स्थानीयले अवरोध गरेपछि संक्रमित लिन नरैनापुर पुग्यो नेपाली सेनाको टोली

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडौं, ७ जेठ

रातिसम्म सबैलाई आइसोलेसनमा राखिने

बाँकेको नरैनापुर गाउँपालिकामा रहेका ५९ कोरोना संक्रमितलाई नेपाली सेनाले आइसोलेसनमा ल्याउन सुरु गरेको छ।

नेपाली सेनाले एम्बुलेन्स लिएर मध्यान्ह नरैनापुर पुगेको थियो। नरैनापुरमा सोमबार ५९ जना संक्रमित पुष्टि भएपछि मंगलबार अबेरसम्म पनि कहाँ राख्ने भन्ने टुंगो लागेको थिएन।

बाँके सुरक्षा समितिले संक्रमितहरुलाई नेपालगञ्जको लायन्स डेण्टल हस्पिटल र पिपरीको कृषि विकास तालिम केन्द्रमा रहेको आइसोलेसनमा राख्ने निर्णय गरेपछि सेनाले संक्रमितलाई ल्याउन सुरु गरेको हो।

५९ संक्रमितमध्ये एक महिलालाई खजुरास्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको आइसोलेसनमा राखिनेछ। ५८ पुरुषलाई लायन्स डेन्टल हस्पिटल र कोहलपुर पिपिरीस्थित कृषि तालिम केन्द्रमा राखिने छ।

‘मंगलबार दिउँसोसम्म पनि कहाँ राख्ने टुंगो थिएन जब राख्ने ठाउँको टुंगो लाग्यो फेरि नरैनापुरस्थानीयले अवरोध गर्दा झन् ढिला भयो,’ नरैनापुर गाउँपालिकाका कर्मचारीले भने।

पहिला लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा राख्ने निर्णय भएपनि गाउँपालिकाले न्यूनतम सेवासुविधा समेत नभएको ठाउँमा राख्दा समस्या हुन सक्ने भएकाले नेपालगञ्ज नै राख्नुपर्ने अडान राखेको थियो।

जसका कारण २४ घण्टाभन्दा बढी समयदेखि संक्रमितहरु अन्य क्वारेन्टाइनमा रहेका व्यक्तिहरुकै बिचमा बसेका छन्।

मंगलबार दिउँसो बसेको समितिको बैठकले संक्रमित राख्ने स्थानको पुनः टुंगो लगाएपछि उनीहरुलाई क्वारेन्टाइनबाट ल्याउन लागिएको हो।

नरैनापुर गाउँपालिकाका प्रेस सल्लाहकार नविन गिरीले दिनभर पहल गर्दा पनि अवस्था सामान्य नभएपछि नेपालगञ्जबाट गएको नेपाली सेनाको टोलीले संक्रमितलाई लिन नरैनापुर पुगेको जानकारी दिए। अहिले स्थित सामान्य रहेको उनले बताए।

नरैनापुर गाउँपालिकाको वडा नम्बर २ लक्ष्मणपुरका स्थानीय नेताहरुले  आर्दश माविको क्वारेन्टाइनमा बसेकालाई संक्रमण नभएको  र अन्यत्र नजान भन्दै माइकिङ गरेको बताइएको छ।

जसका कारण स्थानीयबासि समेत संक्रमितलाई अन्यत्र लैजान नदिने भन्दै विरोधमा उत्रिएका थिए।

‘विवाद भएको क्वारेन्टाइनमा ८७ जना व्यक्ति छन्। जसमध्ये १२ संक्रमित थिए। नेपाली सेनाले उनीहरुलाई सम्झाइबुझाई संक्रमितलाई ल्याउदैछ। अन्यलाई पनि ल्याउनेक्रम जारी छ,’ पे्रस सल्लाहकार गिरीले भने।

नरैनापुरको आर्दश मावि, दिपेन्द्र प्रावि, जयकिसन मावि र हुँलासपुरुवाको क्वारेन्टाइनमा संक्रमित रहेका छन्।

सेनाले आर्दश मावि र दिपेन्द्र प्राविको क्वारेन्टाइनमा रहेका २८ जना संक्रमितलाई एम्बुलेन्समा राखेर नेपालगञ्ज हिँडेको छ। रातिसम्म सबैलाई नेपालगञ्ज ल्याई आइसोलेसनमा राखिने गिरीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *