सेनाले काठमाडौं ल्यायो पहिलो चरणको स्वास्थ्य सामग्री

अन्तर्राष्ट्रिय विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

नेपाली सेनाले चीनबाट १ हजार एक सय ८० क्युविक मिटर सामग्री काठमाडौं ल्याइपुर्‍याएको छ । चीनको ग्वान्झाओबाट २ वैशाखमा काठमाडौंका लागि हिँडेको कन्टेनर शनिबार काठमाडौं आइपुगेको हो ।

नेपाली सेनाको जंगीअड्डाले सेनाको सामग्री शुक्रबार आइपुग्ने बताएकाे थियो । तर, तातोपानी नाकामा १० वटा ट्यांकरको भन्सारसम्बन्धी कामका कारण शुक्रबार आइपुग्न सकेन ।

नाकामा सामान लिनका लागि जंगीअड्डाका एक जना मेजर गएका थिए । टोली शनिबार बिहान तातोपानीबाट काठमाडौं हिँडेको थियो ।

रक्षा मन्त्रालयका सहसचिव सन्‍तबहादुर सुनारले स्वास्थ्य सामग्री  काठमाडौं आइपुगेको स्वीकार गरे ।

ग्वाञ्झाओबाट २२, २४ र २५ गते तीनवटा कन्टेनर नेपालको स्वास्थ्य सामग्री बोकेर हिँडेको थियो । ती कन्टेनरमा ११०, १३० र ३९९ सीयूएम स्वास्थ्य सामग्री थिए । तीसहित १० वटा कन्टेनर बिहीबार सीमा नाकामा आइपुगेका थिए ।

स्थलमार्गबाट तातोपानी नाका हुँदै काठमाडौंसम्म आइपुग्न ती कन्टेनरलाई १३ दिन लागेको छ । यसअघि सेनाले पहिलो चरणमा हवाई मार्गबाट दुईवटा वाइडवडी विमानमार्फत स्वास्थ्य सामग्री ल्याउने भनेको थियो ।

तर, चीनमा सरकारी बिदा र भन्सारको लामो प्रक्रियालाई कारण देखाउँदै सेनाले पहिले स्थलमार्गबाट सामान ल्याएको हो । अब स्थल र हवाईमार्ग दुवैबाट सामान ल्याउने प्रक्रिया निरन्तर अघि बढाइने जंगीअड्डाको भनाइ छ ।

पहिलो चरणमा विमानबाट ३७ टन अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउने सेनाको तयारी छ । जसका लागि भन्सार प्रक्रिया जारी रहेको जंगीअड्डाको दाबी छ ।

कोरोना भाइरसको महामारीका बेला चीनबाट स्वास्थ्य सामग्री खरिद गर्ने नेपाल ८१ औं राष्ट्र हो । ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेशनलसँग भएको सम्झौता विवादमा आएपछि सरकारले १६ चैतमा स्वास्थ्य सामग्री खरिदको जिम्मा सेनालाई दिएको थियो ।

त्यसअनुसार सेनाले जीटुजी प्रक्रियाबाट २ अर्ब २५ करोड रुपैयाँ बढीको सामान ल्याउन चिनियाँ पक्षसँग सम्झौता गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *