दोलखा, २४ फागुन
दोलखा सदरमुकाम चरिकोटमा कोविड–१९ कोरोना भाइरसको संक्रमणको सम्भावित जोखिम तथा अलग्गै राखी उपचार गर्नका लागि १० बेड क्षमताको आइसोलेशन कक्ष निर्माण गरिने भएको छ । शुक्रवार जिल्ला प्रशासान कार्यालयमा भीमेश्वर नगरपालिका तथा स्वास्थ्यकर्मी समेत सम्मिलित जिल्ला सुरक्षा समितिको बैठकले सो क्षमताको अइसोलेशन कक्ष निर्माण गर्ने निर्णय गरेको हो ।
बैठकले जिल्ला सदरमुकाम चरिकोटमा साविकको महिला तथा बालिका कार्यालय रहेको भवनमा १० बेड क्षमताको आइसोलेशन कक्ष निर्माण गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय दोलखाले जानकारी दिएको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरसको उच्च जोखिममा रहेको मुलुकको सूचीमा सूचीकृत गरेसँगै चीनसँग सिमाना जोडिएको दोलखा जिल्लाले पनि आइसोलेशन कक्षको ब्यवस्था मिलाइएको हो ।
महिला तथा बालबालिका कार्यालय खारेज भएको अवस्थामा प्रयोजनविहिन रहेकोे भवन प्रस्तावित चरिकोट अस्पताल नजिक रहेकोले सो कार्यालयमा आइसोलेशन कक्ष निर्माण गर्न सहमति दिइएको भीमेश्वर नगरपालिकाका मेयर भरत केसीको भनाइ छ ।
आइसोलेशन कक्षको लागि बेड, स्वास्थ्यकर्मी, औषधि र उपकरण लगायतको व्यवस्थापन प्रस्तावित चरिकोट अस्पतालले गर्ने प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए । जिल्ला प्रशासन कार्यालय दोलखाले शुक्रबार एक सूचना जारी गरी सम्पूर्ण दोलखाली नागरिकहरुलाई सचेत रहन समेत अनुरोध गर्दै अर्को निर्णय नभएसम्मका लागि सामूहिक रुपमा भेला, मेला, महोत्सव, सभा, सम्मेलन तथा होली लगायतका पर्व आयोजना नगर्न आग्रह गरेको छ ।