स्थानीय पाठ्यपुस्तक ’ख्वपको पहिचान’ पुस्तक सार्वजनिकीकरण

कला/साहित्य विशेष समाचार समाचार

न्यूज अपडेट
भक्तपुर, २३ असार

भक्तपुर नगरपालिकाबाट नगरपालिका क्षेत्रभित्रका विद्यालयहरुमा लागू गर्ने गरी स्थानीय पाठ्यक्रम प्रभावकारी ढंगले पाठपाठनको निम्ति ‘ख्वपको पहिचान’ नामक पाठ्य पुस्तक प्रकाशनमा ल्याएको छ ।

भक्तपुर नगरपालिकाका प्रमुख एवम् भक्तपुर नपाद्वारा गठित शिक्षा, संस्कृति तथा स्वास्थ्य समितिका संयोजक सुनिल प्रजापतिले ‘ख्वपको पहिचान’ नामक पुस्तक मंगलबार एक समारोहबीच सार्वजनिकीकरण गरे।
साथै सोही कार्यक्रममा उनले एसईई विद्यार्थी लक्षित भर्चुअल कक्षा व्यवस्थापनको निम्ति सहयोग गर्ने व्यवस्थापक र १८ वटा विद्यालयका २५ जना शिक्षक–शिक्षिकाहरुलाई धन्यवाद पत्र र मायाको चिनो पनि वितरण गरे ।

कार्यक्रममा नगर प्रमुख प्रजापतिले कम्प्युटरको माध्यमबाट पठनपाठन गरिने भर्चुअल कक्षा भक्तपुर नगरपालिकाको लागि नयाँ विषय भएको र नगरपालिकाले सञ्चालन गरेको कक्षा र प्रसारणले देशभरिका विद्यार्थीहरु लाभान्वित भएको बताए ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा व्यवस्था भएअनुसार भक्तपुर नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण कार्यदल गठन गरी कक्षा १ र ६, २ र ७ समेत गरी चारवटा कक्षामा स्थानीय पाठ्यक्रम तयार गरी सोहीअनुसार अध्ययन अध्यापन भइरहेको र आगामी दिनहरुमा थप कक्षाहरुको पाठ्यक्रम निर्माणको तयारी भइरहेको बताए ।

नेपाल सरकारले लगाएको लकडाउनका कारण नगरपालिकालाई ठूलो आर्थिक भार पर्ने हुँदा भक्तपुर नपाका जनप्रतिनिधि तथा कर्मचारीहरुले बैठक भत्ता, पोशाक भत्ता र खाजाभत्ता बापत गरेको सहयोगबारे अवगत गराउँदै प्रमुख प्रजापतिले नपाभित्र सञ्चालिक विद्यालय र संघसंस्थाहरुबाट सहयोगको लागि आग्रह गरे ।
क्युवा, कोरियालगायतका समाजवादी देशहरुमा संकटको समयमा कसरी काम गर्‍यो, कस्तो नीति अवलम्बन गर्‍यो, त्यसको पनि अध्ययन गरी त्यसबाट प्रेरणा लिन आवश्यक भएको बताउँदै उनले नगरको सरसफाइमा विद्यालयहरुले पनि आवश्यक सहयोगको लागि आह्वान गरे ।

उनले नेपालकै अग्लो भक्तपुरको ऐतिहासिक पाँचतले मन्दिर जीर्णोद्धारमा चार हजारभन्दा बढी नगरबासीहरुबाट सहयोग र लाखौं रुपैयाँ आर्थिक सहयोग प्राप्त हुनु गर्व गर्न लायक भएको बताए ।

भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले स्थानीय पाठ्यक्रमलाई परिमार्जन गर्दै लाने उद्देश्यले पाठ्यपुस्तक तयार भएको बताउँदै नयाँ पुस्तामाझ भक्तपुरको संस्कृति र संस्काराबारे व्यवहारिक ज्ञान प्रदान गर्न यसको आवश्यक भएको बताइन्। उनले भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेटमा शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदामा विशेष प्राथमिकता दिएको बताइन् ।

त्यस्तै भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले कोभिड १९ को संक्रमण जोखिमका कारण लामो समयसम्म विद्यालय नखोल्ने स्थिति सिर्जना भए विद्यालयहरुले वैकल्पिक शिक्षण विधि अपनाउनुपर्ने हुन सक्ने बताए ।

स्थानीय पाठ्यक्रम कार्यदल अध्यक्ष योगेन्द्रमान बिजुक्छेँले पाठ्यक्रमविना नै पठनपाठन गराउन सिकाउनु स्थानीय पाठ्यक्रमको विशेषता भएको बताउँदै ‘ख्वपको पहिचान’ पाठ्यक्रमलाई सहयोग पुग्ने सन्दर्भ सामाग्री मात्र भएको बताए ।

एसईई भर्चुअल कक्षा व्यवस्थापन गर्नुहुने बागेश्वरी माविका शिक्षक ज्ञानसागर प्रजापतिले भक्तपुर नपाले सञ्चालन गरेको इसईई लक्षित भर्चुअल कक्षा स्थानीय तहले गरेको उदाहरणीय कार्य भएको बताए ।

कार्यक्रममा नगर शिक्षा प्रमुख हरिप्रसाद निरौलाले विद्यालय तहको सिकाइलाई सहजीकरण गर्न पाठ्यपुस्तकको आवश्यकता भएको र भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले पाठ्यक्रमलाई विस्तृत रुपमा पठनपाठन गराउन विज्ञसँग छलफलपश्चात ‘ख्वपको पहिचान’ पुस्तक प्रकाशन भएको बताए ।

कार्यक्रममा नगर प्रमुख प्रजापतिले भर्चुअल कक्षा निःशुल्क प्रसारण गर्ने भादगाउँ टेलिभिजनलाई पनि धन्यवादपत्र र मायाको चिनो प्रदान गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *