गोकर्णेश्वर–४ का सङ्क्रमितको सम्पर्कमा आएका सबैको परिणाम नेगेटिभ

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडौँ, १३ जेठ

गोकर्णेश्वर नगरपालिका–४ का कोरोना सङ्क्रमितको सम्पर्कमा आएका सबैको परीक्षणको नतिजा नेगेटिभ आएको छ। नगरपालिकाका पहिलो सङ्क्रमित गोकर्णेश्वर–४ का स्थानीयवासी भन्सार कार्यालय भैरहवामा हल्का सवारी चालक पदमा कार्यरत ५८ वर्षीय पुरुषको सम्पर्कमा आएका त्यस क्षेत्रका १९७ जनाको ट्रेसिङ गरी आरडिटी परीक्षण गरिएको थियो। आरडिटी परीक्षण गर्दा आठ जनामा पोजेटिभ देखिएकामा पिसिआर परीक्षण गरेपछि सबैको नतिजा नेगेटिभ आएको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले जानकारी दिए।

आरडिटी परीक्षणमा पोजेटिभ देखिएका आठजनाको सम्पर्कमा आएका १६ जनाको पनि पिसिआर परीक्षणको नतिजा नेगेटिभ आएको उनले बताए। परीक्षणको परिणाम आउनुअघि पोजेटिभ आएकालाई नेपाल मेडिकल कलेज अत्तरखेलमा राखिएको थियो। पिसिआरको परिणाम नेगेटिभ आएपछि सबैलाई घर पठाइएको नगरपालिकाले जनाएको छ।

यसअघि नगरका जनप्रतिनिधि, कर्मचारीलगायत अग्रभागमा रहेर काम गर्नेमा गरिएको पिसिआरको प्रतिवेदन भने नेगेटिभ आएको थियो। नगरपालिकामा हाल दुईजना कोरोना सङ्क्रमित पुष्टि भएपछि दुवै जनालाई आइसोलेशनमा राखी उपचार भइरहेको छ।

यसैगरी, कागेश्वरी मनोहरा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी एवं अग्रभागमा रहेर सेवा दिने ९७ जनाको पिसिआर परीक्षणका लागि आज स्वाब सङ्कलन गरिएको छ। जनप्रतिनिधि, कर्मचारी र नेपाली सेना गरी ९७ को स्वाब सङ्कलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको नगरपालिकाका प्रवक्ता राजाराम पुडासैनीले राससलाई जानकारी दिए।

नगरपालिकामा यसअघि गरिएका आरडिटी र पिसिआर परीक्षणको प्रतिवेदन नेगेटिभ आएको जनाइएको छ। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *