लकडाउनको दोस्रो दिन सुर्खेत  सुनसान

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट
सुर्खेत, १३ चैत


कोरोना भाइरस (कोविड १९) नियन्त्रण तथा संक्रमण फैलन नदिन सरकारले जारी गरेको एक साताको लकडाउनको दोस्रो दिन वीरेन्द्रनगर पूर्ण रुपले बन्द भएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर पूर्ण रुपले बन्द रहेको हो । बजारमा रहेका सम्पूर्ण पसल तथा होटेलहरु बन्द गरिएका छन् भने अत्यावश्यक औषधी, दूध तथा ग्यासका पसलहरु भने खुलेका छन । बजारमा मानिसको चहलपहल बन्द गराउन बिहानैदेखि नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरीसँगै फाटफुट नेपाली सेनाको उपस्थिति देखिन्छ । बिरामी, औषधी तथा खाद्यान्न किनमेल गर्न निस्किएका स्थानीयलाई प्रहरीले केही सहुलियत प्रदान गरेको छ । लकडाउनको बेला घुमफिरका उदेश्यले निस्कनेहरुप्रति भने सुरक्षाकर्मीहरु कडा रुपमा प्रस्तुत भइरहेका छन् । वीरेन्द्रनगरको सुब्बाकुनादेखि बाङ्गेसीमलसम्मको क्षेत्र सुनसान रहेको छ । एम्बुलेन्स, औषधीको गाडी र संचारकर्मीहरुलाई भने रोक लगाइएको छैन । जिल्लाको सदरमुकाम समेत रहेको वीरेन्द्रनगर प्रहरीले आफ्नो बाक्लो उपस्थिति बढाएको छ । लकडाउनको अवहेलना गर्ने लाई कतिपय स्थानमा प्रहरीले सामान्य बल समेत प्रयोग गरेको छ । जिल्लाका सबै बजारहरु पूर्ण रुपमा बन्द रहेका छन् । छिन्चु, मेहलकुना, बड्डीचौर, विद्यापुर र गुटु लगायतका बजार पनि ठप्प रहेका छन् कोराना त्रासका कारण सुर्खेतमा स्थानीयहरु घरभन्दा बाहिर निस्किन चाहेका छैनन् । अत्यावश्यक यातायातका साधन बाहेक अरु सबै सेवाहरु ठप्प रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोपाल रायमाझीले जानकारी दिए ।

भारतबाट फर्किएका १०२ जना क्वारेन्टाइनमा

सुर्खेतमा भारतबाट फर्किएका १०२ जना व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ । मंगलबार राति भारतबाट आउँदै गर्दा रुपैडिहा नाकामा अलपत्र परेका ५७ जना एवं बुधबार कञ्चनपुरको गड्डाचौकी नाकाबाट उद्दार गरिएका ४५ जना गरि कुल एक सय २ जनालाई चिकित्सकको निगरानीमा क्वारेन्टाइनमा राखिएको प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए । उद्दार गरिएका नागरिकलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने मन्त्री रावलले बताए । उनीहरुलाई तत्कालका लागि स्थानीय अशोका होटल र अन्तरनिर्भर समाजको होस्टलमा राखिएको छ । खुलामञ्चमा नेपाली सेनाले निर्माण गर्न लागिरहेको क्वारेन्टाइनमा झण्डै ४ सय बेड तयार भईसकेपछि बिहीबारसम्म त्यहाँ उनीहरुलाई सारिने प्रदेश सरकारको योजना रहेको छ । क्वारेन्टाइनमा रहने व्यक्तिहरुको सबै खर्च प्रदेश सरकारले व्यहोर्ने मन्त्री रावलले जानकारी दिए ।

उद्दारका लागि हटलाईन सेवा

लकडाउन सुरु भएसँगै बीच बाटोमा अलपत्र परेका यात्रुको उद्दारका लागि कर्णाली प्रदेश सरकारले निःशुल्क हटलाईन सेवा शुरु गरेको छ । रोजगारीका लागि भारत गएका कर्णाली प्रदेशका अधिकांश नागरिक फर्कने क्रममा बीच बाटोमा अलपत्र परेको गुनासो प्राप्त भएपछि प्रदेश सरकारले यस्तो निर्णय लिएको हो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको निर्देशनमा मंगलवार बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिले बैठकले यस्तो निर्णय गरेको थियो । बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा हटलाईन कक्ष रहने गरी १११० नम्बरको हटलाईन सेवा शुरु गर्ने निर्णय गरेको हो । यसबाट घर फर्कने उद्देश्यले यात्रा शुरु गरी लकडाउनका कारण बाटोमा अलपत्र रहेका कर्णाली प्रदेशभित्रका नागरिकले यो सेवाको उपयोग गरी सरकारलाई आफ्नो अवस्थाको बरेमा जानकारी दिन सक्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *