने वा तेल लगाउने, सन्सक्रिम लगाउने तथा टोनिङ गर्ने, फेसियल गर्ने कामहरु ब्युटिपार्लरले गर्छन्।

अर्को, कपालमा ट्रिमिङ गर्ने, काट्ने, आइब्रो थ्रेडिङ गर्ने, शरीरमा भएको रौं वाक्सिङ गर्ने काम ब्युटिसियनले गर्छन्। यदि कपाल काट्नु छ भने सैलुन वा पार्लरमै जानुपर्छ, छाला रोग विशेषज्ञले गर्दैन। आइब्रो थे्रडिङ गर्नुपर्‍यो भने, नर्मल छालामा मेकअप गर्नुपर्‍यो भने ब्युटिसियनकैमा जाने हो। यो काम छाला रोग विशेषज्ञले गर्ने होइन। ब्युटिसियनको काम नर्मल छालामा बाहिरी सौन्दर्यता बढाउने काम ब्युटिसियनको काम हो।

तर, कुनै इन्जेक्टेबल कामहरु बोटक्स, फिलर, पीआरपी, कोठी निकाल्ने कुरा ब्युटिसियनले गर्नु हुँदैन। किनकी, कस्तो बिरामीका लागि यो गर्न मिल्छ, कस्तो बिरामीमा मिल्दैन। कुन ठाउँमा गर्न हुन्छ, कुन ठाउँमा गर्न हुँदैन, कति युनिट, कति पारामिटरमा गर्नुपर्छ भन्ने कुरा त डाक्टरलाई मात्र थाहा हुन्छ। एनाटोमी नबुझेको व्यक्तिले इन्जेक्टेबल कामहरु गर्न थाल्यो भने त त्यसले गम्भीर असर गर्न सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *