लकडाउनमा पनि सुरक्षासाथ तामाकोशी जलविद्युत आयोजनाको काम सूचारु

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट
दोलखा, १३ चैत


देश लकडाउनमा हुँदा पनि माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काम सुचारु राखिएको छ । कोरोना भाइरसको संक्रमणको त्रासका अवस्थामा पनि कडा सुरक्षात्मक उपाय अवलम्बन गरी आयोजनाको काम सुचारु राखिएको हो ।
देशब्यापी लकडाउनसँगै ड्याम तथा अन्य कार्य स्थलमा आयोजनाका कर्मचारीहरु बाहेक अन्यलाई प्रवेश निषेध गरेको आयोजनाका प्रबक्ता डाक्टर गणेश न्यौपानेले बताए । प्रबक्ता न्यौपानेका अनुसार बुधवारसम्म आयोजनाको पेनस्टक जडान लगायतका कुनै पनि कामहरु रोकिएको छैन ।
हाल आयोजनाको ड्याम, सुरुङ तथा पावरहाउसमा गरी करिब ४ सय ब्यक्तिहरुले काम गरिरहेको आयोजनाले बताएको छ । सर्वसाधारणलाई भ्रमणमा प्रतिवन्ध लागाएपछि आयोजनाका कर्मचारीहरु तथा मजदुर सुरक्षित हुने आयोजनाको विश्वास छ ।
अहिले आयोजनाको हेडवक्सका संरचनाहरुको परीक्षण चलिरहेको छ । ड्याममा पूर्ण क्षमतामा पानी जमाउँदा समस्या नदेखिएको प्रबक्ता न्यौपानेको भनाइ छ । चैत २१ गतेसम्ममा आयोजनाको ड्याम, डिस्यान्डर, स्टपलक, गेटको परीक्षण समाप्त हुने उनले बताए । बुधवारसम्ममा आयोजनाको पेनस्टक जडानतर्फ ३७३ मिटर लामो तल्लो भर्टिकल साफ्टमा २८० तथा ३१० मिटर लामो माथिल्लो भर्टिकल साफ्टमा १६० मिटर पेनस्टक जडान भएको छ ।
माथिल्लो भर्टिकल साफ्टमा भारतीय कम्पनी टेक्सम्याको र तल्लोमा अष्ट्रियन कम्पनी एन्ड्रिजले पेनस्टक जडानको काम गरिरहेका छन् । ती कम्पनीका प्राविधिकहरुले विदेशबाट समेत अनलाइनमार्फत कामदारलाई निर्देशन दिई काम सुचारु राखेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले बताएको छ ।
४५६ मेघावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले बैशाखसम्ममा पेनस्टक जडान गरी असारको अन्तिमसम्ममा पावरहाउसमा डित ६ युनिटमध्ये एक युनिटबाट विद्युत उत्पादन शुरु गर्ने लक्ष्य लिएको छ । आयोजनाको पावर हाउस, प्रसारणलाइन तथा हेड वक्सको काम समाप्त भइसकेको छ । यसैगरी रामेछापको फुलासीमा निर्माणाधीन सवस्टेशनको सिभिल संरचनाको काम करिब सकिएको छ । सिभिल संरचनाको काम सकिने वित्तिकै सव–स्टेशनमा उपकरणहरु जडान शृुरु हुने आयोजनाले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *