नोबेल मेडिकल कलेजको बदमासी : उदयपुर ठेगाना भनेपछि अप्रेसन कक्षबाटै निकालिए बिरामी

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

विराटनगरको नोबेल मेडिकल कलेज तथा टिचिङ हस्पिटलले एकपछि अर्को बदमासी गर्दै आएको पाइएको छ। अस्पतालले उदयपुर ठेगाना भएका बिरामीलाई अपरेसन थिएटरबाट निकालेर रेफर गर्ने गरेको पाइएको हो। उदयपुरमा कोरोना संक्रमित भेटिएपछि अस्पतालले उदयपुरका बिरामीलाई अन्यत्रै रिफर गर्न थालेको हो।

बुधबार बिहान उदयपुर गाईघाट घर भएकी महिलालाई अप्रेशन थिएटरबाट निकालेर कोशी अस्पताल रेफर गरेको हो। २९ वर्षीय सरस्वती रौनियार प्रसूति व्यथा लागेर अपरेसन गराउन गएकी थिइन्। तर उनलाई उदयपुर घर भएको भन्दै डाक्टरले अपरेसन गर्न नसक्ने बताएका थिए। लगत्तै एक कर्मचारीले ज्वरो आएको भन्दै उनलाई कोसी अस्पताल रेफर गरिएको जानकारी दिए।

त्यसको दुइदिनपछि शुक्रबार पनि उदयपुर त्रियुगा नगरपालिकाका १६ वर्षीय भीमबहादुर खत्रीलाई अपरेसन थिएटरबाटै रेफर गरेको छ। बिहीबार देब्रे हात भाच्चिएर उपचार गराउन आएका उनी डाक्टरको सल्लाहअनुसार नै अपरेसन गराउन राजी भएका थिए।

शुक्रबार बिहान अपरेसन गर्ने तयारी भएको र सबै प्रक्रिया पूरा भएपछि अप्रेसनका लागि ३२ हजार रुपैयाँ जम्मा गरिसकेका थिए। भीमका काका समशेर बहादुर खत्रीका अनुसार अप्रेसन थिएटरमा लगेपछि उदयपुरको भन्दै बाहिर निकालेर अस्पतालले रेफर पुर्जी थमाइदिएको हो।

त्यसपछि बिहानै उनी कोशी अस्पताल पुगे। उता कोशी अस्पतालले आइतबार अपरेसन गर्ने जानकारी दिएको छ। कोशी अस्पतालकी निर्देशक डा संगिता मिश्रले दुवै बिरामीलाई कोभिड-१९ को कुनै लक्षण नभएको बताइन्।

रौनियारको बिहिबार नै अपरेसन भएको र अर्का बिरामीको आइतबार अपरेसन हुने उनको भनाइ छ। अहिले कोभिड-१९ को संक्रमणको डरले निजी अस्पतालले बिरामी रेफर गर्न थालेको उनको भनाइ छ।

उता नोबेल अस्पतालका डाक्टरहरु भने कोरोनाको इपिसेन्टरबाट आएका बिरामी भएको कारण उपचार नगरिएको बताएका छन्। उनीहरूले रिफर गरेको पुर्जीमा पनि बिरामी उदयपुरबाट आएकै कारण रिफर गरिएको चिकित्सकको हस्ताक्षरसहित लेखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *